ताजा अपडेट »

निजी विद्यालय सामुदायिक विद्यालयमा गाभिए

शुक्रबार, ०६ बैशाख २०७६, १३ : ५६
8 Shares

वैशाख ०६,

गुल्मी । निजी शिक्षालाई सामुदायीकरण गर्नुपर्ने चर्चा चलिरहेको बेला गुल्मीका दुई निजी विद्यालयलाई सामुदायिक विद्यालयमा गाभिएको छ ।
गुल्मी दरबार गाँउपालिकाको गौरीशङ्कर इङ्लिस बोर्डिङ स्कुललाई ईश्वरी माध्यमिक विद्यालयमा र रेसुङ्गा इङ्लिस बोर्डिङ स्कुललाई ठूलो पोखरा आधारभूत विद्यालयमा गाभिएको छ । निजी विद्यालयको भौतिक सम्पत्ति र शिक्षकलाई सामुदायिक विद्यालयले सकार्ने निर्णय गरिएको छ ।

२०५२ सालमा स्थापित गौरीशङ्कर स्कुलमा तीन सय र २०५७ सालमा स्थापित रेसुङ्गा स्कुलमा सात सय विद्यार्थीहरु अध्ययनरत छन् । गौरीशङ्कर स्कुललाई भौतिक सम्पत्तिवापत ६० लाख रुपियाँ र रेसुङ्गा स्कुललाई डेढ करोड रुपियाँ उपलब्ध गराइने भएको छ । गाउँपालिका अध्यक्ष अशोक थापाले सो रकम किस्ताबन्दीमा दुई वर्षभित्र उपलब्ध गराउने जानकारी दिँदै निजी विद्यालयका शिक्षक सामुदायिक विद्यालयमा समाहित हुँदा उनीहरूको तलव गाँउपालिकाले उपलब्ध गराउने जानकारी दिनुभयो । गौरीशङ्कर स्कुलका प्रिन्सिपल बाबुराम कँडेलले गाउँपालिका अध्यक्षको आग्रहमा आफूहरूले सामुदायिक विद्यालयमा गाभ्न तयार भएको बताउँदै एक वर्षभित्र विद्यालयको नयाँ नामकरण गर्ने सहमति भएको बताउनुभयो ।

ठूलो पोखरा आधारभूत विद्यालयका प्रधानाध्यापक रामबहादुर खत्रीले वडा नम्बर ७ मा कक्षा १० सम्म पठनपाठन गराउने एउटा पनि सामुदायिक विद्यालय नभएकाले वडा भेलाबाट दुई विद्यालयलाई गाभ्ने निर्णय भएको बताउँदै निजी विद्यालयका सञ्चालक गाभ्न तयार भई लिखित सम्झौता गरिएको जानकारी दिनुभयो । गाउँपालिकाका शिक्षा अधिकृत दीपक भण्डारीले सामुदायिक विद्यालयको विद्यार्थी सङ्ख्या र गुणस्तर खस्किन थालेपछि निजी र सामुदायिक विद्यालयलाई गाभ्ने प्रयास अगाडि बढाइएको बताउनुभयो । गाउँपालिकाका अध्यक्ष थापाले गाउँपालिकाभित्र छवटा निजी विद्यालय रहेको र सबैलाई यसैगरी गाभ्ने तथा गाउँपालिकाभित्र निजी विद्यालय सञ्चालन गर्न नदिने योजना रहेको जानकारी दिनुभयो । -प्रकृति अधिकारी

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।