ताजा अपडेट »

कच्चा पदार्थ अभावले इन्धन उत्पादन गर्ने उद्योग बन्द हुने अवस्थामा

सोमबार, २४ फागुन २०७७, १७ : ३१
6 Shares

तिलोत्तमा । फालिएका थोत्रा टायर तथा ट्यूवको भारत तस्करी हुँदा फर्नेश आयल उत्पादन गर्ने उद्योग कच्चा पदार्थको अभावमा संकटमा परेका छन् । रुपन्देहीमा रहेका दुईवटा उद्योगमध्ये एउटा पूर्णरुपमा बन्द भएको छ घने अर्को बन्द हुने अवस्थामा पुगेको छ । जिल्लाको केरवानीमा रहेको स्पीड इनर्जी इण्डष्ट्रिज प्रालि कच्चा पदार्थको अभावले बन्द हुने अवस्थामा पुगेको हो ।

सिक्टहनमा रहेको बाबा इनर्जी उद्योग भने फागुन लागेदेखि बन्द छ । “भारत तस्करी नहुने हो भने यहीं उपलव्ध हुने थोत्रा टायरले उद्योगका लागि आवश्यक कच्चा पदार्थको माग पूरा गर्छ, तस्करी नियन्त्रण हुन नसक्दा स्वदेशी उद्योग बन्द हुने अवस्थामा पुगेको छ”-उद्योगका प्रवन्ध सञ्चालक अजयमान श्रेष्ठले भने ।

२०७२ सालदेखि सञ्चालनमा आएको उद्योगको क्षमता दैनिक १० हजार लिटर तेल उत्पादन गर्ने रहेपनि अहिले भने चारहजार लिटरको हाराहारीमा मात्रै उत्पादन भैरहेको उद्योगी श्रेष्ठले बताए । यो उद्योगले काम नलाग्ने टायर, ट्यूव जस्ता रबरहरुलाई कच्चा पदार्थको रुपमा प्रयोग गरी पायरोलाईसिस प्रक्रियाद्वारा विभिन्न उद्योगहरुले इन्धनको रुपमा प्रयोग गर्ने फर्नेश आयल उत्पादन गर्ने गर्छ । त्यस्तै कोइलाको प्रतिष्थापनको रुपमा प्रयोग हुने कार्वन र स्टील वायर जस्ता औद्योगिक वस्तु उद्योगबाट उत्पादन हुन्छ ।

यो उद्योगका लागि आवश्यक पर्ने कच्चा पदार्थ बेलहिया, विरगन्ज, विराटनगर, नवलपरासीको महेशपुर, कृष्णनगरलगायतका नाकाबाट तस्करी भई भारत निकासी भइरहेको प्रवन्ध सञ्चालक श्रेष्ठको भनाइ छ । प्रतिदिन १८ देखि २० टन कच्चा पदार्थ आवश्यक पर्नेमा अहिले बढीमा १० टनसम्म प्राप्त भैरहेको उनको दावी छ ।

उनले आन्तरिक रुपमा उत्पादित फर्नेश आयल स्थानीय उद्योगले अनिवार्य उत्पादन गर्नुपर्ने नीतिगत व्यवस्था गर्ने हो भने इन्धन आयातमा कमी आउने पनि दावी गरे । “उद्योगले चाहे अनुसारको कच्चा पदार्थ पाए यहींबाट वार्षिक २५ लाख लिटर इन्धन उत्पादन गर्छौ, यस्ता उद्योग देशभर चारवटा छन्”-श्रेष्ठले भने । एकातिर आयात भएका फर्नेश आयलसँग स्थानीय उत्पादनले प्रतिष्पर्धा गर्न नसक्ने अवस्था र अर्कोतिर कच्चा पदार्थको अभावले उद्योग सञ्चालनमा निकै कठिनाई झेल्नुपरेको उनले बताए ।

आन्तरिक उत्पादन बढ्दै जाँदा आवश्यक पुरानो टायर ट्यूव, रवरजन्य आवश्यक कच्चा पदार्थको विदेशबाट आयात गर्ने व्यवस्था भन्सार मूल्यांकनमा निःशुल्क दरमा समावेश गर्नुपर्ने उद्योगीको माग छ । उद्योगी श्रेष्ठले आन्तरिक रुपमा उत्पादित फर्नेश आयलको खपथलाई घटाइ नपुग इन्धन मात्र आयातको अनुमति दिनुपर्ने माग पनि गरे । हाल वार्षिक पाँच करोड लिटर इन्धन आयात हुँदा ३० अर्व रकम बाहिरिने भन्दै यसलाई कम गर्नका लागि आन्तरिक उत्पादन, माग र खपथ सुनिश्चित गर्नुपर्ने उनले बताए । यस्ता उद्योग धनगढी, विराटनगर र विरगन्जमा एक-एकवटा छन् । नेपालमा खपथ हुने फर्नेश आयल मध्ये स्वदेशी उद्योगको उत्पादन तीन प्रतिशत मात्र छ ।

उद्योगका प्रवन्ध सञ्चालक श्रेष्ठले अहिले यो उद्योगले वार्षिक सातसय टन कार्वन भारत निर्यात गरिरहेको जानकारी दिए । दुईवटा प्लान्ट सञ्चालनमा ल्याएको उद्योगको लगानी अहिले १६ करोड पुगेको छ । सवा दुई बिघा क्षेत्रफलमा रहेको उद्योगले ३० जनालाई रोजगारी दिएको छ । अर्को उद्योग बाबा इनर्जीले दैनिक २५ सय लिटर इन्धन उत्पादन गर्दै आएको थियो । तर फागुन लागेदेखि उद्योग बन्द अवस्थामा रहेको उद्योगकका सञ्चालक बोनिन पियाले जानकारी दिए ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।