ताजा अपडेट »

दुर्गमका विद्यालयमा इन्टरनेट सेवा

सोमबार, ०९ बैशाख २०७६, १७ : ५६
8 Shares

बैशाख ९,
हुम्ला । सदरमुकाम सिमकोटबाट तीन दिन पैदल लाग्ने दुर्गमका विद्यालयमा इन्टरनेट सेवा संचालनमा आएको छ । कर्णाली प्रदेशका जिल्लाहरुका इन्टरनेट सेवा संचालनको जिम्मा पाएको वल्र्ड लिंक कम्युनिकेशन प्रालिले सेवा संचालनको कार्य सम्पन्न गरेपछि विद्यालय सहित सार्वजनिक स्थानहरुमा इन्टरनेट सेवा संचालनमा आएको हो ।

गाउँपालिकामा रहेका चार वटा माविहरु धर्मोदय, मदानादेव, जनप्रकाश र चन्द्र प्रकाशमा एक साथ इन्टरनेट सेवा जडान गरिएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत बिष्णु बहादुर शाहीले बताउनु भयो । हालसम्म टेलिफोन सेवा संचालनमा नआएका यी दुर्गमका विद्यालयहरुमा वल्र्ड लिंकले आफ्नो सेवा संचालनमा ल्याए पछि इन्टरनेट सेवामा विद्यालयको पहुँच पुगेको हो । इन्टरनेट सेवा संचालनमा आए पछि विद्यालयलाई धेरै कुरा हेर्न र डाउनलोड गर्न सहज भएको विद्यालयले जनाएका छन् । त्यो संगै प्रालिले गाउँपालिकाको कार्यालय, पाँच वटा वडा कार्यालय र दुई वटा स्वास्थ्य चौकीमा पनि एक साथ इन्टरनेट सेवा संचालनमा आएको जनाएको छ । यी सबै स्थानमा संचालनमा आएको नेट सेवा दुई वर्षसम्मका लागि निशुल्क हुनेछ । पालिकाका कार्यालयमा इन्टरनेट संचालनमा आए पछि काम गर्न सहज भएको अधिकृत शाहीले बताउनु भयो ।

यस अघि मासिक चालिस हजार शुल्क तिरेर नेपाल टेलिकमको टिभि लिंकले ढिलो गरी काम गर्ने गर्दा कार्यालयलाई काम गर्न हैरानी हुने गरेको तर अब त्यो समस्या हटेको उहाँले बताउनु भयो । गाउँपालिकामा भएका सबै साबवजनिक स्थानहरुमा इन्टरनेट जडान भएपछि सर्वसाधारणलाई पनि सहज भएको छ । उक्त प्रालिले यस अघि सिमकोट र अदानचुली गाउँपालिकामा इन्टरनेट सेवा संचालनमा ल्याई सकेको थियो ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।