७ चैत्र २०७९, मंगलवार

Mar 21, 2023

खेममाया सुनारीको माइती पाल्पा निस्दी गाउँपालिकाको गल्धा हो । मगर परिवारमा जन्मी हुर्किएकी उनी अहिले तिनाउ गाउँपालिकाको भूतखोला (इन्द्रेणी गाउँ, चुनुमाया गुरुङको गाउँ) मा तीन वर्षदेखि स्थायी रुपमा बसोबास गर्दै आएकी छन् । दुई छोरीकी आमा खेममायाका श्रीमान् बीरबल तत्कालीन माओवादी आन्दोलनका हस्ती थिए ।

Advertisement

तत्कालीन नेपाल कम्युनिष्ट पार्टी (नेकपा) पाल्पा जिल्लाका सचिव रहेका बीरबल यतिबेला मिर्गौलाका कारण अस्वस्थ छन् । राजनीतिमा अति इमान्दार र क्रान्तिकारीका रुपमा बीरबललाई मान्ने गरिन्छ । त्यहि इमान्दारिता र निष्ठाको राजनीतिकै कारण आज औषधोपचारका लागि खर्च गर्न समेत हम्मेहम्मे परेको छ । १० वर्षे माओवादी आन्दोलनमा उनले आफ्नो शरीरको पर्वाह नगरी राजनीतिमा होम्मिदा सुगर र पछिल्लो पटक मिर्गौलाको समस्या समेत भोग्नु परेको छ ।

ठूली छोरी दोभान माविमा कक्षा ९ मा र कान्छी छोरी कक्षा एकमा पढ्दैछन् । यतिबेला घरखर्च धान्नकै लागि भएपनि खेममाया सुनारी तिनाउ गाउँपालिकामा जागिरे छिन् । डेढ रोपनी जग्गामा घरखर्चका लागि विहान साँझ तरकारी खेती र सिजनमा च्याउ खेती गर्छिन् । यसपालि च्याउबाट करिव लाख रुपैयाँ वचत भएको बताउँदै नूनतेललाई खर्च पुगेको सुनाइन् । श्रीमानलाई नियमित डायोलासिस गर्नुपर्ने अवस्था रहेको छ । हेरविचार गर्छिन् ।

खेममाया सुनारी र बीरबलले माओवादी युद्धकै बेला पाल्पाको मित्यालको खोप्लक भन्ने ठाउँमा केन्द्रीय नेता पम्पा भुसाललाई साक्षी राखेर २०६० सालको पुष १२ गते जनवादी विहे गरेका हुन् । त्यतिबेला नेकपा माओवादीले सरकारको ढाडमा टेकेर टाउकोमा हान्ने रणनीति योजना बनाउँदै थियो ।

किशोर उमेर, रहर लाग्दो माओवादी आन्दोलन, जनताका लागि गरिएका मिठा वाचा, वर्गसंघर्षको अभ्यास र नयाँ नेपाल बनाउने सपना बुनेर देश र जनताकै लागि हिड्ने कसम खाएकी थिइन् खेममायाले । २०५६ सालको बैसाख १२ गते उनी सोही पार्टीमा संगठित भईन् । पार्टीको संगठित सदस्यता पाउँदा उनी खुसी भएर धुरुक्क रोएकी थिइन् कारण जिम्मेवारी पूरा गर्न सक्छु नाइँ भनेर । सोही वर्षको चैत्र २४ गते गिरफ्तार भईन् । जिल्ला प्रहरी कार्यालय, पाल्पामा उनलाई हिरासतमा राखिदा मानसिक एवम् शारीरिक यातना दिएको अहिले पनि खेममाया भुल्न सक्दिनन् । करिव चार महिनाको हिरासतबाट असारमा धरौटीमा रिहा भइन् । हिरासत हुने बेला उनी साविक गल्धा गाविसको सरस्वती माविमा कक्षा नौंमा पढ्दै र विद्यार्थी संगठनको टोल संगठन सचिवको हैसियतमा क्रियाशील थिइन् । उनी असार महिनाको मसान्तमा पार्टीको पूर्णकालीन कार्यकर्ता भएर भूमिगत भइन् ।

पूर्णकालीन भूमिगत कार्यकर्ता भएपछिका दुःखका क्षणहरु उनका सामू गनी र भनी नसक्नुका छन् । कतिबेला कहाँ मरिने हो हेक्का हुन्थेन, कहाँ बस्ने, के खाने कुनै ठेगान नहुने तर जनताका लागि कर्मशील भएर लागेको छु भन्ने कुराले सन्तोष मिल्थ्यो । ज्यान हत्केलामा राखेर हिड्नुको संघर्षमय दिनहरु सम्झिदा आज कहाली लाग्ने बताइन् खेममायाले ।

कहिलेकाँही लाग्दो रहेछ उनलाई–के सोचे मैले के भयो अहिले ! साँचिक्कै १० वर्षे युद्धको वर्तमान अवस्था कस्तो छ ? जनताका लागि लडिएको युद्धले सार्थकता पायो ? क्रान्तिमा ज्यान गुम्ने शहीदहरुप्रति कति सम्मान छ ? घाइतेहरुका जीवनव्यथा कस्ता छन् ? त्यो युद्धले के सन्देश दिइरहेको छ ? एकान्तमा बस्दा खेममायालाई यिनै प्रश्नहरुले झटारो हानि रहन्छन् । कहिलेकाँही घरको पारिवारिक अवस्था, श्रीमानको स्वास्थ्य अवस्था र वर्तमान राजनीतिक परिवेश देखेर बिरक्त लाग्ने बताउँदै थिइन् खेममाया । भन्दै थिइन्–एक मनले त राजनीतिबाटै सन्यास लिउँ झै लाग्छ तर उनको अर्को मनले कहाँ त्यसो मान्छ र ? राजनीति भनेकै आशा र निराशाबीचको द्वन्द्व हो । जहाँ आशाको खेती बढी र निराशाको पीडा कम गर्दै जानुपर्छ । आफ्नै पालामा गणतन्त्र आएपनि जनताको दुःख उस्तै छन् । जनताहरुलाई समृद्ध बनाउन नसकिएकोमा आफैसँग गुनासो गर्छिन् ।

खेममाया २०६४ सालमा नेपाल कम्युनिष्ट पार्टी(माओवादी)पाल्पाको जिल्ला कमिटी सदस्य भईन् । भूमिगत कालमा उनी पार्टीमा महिला र विद्यार्थी फाँटको जिम्मेवारीमा थिइन् । पाल्पाका विभिन्न स्थानमा दोहोरा भीडन्तमा परि घाइते भएका कमरेडहरुलाइई बोकेर उनले निश्चित स्थानसम्म पुराउने काम समेत गरेकी छन् । घाइतेका शरीरबाट बगेरका रगतले उनलाई क्रान्तिप्रति बढी समर्पित गथ्र्यो झनझन् । उनीहरुका ऐया र आथ्थुले घरिघरि दुश्मनहरुप्रति बम झैं पड्किन मन लाग्थ्यो । खेममायाले विगतलाई सम्झिदा अहिले आँसुका भकारी आँखामा थुन्छिन् ।

त्यतिबेला उनी आठ महिनासम्म पार्टीमा सक्रिय रुपमा लागेपछि पार्टीको सदस्यता पाएकी थिइन् । अचेल पार्टीमा लाग्नु अघि नै हातमा सदस्यता थमाएर पार्टी प्रवेश गराउने कुरादेखि दिक्क छिन् । कम्युनिष्ट पार्टीको सदस्यता यति सस्तो हुनुको कारण नै पार्टीप्रतिको वफादारिता,निष्ठा र लगनशीलता कमजोर हुँदै गएको उनको ठहर छ ।

खेममाया लगनशील छिन् । कर्तव्यनिष्ठ भएर नै कम्युनिष्ट भएकी हुन् । उनलाई समाजमा हुने विविध खाले विभेदविरुद्ध आगो ओकल्न मन लाग्छ । क्रान्तिकारी भएर भिड्न मन लाग्छ तर समयले धेरै नेटो काटिसकेको परिवेशमा आफूले आफैलाई सम्झाएर जीवनका दुःख सुखसँग यात्रा गरिरहेकी छन् । हिजो देखाइएका रंगीन सपनाहरु वास्तविक जीवनमा उनले आज खोजी रहेकी छन् ।

प्रतिकृया दिनुहोस्

Flash News

गुल्मीको चन्द्रकोट गाउँपालिकाले सोमपाल कामीलाई ५० हजार पुरस्कार दिने प्रधानमन्त्री प्रचण्डविरुद्ध नारावाजी सालकको खपेटासहित गोंगबुबाट एक पक्राउ उँखुजन्य उत्पादनलाई व्यवस्थित गर्न सहकारी गठन दलित समुदायको हकअधिकारका लागि सिङ्गो राज्य जिम्मेवार छ : प्रधानमन्त्री प्रचण्ड जातीय छुवाछूत अन्त्यका लागि सबै लाग्नुपर्छ : अध्यक्ष ओली बर्दिवास मेडिकल कलेज नबन्दै झमेलामा संकिणता र जडता नै नेपालको ओरालो यात्रा ! प्रधानमन्त्री प्रचण्डले गरे सडकको शिलान्यास गरिब र निमुखा जनताको हितमा काम गर्नुपर्छ :राष्ट्रपति पौडेल सरकारमा जान एकीकृत समाजवादीद्वारा कार्यदल गठन दोल्ती पावरको आइपीओमा आवेदन दिने अन्तिम दिन सात करोडभन्दा बढी बालबालिका पानीजन्य संक्रमणको खतरामा सिटी होटलले आइपीओ निष्कासन गर्न पायो अनुमति सोमबार रातिदेखि वर्षा जारी ‘बौद्धदर्शन र सञ्चार’ अनुसन्धानात्मक कृतिको परिचर्चा कार्यक्रम सुनको मूल्य बढ्यो, आज कतिमा हुँदैछ खरिद–बिक्री ? अमेरिकी डलरसँगै युरोको भाउ पनि बढ्यो, आज कुन मुद्रा कतिमा हुँदैछ किनबेच ? बुटवलमा यामाहाको एक्स्चेन्ज सुरु राहादानी बिभागले घोडेजात्रामा पनि सेवा दिने