ताजा अपडेट »

प्रदेश ५ मा कृषिकर्मी रोजगार कार्यक्रम सञ्चालन हुँदै

विहीबार, १५ साउन २०७७, १५ : ४१
6 Shares

परासी । कृषि क्षेत्रमा जनशक्तिको अभाव हुन नदिन प्रदेश ५ सरकारले कृषिकर्मी रोजगार कार्यक्रम सञ्चालन गर्ने भएको छ । पर्याप्त जनशक्ति परिचालन गरी कृषि व्यवसाय विस्तार र व्यवस्थित गर्न तथा आफ्नै ठाउँमा रोजगारीको सुरक्षा सुनिश्चित गर्न सो कार्यक्रम सञ्चालन गर्न लागिएको प्रदेशका भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री आरती पौडेलले बताउनुभयो ।

“कृषकले पाखुरामा बल हुँदासम्म काम गर्ने तर बुढेसकालमा भविष्य नै सुनिश्चित नहुने समस्या छ, हामीले पेन्सनसहितको कृषिकर्मी रोजगार कार्यक्रम सञ्चालन गर्न लागेका छौँ, यसले रोजगारी बढाउन तथा कृषि क्षेत्रमा जनशक्तिको अभावलाई परिपूर्ति गर्ने विश्वास छ”, उहाँले भन्नुभयो । नवलपरासी (बर्दघाट–सुस्ता पश्चिम)स्थित बर्दघाट नगरपालिकामा रहेका कृषिसँग सम्बन्धित विभिन्न सहकारी संस्थाको आज अनुगमन गर्दै मन्त्री पौडेलले भन्नुभयो, “कृषि व्यावसायिक रुपमा गर्न नसकेका समुदायलाई लक्ष्य गरी सञ्चालन गर्न लागिएको यो कार्यक्रमलाई सामाजिक सुरक्षा कोषसँग जोडेका छौँ, कृषिकर्मीको २० प्रतिशत तलब प्रदेश सरकारले थप्नेछ भने ११ प्रतिशत कोषमा योगदान गरिनेछ ।”

कृषकलाई कृषि व्यवसाय विस्तार गर्न प्रदेश सरकारले सहजीकरणसहितको ऋण लगानी गर्ने पनि मन्त्री पौडेलले बताउनुभयो । ऋणवापतको व्याज सरकारले नै तिरिदिने बताउँदै उहाँले चक्लाबन्दी र सहकारी खेतीमा जोड दिन आग्रह गर्नुभयो ।

‘हरित स्वयमसेवक’

प्रदेश सरकारले कृषिसँग सम्बन्धित योजना र कार्यक्रम कृषकका घरघरमा पु¥याउन ‘हरित स्वयमसेवक’ परिचालन गर्ने योजना पनि अघि सारेको छ । “सरकारका नीति, योजना कृषकको घरघरमा सूचित गर्ने तथा कृषकको समस्यालाई नीतिनिर्माण तहमा पु¥याउन पुलको काम गर्ने गरी प्रत्येक वडामा हरित स्वयंसेवक परिचालन गर्ने कार्यक्रम हामी सञ्चालन गर्ने तयारीमा छौँ”,मन्त्री पौडेलले भन्नुभयो ।

कृषिको विकासबाट नै समृद्ध प्रदेश निर्माण गर्न सकिने भएकाले प्रदेश सरकारले किसानमैत्री योजनालाई उच्च प्राथमिकता दिएर बजेट तथा कार्यक्रम अघि सारेको उहाँले बताउनुभयो । बर्दघाट नगरपालिकाका प्रमुख धीरज शर्मा बस्यालले कृषिकर्ममा लाग्नेलाई आत्मगौरवको महसुस गराउन नगरपालिकाले भूमि कर मिनाहा गरेको बताउनुभयो । नगरपालिकाले गत वर्षका तुलनामा यस वर्ष पाँच गुणा बढी बजेट कृषिमा विनियोजन गरेको बताउँदै उहाँले कृषि उत्पादनको बजारीकरणमा पर्याप्त बजेट विनियोजन गर्न सङ्घ र प्रदेश सरकारलाई आग्रह गर्नुभयो ।

प्रदेश नं ५ का पशुपन्छी तथा मत्स्य विकास निर्देशनालयका निर्देशक तुलसीराम भण्डारीले समृद्धि प्राप्तिका लागि उत्पादनसँग जोडेर कृषकलाई आत्मनिर्भर बनाउने काम गर्न सहकारीलाई आग्रह गर्नुभयो । मन्त्री पौडेल नेतृत्वको टोलीले बर्दघाट–१४ चौपत्तास्थित प्रदेशकै नमूना, सबैभन्दा धेरै दुग्ध सङ्कलन गर्ने र सबैभन्दा धेरै कृषकलाई प्रोत्साहन अनुदान वितरण गर्न सफल चन्द्रोदय बहुउद्देश्यीय सहकारी संस्थाले सञ्चालन गरेको दुग्ध उद्योग, बर्दघाट–४ स्थित माकर बहुमुखी सहकारी संस्थाले निर्माण गरिरहेको कृषि हाटबजार र बर्दघाट–१०स्थित विशाल बहुउद्देश्यीय सहकारी संस्था र प्रदेश सरकारको संयुक्त लगानीमा शुरु गरिएको नवीनतम सोचअन्र्तगतको तरकारी खेतीको अनुगमन तथा जानकारी लिएको थियो ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।