ताजा अपडेट »

संस्कृति र आडम्बरी संस्कार

विहीबार, १७ असार २०७८, २० : ०८
170 Shares

संस्कृतिले जैविक मानवलाई सामाजिक प्राणीमा परिवर्तन गर्न महत्वपूर्ण भूमिका खेलेको हुन्छ । शाब्दिक रुपमा संस्कृति शब्द ‘संस्कृत’ शब्दबाट आएको मानिन्छ । जसको अर्थ परिस्कृत भन्ने हुन्छ । संस्कृतिको सम्बन्ध कुनै पनि यस्ता तत्वहरुसँग हुन्छ जसले व्यक्तिलाई परिस्कृत गर्न सक्छ । त्यसैले भनिन्छ–संस्कृत भएर नै मानव अन्य प्राणी भन्दा उच्चस्थानमा छ ।

समाजशात्रीहरुले संस्कृति शब्द ‘संस्कार’ शब्दबाट आएको भन्ने मान्छन् । संस्कारको अर्थ ‘शुद्धिकरण’ वा अवगुण, दोष, कमजोरी आदि हटाइ परिष्कार गर्ने काम हो । समाज विशेषको सम्पूर्ण कानून, परम्परा, मूल्य, मान्यता तथा व्यवहार, बोलिचाली, खानपान, भेषभूषा आदिको संयुक्त रुपलाई संस्कृति भनिन्छ । यसलाई मान्छेले समाजको सदस्यको नाताले आत्मसात गर्दछ ।

संस्कृति मानव निर्मित तत्व हो । सिकिएको व्यवहार हो । यसमा गतिशिलता हुन्छ । भाषा संस्कृतिको मुख्य बाहक हो । संस्कृति समूहको लागि आदर्श हुन्छ । यसले हाम्रा आवश्यकता पूरा गरिरहेको हुन्छ । यो कानून, भाषा, प्रथा, मूल्य मान्यता आदि इकाई मिलेर बनेको एकिकृत प्रणाली हो । नेपाली समाज र संस्कृतिमा मिश्रित विशेषता रहेका छन् । केही विशेषता समान प्रकृतिका छन् भने केही असमान । हाम्रो समाज र संस्कृति पछिल्लो समयमा छिटो छिटो परिवर्तन भैरहेको छ । खास गरेर विश्व्यापिरुपमा सूचना, प्रविधी र यातायात प्रणालीमा भैरहेको तीब्र विकासले गर्दा समाज विकासमा आधुनिकिकरण र भूमण्डलिकरण जस्ता कुराको प्रभाव स्पष्ट रुपमा देखिएका छन् ।

समाज र संस्कृतिको परिवर्तनमा पछिल्लो समय आधुनिकिकरण र भर्चुअल दुनियाँको प्रभाव अझ बढी मुखरित भएको पाईंन्छ ।मानिसहरुबिचको पारस्परिक सम्बन्ध तथा अन्तरक्रियामा आउने परिवर्तन सामाजिक परिवर्तन हो । एकथरी विद्धानले सामाजिक संरचनामा आउने वा हुने परिवर्तनलाई सामाजिक परिवर्तन मान्दछन् भने अर्काथरिले सामाजिक सम्बन्धमा हुने परिवर्तनलाई सामाजिक परिवर्तन मान्दछन् । आजकाल हामीले गर्ने काम तथा सोंच्ने र चिन्तन गर्ने तरिकामा रुपान्तरण आएको छ । हाम्रा जीवन व्यवहार छिटो छिटो फेरबदल भैरहेका छन् । जुन कुरा हामी सामाजिक सम्बन्धमा देख्न सक्छौं ।

सुन्दरता, धनसम्पत्ती, विश्वास वा कुनै विचार त्यसलाई आफ्नो वृत्तमा देखाउनै पर्ने र अरुको देखासिकी गरेर दिमागमा राख्ने वा नक्कल गर्ने गुण सबै मानवमा स्वभाविक रुपमा रहन्छ नै । यसैगरी नै समाजको उदविकास भएको मानिन्छ । एकछिन विचार गरौं त त्यो पहिलो व्यक्ति जसले विचार गर्यो कि छोरीको विवाहको बेलामा आफ्नो सम्पत्तीको केही अंश उनलाई दिउँ । उक्त व्यक्तिले सायदै सोंचे होला कि उसको त्यो व्यवहारको समाजमा देखासिकी वा नक्कल हुनेछ र समयक्रममा त्यो ठूलो पापको रुपमा उठ्ने छ । सामाजिक कुरिती बनेर जरा गाड्ने छ । एउटा व्यक्तिबाट शुरु भएको यो गलत परम्पराले अहिलेसम्म समाजलाई सताइरहेको छ । प्रताडित गरेको छ । दाइजोको नाममा सयौं चेलिहरु ज्यानको आहुती दिन विवश भएका छन् ।

यसैगरी तीन दशक अघि हाम्रो पुस्ताको बाल्यकालको समयमा घरघरमा हुने पूजामा प्रसाद वितरण गर्ने चलन थियो । सिमित हिसाबले वितरण हुने त्यस्तो प्रसाद प्राप्त गर्न हामी केटाकेटीहरु तछाडमछाड गथ्र्यौं । तर, आजकाल पूजाआजा, श्राद्ध, वर्तबन्ध, विवाह जस्ता समारोहमा पूर्ण भोजनको मेस सञ्चालन गरिन्छ । जहाँ खानेभन्दा खाना फाल्ने होडबाजी जस्तो देखिन्छ । यसबाट अनावश्यक खर्चमा वृद्धि भएको छ । त्यस्तै नयाँ वर्षको पूर्वसन्ध्यामा हुने समारोहले अनेक खालका विकृती पैदा गरेका छन् ।

नयाँ वर्षको दिन युवाहरु बाइक हुँइकाउदै अरु सडक प्रयोगकर्तालाई समेत आतंकित पार्दै हिंड्छन् । जन्मदिन मनाउन रेष्टुरेण्टमा भेला भएर केक काट्ने, मदिरा पार्टिमा रमाउने कुरा आजकाल सामान्य भएको छ । तिज, दशैं, तिहार लगायतका अन्य चाडबाड, पर्वहरु पनि भड्किला हुँदै गएका छन् । देखाउनकै लागि प्रतिष्पर्धा चल्ने गर्छ । खास गरेर सामाजिक सञ्जालको बढ्दो लोकप्रियता सँगै हामीमा फोटो कैद नगर्दै पोष्ट्याउन हतारो हुन्छ । भर्खरै मनाइएको धान दिवसको सन्दर्भमा छताछुल्ल भएका तस्वीरहरु र ति पोष्टहरुमा व्यक्त प्रतिक्रियाहरुले आधुनिक हुँदै गएको भनिएको वर्तमान नेपाली समाज कुन दिशातर्फ गैरहेको छ भनेर चिन्तन गर्नुपर्ने भएको छ ।

नेपालमा प्रयोग भएका बिभिन्न सामाजिक सञ्जाल मध्ये फेसबुक अलि बढी लोकप्रिय छ । वास्तवमा सामाजिक भनेको समाजसँग सम्बन्धित हुन्छ । यसकारण सामाजिक मर्यादा भित्र रहेर आचरण गर्नु हरेक व्यक्तिको कर्तव्य पनि हो । नभए अहिले हामीले वैयक्तिक मानेर अभ्यास गरेका कतिपय गलत कुरा भोली दाइजो प्रथा जस्तै कुरितीको रुप नलेलान भन्न सकिन्न ।

समाजशास्त्रिय दृष्टिकोणमा सामाजिक र साँस्कृतिक परिवर्तनका प्रक्रियाहरु धेरै खालका छन् । आधुनिकिकरण, शहरिकरण, पश्चिमीकरण, ब्राह्मणीकरण, हिन्दूकरण, प्रजातीकरण, नेपालीकरण आदि । आधुनिकिकरणलाई एकैसाथ धेरै प्रक्रियाहरुसँग जोडेर हेर्ने गरिन्छ । जस्तैः अंग्रेजीकरण, पश्चिमिकरण, शहरिकरण, विकास, प्रगति, समृद्धि आदि ।

आधुनिकिकरण प्रक्रियाका सकारात्मक र नकारात्मक दुबै पक्षहरु छन् । व्यवसायमूलक शिक्षा, आधुनिक स्वास्थ्य उपचार पद्धति, यातायात, उच्च प्रविधी आदिका कारणले हाम्रो जीवन पद्धतिमा जुन परिवर्तन भैरहेको छ । यो सकारात्मक पक्ष हो भने चरम व्यक्तिवादी धारणामा वृद्धि, लागूपदार्थ दुव्यर्सन, भड्किलो फेशन, फजुल खर्च, सामाजिक असुरक्षा, प्रदुषण आदि यसका नकारात्मक पक्षहरु हुन् ।

नीति निर्माण र राजनीतीमा कृयाशिल सबैले आधुनिकिकरणको नाममा विकृतिलाई प्रोत्साहन नदिई देशको सामाजिक–आर्थिक स्थिति हेरी योजना बनाउँदा साँस्कृतिक मूल्य र मान्यतासँग सुहाउँदो गरी गर्नुपर्दछ । देशको समग्र व्यवस्थालाई मध्य नजर राखी बिस्तारै बिस्तारै परिवर्तन ल्याउने खालका आधुनिकिकरणका प्रविधि अपनाउँदै जानुपर्दछ । नत्र यसको नकारात्मक पक्ष हावी भई समाजमा असुरक्षा, अशान्ति, कोलाहाल बढ्छ र सामाजिक सद्भाव खल्बलिन्छ ।

आजभोली सामाजिक सञ्जाल मार्फत अभिव्यक्त भैरहेका व्यवहार, दृष्टिकोण र गतिबिधीले यस्तै संकेत गर्छन् । सार्बजनिक व्यक्तिको चरित्र हत्या गर्ने, सामाजिक सद्भाव र एकता खल्बलिने खालका तथ्यहिन पोष्टले एकैछिन वाहवाही त मिल्ला, भाइरल पनि भईएला तर कालान्तरमा यिनै गतिबिधी विकृत भएर समाजको टाउको दुखाइको विषय नबन्लान भनेर भन्न सकिन्न ।

तसर्थ, स्वाङ पार्ने, आडम्बरी, ढोंगी र देखावटी पाखण्ड त्यागौं । आडम्बरी चरित्र वा व्यवहार एकैसाथ देखापर्ने एकप्रकारको उत्तेजना, संवेग वा कार्य हो जसले कुनै खास प्रकारको असामान्य अवस्थालाई संकेत गर्छ । चिकित्साविज्ञानमा यसलाई सिन्ड्रोम भनिन्छ । यस्तो प्रवृत्ति छोडौं र सभ्य, आधुनिक समाज र संस्कृति निर्माणमा अग्रसर होऔं । अस्तु ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।