ताजा अपडेट »

सम्झनामा मदन भण्डारी : दासढुङ्गा दुर्घटना वारी न पारी

सोमबार, ०३ जेठ २०७८, १३ : ५७
44 Shares


अहिलेको गणतान्त्रिक युगका राष्ट्रप्रमुख र सरकार प्रमुख विरुद्ध लेख्न बोल्न पनि डर लाग्ने बेला आइसक्यो । तर, मैले जान्दा २०४० को दशक ताका पञ्चायतकालिन नारायणहिटी दरबार अगाडि उभिएर तत्कालिन श्री ५लाई घोडाबाट झार्ने चेतावनी र नेता बन्ने भए चुनाव लड्न आउने चूनौती दिने जननेता मदन भण्डारी हुनुहुन्थ्यो । २०४० को दशकको दोश्रो वर्ष अर्थात २०४२ सालमा म काठमाण्डौंमा गएको थिएँ । गाउँमा छँदा चरम जातिय विभेद , एक मानवले अर्को मानव प्रतिको घृणा र अपहेलना ,शोषण दमन उत्पिडनले सानैदेखि मनमा बिद्रोहको ज्वाला भड्किन थालेको थियो । जसले गर्दा तत्कालिन मसाल मनमा सल्बलाएको थियो र केहि कार्यक्रमहरुमा सहभागि पनि भइयो ।

जतिबेला अर्घाखाँचीका राम बसु हाम्रो गाउँमा पुग्ने मसालका नेता हुनुहुन्थ्यो । उहाँले हामीलाई प्रशिक्षित गर्नुहुन्थ्यो । तर,जब म काठमाण्डौं गएँ । मेरो मनमा मदन भण्डारी सल्बलाउन थाल्नुभयो । सरकारी जागिरे थिएँ म । र, पनि जागिर गए जाला भन्दै नेता मदन भण्डारीको भाषण जहाँ छ,त्यहाँ पुग्थे ।२०४० कै दशकमा मेरा छिमेकी हाल नेकपा एमालेका प्रभावशाली नेता गोकर्ण बिष्ट र कास्की पोखराका रविन्द्र अधिकारी जल्दाबल्दा बिद्यार्थी नेता हुनुहुन्थ्यो । त्यतिबेला बागबजारमा प्ररायू संघको कार्यालय थियो । म त्यहाँ जाँदा गोकर्ण बिष्टको त्यो मिजासीपन र रविन्द्र अधिकारीको त्यो मुस्कानसहितको अनौपचारिक प्रशिक्षण सम्झिँदा मेरो मुटु अहिले पनि भक्कानिन्छ ।

उहाँहरुले थुप्रै पुस्तक पढ्न प्रेरित गर्नु हुन्थ्यो । जसका कारण मदन भण्डारी र जीवनाथ प्रश्रित लगाएतले लेखेकका थुप्रै किताब पढियो । नेताहरुको भूमिगतकालको त्यो भोगाई,त्यो संघर्षको कथाले जागिरै छोडेर उहाँहरुसँगै संघर्षको मैदानमा लागौं जस्तो लाग्थ्यो। त्यो ताका धेरै युवाहरु धेरै वैचारिक पुस्तकहरु पढेरै कार्यकर्ता हुन्थे। त्यतिबेला क्रियाशिल सदस्य बन्न निकै ठूलो संघर्ष गरेको हुनुपर्दथ्यो । अहिले त न कुनै संघर्ष गर्नु पर्ने ,न वैचारिक पुस्तकहरु पढ्नुपर्ने, न नेताहरुको विभिन्न प्रशिक्षण लिनुपर्ने। बस, एक्कासी म फलानो पार्टीको हुँ भनेर अबिर टिका लगाएर देखिए पछि एकाएक नेता । त्यसपछि त एकादुई नेताहरुको तुनोम झुण्डियो कि ठान्यो अहिलेको पार्टी उसैको संघर्षले बनेको हो र नेपालको वामपन्थी आन्दोलनको महारथी उही नै हो । यस्तो छ अहिलेका उम्रिन नपाई तीनपातेहरुको अवस्था ।

त्यतिबेलादेखि संघर्ष गर्नेहरु मध्ये अधिकांश यति बेला बिग्रिएर स्टोरमा फ्याँकिएका खिया लागेका फलामका थोत्रा फलामे साधन जस्तै बनेका छन् । तर पार्टीको ‘प’ थाह नहुने र सिद्धान्तको ‘स’ नबुझेकाहरुको हाइफाई बढ्दो छ । त्यस्ताहरुलाई संक्षिप्तमा भनौं– ‘बाघको छालामा स्यालको रजाईँ ।’ फेरी म ४०कै दशक तिरको स्मरण गर्न चाहन्छु । त्यो ताका नेपाली चलचित्र ‘बलिदान ’ प्रदर्शनमा आयो । त्यस चलचित्रले यो देशका शोषित पीडित , श्रमितक वर्गलाई निकै जुर्मुरायो । जसले गर्दा नेपालको बामपन्थी आन्दोलनलाई उचाईमा पुरायो । मैले चार–पाँच पटक नै हेरे हुँला ठूला हलहरुमा मात्रै । त्यस चलचित्रले म जस्ता तत्कालिन थुप्रै युवाहरुलाई उर्जा दियो र वामपन्थी आन्दोलनमा होम्यो । तीनै पात्र मध्येको एक थिएँ म पनि । तर, सरकारी जागिरे भएकोले वैैचारिक उकुस मुकुस मात्रै भयो खुलेर लाग्न सकिएन ।

त्यतिबेला युगदेखि युगसम्म नेपाली चलचित्र निकै चलेको थियो । राजेश हमाल टप हिरोका रुपमा कहलिएका थिए । लाखौं फ्यान थिए उनका । तर मेरा फ्यान मदन भण्डारी हुनुहुन्थ्यो । तर दुर्भाग्य २०५० साल जेठ ३ गते बिहान अकल्पनिय घटनाको समाचार सुन्नु पर्यो । दासढुङ्गा दुर्घटनामा परि मदन भण्डारी र जीवनाथ प्रश्रित त्रिशुली नदिमा बेपत्ता …।देशैभर सन्नाटा छायो । रुवावासी ÷ कोलाहाल मच्चियो । त्यति बेलासम्म कम चर्चामा रहनुभएकी जननेता मदन भण्डारीकी धर्मपत्नी हालकी सम्माननीय राष्ट्रपति बिद्यादेवी भण्डारीलाई दासढुङ्गा हत्या काण्डपछि मात्रै मैले टेलिभिजनको पर्दामा देख्न पाएको थिएँ। उहाँलाई श्रीमानको अन्त्येष्टि स्थलमा सम्हाल्न महिला नेतृहरुलाई धौं–धौं भएको त्यो दृश्य आज बिहान जेठ ३ गते दासढुङ्गा हत्या काण्ड सम्झिँदा मेरो आँखा वरिपरि घुम्यो । बिस्तारा मै साँेचमग्न भएँ ।

हिजोको त्यो चित्कार–रोदन र संघर्षबाट राज्यको सर्वोच्च ओहदामा पुग्नु भएकी सम्माननीय दि.वद्यादेवी भण्डारीले त आज २८ वर्ष पुगी सक्दासम्म श्रीमानको त्यस रहश्यमयी दास दुर्घनाको खोजीनीति गर्न सक्नु भएको छैन भने अझ एउटी सर्वसाधरण महिलाले आफ्नो श्रीमानको त्यसरी नै रहश्यमय मृत्यु भयो भने कसरी न्याय पाउन सक्लिन् भन्ने कुराले केहि बेर घोतलिएँ । अनि सम्झें ,गुल्मी मरभुङ्गकी कोपिला नेपाली बहिनीलाई । ठ्याक्कै साल बिर्से मैले । २०६५ देखि ०६७ को बीचमा हुनुपर्छ उनका श्रीमान चन्दन नेपाली भिरमा मृत फेला परेका थिए । उनी स्थानयि सञ्चारकर्मी थिए । निकै जोखिम उठाउँथे । धम्की पनि आउने गरेको सुनाउँथे । घटनाको प्रकृति र परिवारको कुरा सुन्दा कसैले हत्या गरेरै फालेको अनुमान लगाउन सकिने त्यस घटना बिरुद्ध कम्ता धाएकी होइनन् कोपिला नेपालीले।

र,अहिले पनि त्यो घटना प्रहरीले अनुसन्धान गर्न मिल्दैन र दाई ? भनेर सोध्ने गर्छिन् । तर जननेता मदन भण्डारीको रहश्यमय मृत्यु घटना बारे त्यसरी नै सोध्ने खोज्ने र चासो दिने को? भन्ने प्रश्न मनमा उब्जियो । मदन भण्डारी र जिवराज आश्रितको मृत्यु घटनाको धेरै वर्षसम्म नेकपा एमाले सत्ता बाहिर छँदा दासढुङ्गा हत्या काण्ड छानबिन गर भन्दै सडकमा उत्रियो । राजधानीका धेरै रेलिङ्गहरु भाँचिए। ढुङ्गामुढाहरु भए। तर, सत्तारोहणसँगै एकाएक सेलाउँदै गयो। आखिर एकाएक सेलाउनुमा के छ रहस्य ? यो सवाल सर्वसाधरणले उठाउँदै आएका छन् । मदन भण्डारी र जिवराज आश्रितको दासढुङ्गा दुर्घटना पछि धेरै पटक नेकपा एमाले सत्तामा पुग्यो । अहिले पनि सत्ता मै छ । स्वयम् स्वर्गिय नेता भण्डारीकै धर्मपत्नी नै राज्यको सर्वोच्च ओहदामा हुनुहुन्छ ।

यो बेलामा पनि सरकारी पक्षले रहस्यमय दासढुङ्गा दुर्घटना भनेको र नेकपा एमालेको कार्यदल दासढुङ्गा हत्या काण्ड नै भनेको त्यस घटनाको सत्यतथ्य बाहिर नआउनु भनेको आगमी दिनमा पनि त्यस्ता थुप्रै घटना गुमराहमा पर्न सक्नु हो । उता राजा विरेन्द्रको वंशनाश हुनेगरी भएको ‘दरबार हत्या काण्ड’ भनियो तर, खै हत्यारा ? यसर्थ आम सर्वसाधरण समेत स्पष्ट हुनेगरी जिवराज र मदन भण्डारी मृत्यु घटनालाई कि त दुर्घटना भनियोस् या त हत्या नै भनेर हत्याराको खोजी गरियोेस् । तर,यसरी सधै रहस्यकै गर्भमा राखेर गुमराहमा नपारियोस् ।

https://www.globalaawaj.com/archives/106250
ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।