ताजा अपडेट »

काँग्रेसको १४औँ महाधिवेशन : निर्वाचन अधिकृत खटाइँदै

विहीबार, १० भदौ २०७८, ०६ : ५१
2 Shares

काठमाडौँ। नेपाली काँग्रेसले एकरदुई दिनमा क्रियाशील सदस्यताको अन्तिम सूचीका साथ सबै जिल्लामा जिल्ला निर्वाचन अधिकृत खटाउने भएको छ । क्रियाशील सदस्यताको विवाद छिनोफानो भएसँगै १४औँ महाधिवेशनको प्रक्रिया सुरु गर्ने प्रयोजनका लागि निर्वाचन अधिकृतहरू खटाउन लागिएको हो ।

पार्टीबाट महाधिवेशन सम्पन्न गर्न गठित निर्वाचन समितिका संयोजक कानुनविद् महादेव यादवले ढिलामा पनि आउँदो शुक्रबारसम्म सबै जिल्लामा क्रियाशील सदस्यताको अन्तिम सूची र जिल्ला निर्वाचन अधिकृत खटाइने जानकारी दिए। विवाद समाधान गर्न बाँकी रहेका केही जिल्लामा क्रियाशील सदस्यता सूची र जिल्ला निर्वाचन अधिकृत खटाउन थप एकरदुई दिन समय लाग्न सक्ने जनाएको छ ।

बिहीबारसम्म पार्टीले निर्वाचन समितिलाई क्रियाशील सदस्यताको अन्तिम सूची हस्तान्तरण गर्नेछ । पार्टी सभापतिले क्रियाशील सदस्यताको अन्तिम सूची निर्वाचन समितिलाई बुझाएपछि महाधिवेशनको औपचारिक प्रक्रिया सुरु हुनेछ ।

सबै जिल्लाका पठाइने जिल्ला निर्वाचन अधिकृतको सूची तयारी अवस्थामा रहेको जनाइएको छ । पार्टी निकट रहेका शिक्षक, प्राध्यापक, कानुनविद् सम्बद्ध शुभेच्छुक संस्थाबाट जिल्ला निर्वाचन अधिकृत खटाउँदैछ । जिल्लामा पठाइने जिल्ला निर्वाचन अधिकृतलाई आफ्नो या वरपरको जिल्लामा समेत नपठाउने नीति निर्वाचन समितिले बनाएको छ । आफ्नो या नजिकको जिल्लामा जाँदा पार्टीको निर्वाचनलाई प्रभावित हुन सक्ने पक्षलाई विचार गरी यस खालको नीति बनाइएको जानकारी निर्वाचन समितिका संयोजक यादवले दिए।

जिल्लाका वडा, प्रदेश निर्वाचन क्षेत्र, प्रतिनिधि सभा निर्वाचन क्षेत्रमा भने जिल्लाभित्रकै शुभेच्छुक संस्थाका व्यक्तिहरूलाई नै मतदान अधिकृत बनाइनेछ । उनले जिल्ला निर्वाचन अधिकृत सम्बद्ध जिल्लामा गइसकेपछि स्थानीय तहमा रहेका पार्टीको संरचनाको अधिवेशनका लागि मतदात अधिकृत खटाइने बताए।

यसैबीच काँग्रेसका सहमहामन्त्री डा। प्रकाशशरण महतले केन्द्रीय निर्वाचन समितिले पार्टीसितको समन्वयमा महाधिवेशन प्रक्रिया अघि बढाउने जानकारी दिए। जिल्ला जिल्लामा पुगेका निर्वाचन अधिकृतले पार्टीसितको सल्लाहमा मतदान अधिकृत खटाउने छ । उनले क्रियाशील सदस्यतालगायतका पार्टीभित्रका विभिन्न समस्याको छिनोफानो भएकाले अब महाधिवेशन सहज तरिकाले अघि बढ्ने जानकारी दिए। महाधिवेशनका लागि अब सबै बाटो खुला भएको उनको भनाइ छ ।

निर्वाचन समितिको सक्रियता
पार्टीको निर्वाचन गर्नका लागि पार्टीबाट गठित केन्द्रीय निर्वाचन समितिले आफ्नो काम प्रारम्भ गरेको छ । नेपाल शिक्षक सङ्घ, प्रजातन्त्रवादी प्राध्यापक सङ्घ नेपाल, प्रजातन्त्रवादी कानुन व्यवसायीलगायतका सरोकारवालासित छलफल गरी जिल्ला निर्वाचन अधिकृतको सूचीलाई झन्डै अन्तिमरूप दिइएको समितिका संयोजक यादवले दिए। कानुनविद् महादेव यादवको संयोजकत्वमा गठित निर्वाचन समितिमा गोपालकृष्ण घिमिरे, सीताराम केसी, यज्ञराज पोखरेल र तेजबहादुर रावल हुन।

यस्तो छ निर्वाचन कार्यतालिका
काँग्रेसले आगामी साताबाट स्थानीय तहको वडा स्तरबाट महाधिवेशन प्रक्रिया सुरु गर्दैछ । आगामी भदौ १८ गते गाउँ नगरको वडा अधिवेशन, भदौ २७ गते गाउँ नगरपालिका स्तरको अधिवेशन, असोज १ गते प्रदेश निर्वाचन क्षेत्रमा अधिवेशन, असोज ५ गते सङ्घीय निर्वाचन क्षेत्र अधिवेशन, असोज १० गते जिल्ला अधिवेशन गर्ने पार्टीको कार्यतालिका छ । यसपछि कात्तिक १० देखि १२ गतेसम्म प्रदेश र मङ्सिर ९ देखि १२ गतेसम्म १४औँ केन्द्रीय महाधिवेशन गर्ने कार्यतालिका काँग्रेसको छ ।

पार्टी कार्यालयमा धर्ना
यसैबीच पार्टीका केही नेताले क्रियाशील सदस्यताको नामावली सार्वजनिक गर्न माग गर्दै पार्टी कार्यालयमा धर्ना दिएका जिल्ला सभापतिहरूको आन्दोलनमा ऐक्यबद्धता जनाएका छन् । वरिष्ठ नेता रामचन्द्र पौडेल, महामन्त्री डा। शशाङ्क कोइराला, पूर्वमहामन्त्री प्रकाशमान सिंह, नेताहरू अर्जुननरसिंह केसी, बलबहादुर केसी, डा। शेखर कोइराला, दिलेन्द्रप्रसाद बडू, चित्रलेखा यादवलगायतले बुधबार धर्नामा ऐक्यबद्धता जनाए।

यसअघि उनीहरू पूर्वमहामन्त्री सिंहको चाक्सीबारीस्थित निवासमा विभिन्न विषयमा छलफल गरी धर्ना स्थलमा पुगेका हुन्। नेपाली काँग्रेस नुवाकोटका सभापति जगदीश्वरनरसिंह केसी, काभ्रेका सभापति मधु आचार्य, धादिङका जिल्ला सभापति रमेश धमला तथा युवा नेता रञ्जित कर्ण र डिल्लीराम सुवेदीलगायत रिले अनशनमा बसेका छन्।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।