काठमाडौँ । शुक्रवारबाट प्रदर्शन हुने चलचित्र ‘ऊनको स्वीटर’को बुधवार काठमाडौँमा भव्य प्रिमियर गरिएको छ। कमलपोखरीस्थित बिग मुभिजमा अतिथि, कलाकार, राजनीतिकर्मी तथा सञ्चारकर्मीहरू सहित एक हजार भन्दा बढीको भव्य उपस्थितिमा चलचित्रको प्रिमियर गरीएकाे हाे । सिट नपाउँदा कतिपयले भुईँमै बसेर चलचित्र हेरेका थिए।
प्रिमियर शोमा उपसभामुख इन्दिरा राना मगर, राप्रपा नेपालका अध्यक्ष राजेन्द्र लिङ्देल, सांसद शोबिता गौतम, सांसद विनीता कठायत, कोसी प्रदेशका मुख्यमन्त्री हिक्मत कार्की, अभिनेता दयाहाङ राई, अभिनेत्रीहरू केकी अधिकारी, अञ्जना बराइली लगायत विशिष्ट व्यक्तिहरूको उपस्थिति थियो।
त्यसैसरि, चलचित्रका मुख्य कलाकार विपिन कार्की, मिरुना मगर, परीक्षा लिम्बु, एलेक्स पारस, विल्सन विक्रम राई, निर्देशक नवीन चौहानलगायत सबै जनाको सहभागिता रहेको थियो। चलचित्र हेरेपछि अतिथिहरूले चलचित्रबारे सकारात्मक प्रतिक्रिया दिएका छन्।
उपसभामुख रानाले चलचित्रले प्रेमको गहिरो भाव प्रस्तुत गरेको बताइन्। ‘मन जितेर मात्र प्रेम हुन्छ भन्ने कुरा चलचित्रले सुन्दर तरिकाले देखाएको छ,’ उनले भनिन्। अभिनेता दयाहाङ राईले चलचित्रलाई ‘गजबको कृति’ भन्दै सबै पक्ष उत्कृष्ट रहेको प्रतिक्रिया दिएका छन्।
सांसद शोबिता गौतमले चलचित्रको दृश्य, सामाजिक प्रसङ्ग र कथावस्तुलाई मनमोहक भनेर व्याख्या गरिन । अभिनेत्री केकी अधिकारीले ‘ऊनको स्वीटर’ आफूले हेरेका उत्कृष्ट प्रेमकथामध्ये एक भएको बताउँदै निर्देशक नवीन चौहानको कामको खुलेर प्रशंसा गरिन्।
प्रिमियरमा चलचित्रका कलाकारहरू पनि भाव विह्वल देखिएका थिए। विपिन कार्कीले दर्शकको माया देखेर मन भारी भएको बत्ताउँदा नायिका मिरुना मगरले दर्शकलाई न्यानो माया दिन सफल भएको प्रतिक्रिया दिइन्।
प्रतिक्रिया