१७ असार २०७९, शुक्रबार

Jul 1, 2022

दोस्रो संविधान सभाको निर्वाचनमा अर्घाखाँची क्षेत्र न. २ बाट निर्वाचनमा उम्मेदवार बनेको थिए । क्षेत्र नं. २ मा मुख्य रुपमा हामी तीनजना प्रतिष्पर्धी मानिन्थ्यौं । एमालेबाट डा. दुमन थापा, नेपाली कांग्रेसबाट बहिनी पुष्पा भुषाल र एमाओवादिबाट मेरो नाम सिफारिस गरिएको थियो । निर्वाचनको बारेमा सुनेको थिएँ तर, बेहोरेको थिइन । नामाङ्कन भर्नुभन्दा तीन दिन अगाडि यो महासागरमा हामी जस्तो व्यक्ती पार पाउन सकिँदैन भनेर मलाई महसुस भएको थियो । यो कुरा मैले जिल्लाका नेतृत्वदायी साथीहरुसँग राखेको थिएँ, खासगरी उज्ज्वलजीसगँ राखेको थिए ।

Advertisement

‘साथीहरु ! मेरो निर्वाचन लड्ने मनस्थिति बन्न सकेन , डिलारामजीले चाहना राख्नुभएको छ रे ! वहाँलाई अगाडि बढाउँदा कसो होला ?’ साथीहरुको कुरा यो थियो कि दाजु यो कुरा हुन सक्दैन । तपाइँको लागि भनेर हामीले सहमति गरेका थियौं । अब अर्को सहमति गर्ने समय हामीसँग छैन , त्यसैले पछाडि फर्कने कुरा नगरौं । अलि चिन्तित बनेर बसेको थिएँ । दिउँसोतिर सन्धिखर्कका उद्योगी व्यवसायी र मेरो हितैषी साथी बसन्त भुषालजीसगँ मेरो भेट भयो । वहाँले उत्साह भर्दै भन्नुभएको थियो कि अरे गुरुजी ! एक करोड खर्च गरेर मानिसले टिकट पाउँदैनन, तपाइँको सम्मानले मिलेको टिकट हो । अगाडि बढ्नुस, हारे पनि के जेल जान पर्छ र ! यो कुराले पनि अलि उत्साह थप्ने काम गर्यो ।

टिकट पाउने समयदेखि निर्वाचन अवधिभरका घटना विवरण र अनुभव सबै यहाँ राख्न सकिँदैन, त्यसको एउटा पुस्तिका नै लेख्न सकिन्छ । सारांशमा भन्नुपर्दा मेरो अनुभव यो रह्यो कि यो निर्वाचन प्रणालीमा हामी जस्ता सामान्य र इमानदार व्यक्तिहरू निर्वाचन लड्न सकिदो रहेनछ । यो अनुभव पछि मैले कैयौं ठाउँमा भनेको थिए कि यो प्रणाली अन्तरगत मेरो तीन पुस्ता निर्वाचनमा नामाङ्कन भर्ने काम नगरोस । आर्थिक रुपमा गम्भीर घाइते बनेर अनुभव बटुल्ने काम गरेको थिए ।

म जस्तै दोस्रो संविधानसभामा तनहुँको एउटा क्षेत्रबाट युद्धकालमा वटालियन कमिसरको भूमिका निर्वाह गरेका साथिले नामाकंन भरेका थिए । उनी निर्वाचनमा आर्थिक रुपले नराम्रोसगँ घाइते भएको कुरा केन्द्रिय समितिको बैठकमा बारम्बार गरिरहन्थे । निर्वाचनको रिणले उनलाई नराम्रोसगँ गाजेको थियो । प्रत्येक बैठकमा उनले आफ्नो समस्या उठाइरहन्थे तर उनलाई पार्टीले कुनै सहयोग गरेन वा गर्न सकेन । निर्वाचनको तिन वर्षपछि उनलाई काठमाण्डौको भैसेपाटिमा एउटा कार्यक्रममा भेटेको थिए । उनी पहिलेभन्दा मोटाएका थिए, उनका गाला अलि रसिला देखिन्थे । व्यक्तित्व पनि राम्रो झल्किने वरापरी लगाएका थिए ।

मैले उनको हालखबर सोधे,उनले आफू काठमाण्डौं बस्न थालेको कुरा गरे, उनले अगाडि भने ‘आमालाई पनि यतै राखेको छु, केटाकेटीहरु पनि कहाँ गाउँमा छोड्ने भनेर यतै ल्याएको छु दाइ !’ उनको कुरा सुनेर यतिका परिवार यिनले काठमाण्डौ जस्तो महङ्गो ठाउँमा कसरी पालेका होलान भनेर म अचम्ममा परे । अनि मैले उनलाई सोधे कि खर्च कसरी चलाउनु भएको छ त साथी ! उनले भने कि हेर्नुस दाइ ! म आर्थिक अवस्थाका कारण डिप्रेशन हुने अवस्थामा पुगेको थिए । नातागोता , इस्टमित्र र ऋण दिएका मान्छेहरुसगँ मुख लुकाउन पर्ने अवस्था आएको थियो । यसैबीच अचानक एकदिन मेरो नातेदार भिनाजुसगँ न्यूरोडमा भेट भयो । मैले वहाँलाई मेरो व्यथा, कथा र समस्या विस्तार पुर्वक राखे । यो समस्याबाट पार लगाउन मैले वहाँलाई अनुरोध गरे । मेरो कुरा गम्भिरता पुर्वक सुनेपछि वहाँले मलाई प्रश्न गर्नुभयो । “लौ! अब भन त बाबू, तिमी प्रचण्डलाई नेता मान्छौ कि मलाई नेता मान्छौ ?“ मैले भने कि जस्ले मेरो समस्या हल गरिदिन्छ, म त्यसैलाई नेता मान्ने अवस्थामा छु ।

अगाडि भिनाजुले भन्नुभयो कि त्यसोभए तिन दिनपछी बनस्थली मेरो घरमा मलाई भेट गर्न आउनु । मैले भने ‘हुन्छ भिनाजु ।’ भिनाजु ज्योतिष पनि हो, पण्डितजी पनि हो । तिन दिनको साझँ म वहाँलाइ भेट्न बनस्थली पुगे । वहाँले बजारको चोकमा एउटा सटरको व्यवस्था गर्नुभएको थियो । त्यसमा पुजा सामाग्रीका सामानहरु सजाइएका थिए । वहाँले भन्नुभयो कि आजदेखी यो पुजा सामाग्रीको पसल तिम्रो हो, मैले यजमानलाई लिस्ट लेखेर पठाउँछु । तिमिले सामान दिने काम गर्नु । यो झोलामा दुई जोर कपडा ल्याइदिएको छु , मैले बोलाएको ठाउँमा यी कपडाहरु लगाएर आउनु । भोलिबाट मैले पूजा सामग्रीको पसल सम्हालेको थिए । एक हप्तापछी मलाई कुर्ता, आस्कोट, गम्छा र धोती लगाएर कलंकी आउन फोन गर्नुभयो । मैले पहिलो पटक पण्डितको ड्रेस लगाएर कलंकी पुगे, कसैको घरमा पुजा थियो ।

मलाई ‘ॐ नम शिवाय’ भनेर मकैका दाना खसाल्न भनियो, मैले त्यसै गरे । एक बजे खिर पुरी पेट भरी खाएर एउटा लिफाफा गोजिमा राखेर घर फर्किए । साझँ लिफाफा खोले, एक्काइस सौ रुपैयाँ राखिएको थियो । मन मनै राम्रो भयो भन्ठाने । अर्को हप्ता एकजना धनी मान्छेललाई मृत्यु योग पर्न गएछ र त्यो दोष कटाउन भिनाजुले मलाई पनि बोलाउनु भयो । दिनभरी दिएको जिम्मेवारी पूरा गरें, साझँ, चार बज्यो, एकजोर वरापरी सहित लिफाफा पाएको थिएँ । खोलेर हेर्दा पाँच हजार एक सय पाँच रुपैयाँ राखिएको रहेछ । उनले अगाडि भने ‘आजभोली त दाजु पाठ गर्न पनि सिकेको छु । घर खर्च कटाएर केही रिणहरु घटाउन थालेको छु ।’

यसभन्दा अगाडिको प्रतिनिधि सभाको निर्वाचनमा गुल्मीको प्रदेश सभाको एउटा स्थानबाट एकजना मेरो हितैषी साथिले विजय गर्नुभएको छ । एकवर्ष अगाडि वहाँसगँ मेरो बुटवलमा भेट भयो । वहाँले निर्वाचनको रिणबाट आफू आक्रान्त बनेको र उठ्नै नसक्ने गरि थला परेको कुरा बताउनु भएको थियो । गाउँ जान पनि डर लाग्ने स्थिति छ, साहुमारा बन्न पनि भएन, के गर्ने होला दाजु भनेर आफ्नो समस्या राख्नु भएको थियो । त्यसरी नै गुल्मिबाट उठ्नु भएको बामदेवजीले पनि मलाई चुनावी खर्च र त्यसले आफुलाइ पारेको प्रभावको बारेमा बताउनु भएको थियो ।

बलदेव (चक्रमणी खनाल) पूर्वमन्त्री दोस्रो संविधानसभामा कपिलवस्तु क्षेत्र नं. १ बाट निर्वाचन लड्नु भएको थियो । वहाँले पनि एउटा भेटमा निर्वाचनको रिणले नराम्रोसगँ आफुलाइ थिचेको कुरा बताउनु भएको थियो । त्यसरी नै दोस्रो संविधानसभामा प्युठानबाट नवराज सुवेदीजी लड्नु भएको थियो । वहाँले पनि बैठकमा बारम्बार आफू बर्बाद भएको कुरा राखिरहनुहुन्थ्यो । यी त मेरो अनुभवमा भएका सामान्य दृष्टान्तहरु हुन । देशैभरी प्रतिनिधि सभा, प्रदेश सभा, स्थानीय निर्वाचनमा कति साथिहरु बर्बाद भएका छन ।

कतिको सर्वस्व भएको छ, कुनै लेखा जोखा नै छैन । तर प्रश्न यो हो कि यो आर्थिक समस्या ए ग्रेडका नेताहरुलाइ पर्दैन किनकी उनिहरुलाई ठुलाठुला ब्यापारी, उद्योगपति, ठेकेदार, तस्कर, भूमाफियाहरुले भोलिको दिनमा काम लिनको लागि प्रशस्त लगानी गर्ने गर्दछन, यो अवसर भनेको उनिहरुको लागि वैधानिक भ्रष्टाचार गर्ने समय हुन पुग्दछ । जस्तो कि अहिले चर्चामा सुन्ने गरेका छौँ कि एनसेल कम्पनीले निर्वाचनको बेला तिनवटै पार्टिलाइ आर्थिक लगानी गरेको र त्यो लगानी कर कट्टि गरेर कटाउने समझदारी भएको कुरा चर्चामा आइरहेकै छ ।

यो समस्या तल्लो स्तरका इमानदार र त्यागी नेताहरुको लागि मात्र पर्ने पर्दछ । यस्तो परिस्थितिमा पहिलो कुरा त पार्टीले पनि चुनावमा खर्च गर्ने हैसियत राख्छ वा राख्दैन भन्ने कुरालाई पनि ध्यान दिन्छ र मात्र टिकट दिन्छ । दोस्रो कुरा उसले टिकट पाइहाल्यो भने पनि निर्वाचन लड्ने हिम्मत जुटाउन सक्दैन । उसले हिम्मत गरिहालेछ भने पनि रिणले यति धेरै आक्रमण गर्छ कि उ या त डिप्रेसनको रोगी बन्छ या त दलाल, तस्करहरु, र ब्यापारिहरुको दलाल बन्ने गर्दछ जो अहिले भइरहेको छ । यतिबेला यति, ओती, एनसेल र क .श्रेणीका ठेकेदारहरुसगँको सहकार्य जो हामिले देखेका छौं, त्यसमा अन्य कारणको साथै निर्वाचन प्रक्रिया पनि एउटा महत्त्वपूर्ण कारण बनेको छ ।

त्यसैले यतिबेला महामारिको रुपमा देखा परेको बेथिति र भ्रष्टाचारलाई नियन्त्रण गर्न र पार्टी नेतृत्व र नेताहरुको इमानदारिता र स्वभिमानलाइ जोगाइ राख्नको लागि र इमानदार र त्यागी कार्यकर्ताहरुलाइ पनि निर्वाचनमा सहभागी बनाउनको लागि अहिलेको निर्वाचन प्रणाली अर्थात शासकिय स्वरुप बदल्न नितान्त आवश्यक छ । त्यसको लागि प्रत्यक्ष कार्यकारी राष्ट्रपती र समानुपातिक शंशदको व्यवस्था गरियो भने निर्वाचनमा कुनै नव धनाढ्यवर्गको व्यक्ती खोजेर निर्वाचन लडाउने र टिकट बिक्री गर्नुपर्ने अवस्था रहने छैन । भ्रष्टाचारलाई पनि धेरै हदसम्म न्यूनिकरण गर्न सकिने छ । इमानदार र त्यागी नेता कार्यकर्तालाई पनि संसदमा पठाउन सकिनेछ ।

यदि हामीले कार्यकारी राष्ट्रपतिको ब्यवस्था गरेउ भने अहिले जस्तै असफल भएका र अयोग्य ब्यक्तिलाई मन्त्री राखी राख्न पर्ने छैन । मन्त्रीको काम राम्रो भएन भने तुरुन्तै हटाउन सकिनेछ, राष्ट्रपतिले सम्बन्धित विषयको विज्ञबाट मन्त्री राख्न सकिनेछ । तर, अहिले यो सुबिधा प्रधानमन्त्रीलाई कानूनमा भए पनि व्यवहारमा छैन । शिक्षा मन्त्रीले राम्रो काम नगरेका भएपनि हटाउन सकिँदैन किनकी उनी नारायणकाजीको कोटामा बसेका छन्, यदि उनलाई फेर्न पर्यो भने पनि राम्रो मान्छे हैन कि नारायण काजी कै मान्छे खोज्न पर्दछ, त्यस्तै बादलको कुरा गरौं वा घनश्यामको कुरा गरौं अथवा बिना मगरको कुरा गरौं यी सबै विभिन्न गुटको कोटामा परेका मन्त्रीहरु हुन, प्रधानमन्त्रीले चाहेर वा कानुनले दिएर मात्र हटाउन सकिँदैन ।

पार्टीको सन्तुलन बिग्रने डर रहन्छ । यो कुरा कांग्रेस वा जसपा बारे पनि साँचो हो । यो सिस्टममा जो गए पनि स्थिति यो भन्दा खासै फरक पर्दैन । यो प्रक्रियामा कसले राम्रो आउट्पुट दिन्छ भन्ने कुरा हुदैन कि ककस्लाइ मन्त्री बनाउदा पार्टी सन्तुलन ठिक रहन्छ भन्ने कुराले काम गरेको हुन्छ । मन्त्रीले राष्ट्रको हितमा काम गर्यो कि गरेन, जनताको हितमा काम गर्यो कि गरेन भन्ने कुरा मुख्य बन्दैन, मुख्य कुरा उसले गुटको पक्षमा र पार्टीको पक्षमा काम गर्यो कि गरेन भनेर हेरिने गर्दछ । यो प्रणालीमा राम्रो र योग्य व्यक्तिलाई जिम्मेवारि दिने सम्भावना अत्यन्त न्यून रहेको छ ।

अतः देश विकासको निम्ति , भ्रष्टाचार न्यूनीकरणको निम्ति , तुलनात्मक रुपमा योग्य व्यक्तिलाई जिम्मेवारी दिनको निम्ति वर्तमान शासन प्रणाली बदल्न आवश्यक छ । यो कुरा कांग्रेस , कम्युनिष्ट वा जसपाको मात्रै प्रश्न होइन, यो समग्र स्वाभिमानी नेता , कार्यकर्ता र जनताको सार्वभौम प्रश्न हो । यो प्रश्नलाई सबैले सामुहिक रुपमा शंघर्षको मुद्दा बनाएर अगाडि बढ्नु पर्ने देखिन्छ । ने.क.पा.(माओवादी) र क. प्रचण्डजी पनि एमालेसगँ एकता हुनुपुर्व यहि विचारमा हुनुहुन्थ्यो । दुइवटा निर्वाचनमा प्रचण्डजीलाइ हामिले कार्यकारी राष्ट्रपतिको रुपमा स्थापित गरेका थियौं । अहिले क. प्रचण्डजी र पूर्व माओवादीका साथिहरुको यतिबेलाको दृष्टिकोण के हो ? वहाँहरुको यतिबेलाको विचार के हो ? आफ्ना एजेण्डा र विचारहरुको आफै हत्या गर्नुभएको छ वा दबिएर निसास्सिएर बस्नुभएको छ अथवा अनुकुल समयको पर्खाइमा हुनुहुन्छ? जान्न सकिएन ।

यतिबेला वहाँहरु विचारको शुन्यतामा देखा पर्नु भएको छ तर अनुभव सिद्द ज्ञान यो हो कि कसैले पनि आफ्नो विचार र दृष्टिकोणलाई परिस्थिति र परिबन्दको कारणले बन्देज लगाउन हुदैन । त्यस खालको चिन्तनले आफ्नो इतिहासलाई नै समाप्त गर्दछ । समग्रमा भन्नुपर्दा नयाँ नेपाल, सुखी र समृद्ध नेपाल, अग्रगामी राष्ट्र नेपाल बनाउनको लागि वर्तमान शासकिय स्वरुप परिवर्तन अनिवार्य सर्त हो । यसको लागि पार्टीको चौघेराबाट माथी उठेर सबै इमानदार, स्वाभिमानी र देशभक्तहरुले आवाज बुलन्द गर्न पर्ने हो कि ! मैले यसरी सोचें ! यहाँहरुले पनि यसरी नै सोँच्दा नयाँ नेपाल बनाउन सकिन्थ्यो कि ?

प्रतिकृया दिनुहोस्

Flash News

लुम्बिनी सरकारलाई अर्को चुनौती, अस्पताल विकास समितिलाई पुनर्वहाली गर्न सर्वोच्चको आदेश घुस रकमसहित अदालका कर्मचारी अख्तियारको फन्दामा लुम्बिनी प्रदेशमा २७८ मृगौला रोगी तथा १४७३ दमका विरामीलाई उपचारमा आर्थिक सहयाेग काँग्रेसमा संस्थापन इतरको बैठक आज पनि बस्ने यस्तो छ ३ दिनसम्ममको मौसमी आंकलन बनेपामा अस्पतालका कर्मचारी बोकेको बस दुर्घटना : एकको मृत्यु, ४३ जना घाइते विश्वका ११० देशमा पुनः कोरोनाको सङ्क्रमण वृद्धि लुम्बिनीको दाङमा सवारी दुर्घटना : दुई जनाको मृत्यु, दुई घाइते जुम्लामा जिल्ला स्तरीय कृषि मेला : चिनोदेखि भाँगोसम्म प्रदर्शनी अस्पतालका कर्मचारी बोकेको बस दुर्घटना : एकको मृत्यु, ४३ जना घाइते दाङमा सिकलसेलको स्क्रिनीङ परिक्षण गाई-गोरु बाँध्ने गोठमै नवजात शिशुसहित सुत्केरीको बास ५ वर्षीया बालिका बलात्कृत, १६ वर्षीय किशोर पक्राउ धान दिवसमा रोपाइँसँगै विविध सांस्कृतिक कार्यक्रम लुम्बिनीका ६ जिल्लामा सिकलसेल एनिमियाका बिरामी, परीक्षणमै समस्या इस्माले दुना–टपरी उद्योग सञ्चालन गर्ने शेखर कोइरालाको भेलामा को को सहभागी ? (फोटोफिचर) नेपालमा थप ५५ जनामा कोरोना संक्रमण पुष्टि रातभर सुत्दैनन् बुटवलकाे ज्योतिनगरबासी, टालटुले उपायले रोकिएला पहिरो ? माओवादी गुल्मीका पुराना नेता कार्की केन्द्रिय सदस्यमा मनोनित