ताजा अपडेट »

लकडाउन अन्त्य भएको हो, कोरोनाको जोखिम होइन

बुधबार, १४ साउन २०७७, १० : १७
6 Shares

सन् २०१९ को अन्त्यतिरबाट चाइनाको वुुहानदेखि सुरु भएको कोरोना भाइरसको संक्रमण विश्वव्यापी रुपमा फैलियो । विश्वका २ सय बढी देशमा फैलिएको उक्त संक्रमण हालपनि अधिकांश देशमा कायमै रहेको छ । हालसम्म विश्वमा एक करोड ६० लाख बढी जना व्यक्ति कोरोना भाइरस संक्रमित भएका छन् । विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) का अनुसार कोरोना भाइरस संक्रमणको कारण विश्वभर छ लाख ५० हजार बढी व्यक्तिको मृत्यु भएको छ । संक्रमितमध्ये हालसम्म ९५ लाख ५६ हजार ३५४ व्यक्ति कोरोना मुक्त भएका छन् । विश्वभरमा ५५ लाख बढी संक्रमित व्यक्तिकोे उपचार भइरहेको छ । संक्रमितमध्ये ७० हजार बढीजनाको अवस्था गम्भीर रहेको जनाइएको छ । हालसम्म यस संक्रमणबाट अमेरिका निकै प्रभावित छ ।

संयुक्त राज्य अमेरिकामा मात्र ४१ लाख बढी कोरोना भाइरसका संक्रमित रहेका छन् । यस प्रकोपका कारण अमेरिकामा करिब डेढलाख व्यक्तिको मृत्यु भइसकेको छ । दक्षिण अमेरिकामा ३४ लाख संक्रमति रहेका छन् भने एक लाख २७ हजार ४७ जनाको मृत्यु भएको छ । उत्तर अमेरिकामा ४८ लाख बढी कोरोना भाइरस संक्रमति रहेका छन् भने दुई लाख १ हजार ९०७ जनाको मृत्यु भएको छ । यूरोपमा २७ लाख बढी संक्रमित रहेका छन् भने दुई लाख १५४ को मृत्यु भएको छ । एसियामा ३६ लाख बढीमा संक्रमण रहेको छ भने ८४ हजार बढीको मृत्यु भएको छ । अफ्रिकामा सात लाख बढीमा कोरोना भाइरस संक्रमण रहेको छ भने १६ हजारबढी मृत्यु भएको छ ।कोभिड–१९ को संक्रमण बढिरहेको छ । यससँर्ग मृत्यु हुनेको संख्यापनि बढि रहेको छ । संक्रमणको ८ महिना बढी हुँदापनि नियन्त्रण र रोकथामको कुनैपनि औषधि वा कोरोना विरुद्धको खोप प्रमाणित भएको छैन ।

छिमेकी मुलुक चीनबाट फैलिएको कोभिड–१९ नेपालमा भने २० मा प्रवेश गर्यो । अर्थात् गत वर्षको चैत महिनादेखि नेपालमा कोरोना संक्रमण सुरु भएको थियो । कोरोना संक्रमित देखिए लगत्तै नेपालमा कोरोना रोकथाम र नियन्त्रणका लागि सरकारले चैत ११देखि लकडाउनको घोषणा गर्दै कार्यान्वयनमा जोड दियो । यससँगै ४ महिनाको लामो लकडाउन साउन ७ गते सकिएको छ । तर, कोरोना संक्रमणको निरन्तरता रोकिएको छैन । हालसम्म नेपालमा १९ हजार बढी कोरोना संक्रमित भएका छन् भने ४९ जनाले ज्यान गुमाएका छन् । संक्रमित मध्ये करिब १४ हजार भने निको भएर घर फर्केका छन् । कोरोना रोकथामा र नियन्त्रणका लागि सरकारले गरेको लकडाउनले मुलुकका सबै क्षेत्र र नागरिक प्रभावित भएपछि असारको पहिलो अफ्तादेखि सरकारले लकडाउन खुकुलो बनाएको थियो ।

तर, अत्यावश्यक तथा निश्चित तोकिएका क्षेत्र र केहि उद्योगहरु बाहेक सामूूहिक जमघट हुने क्षेत्रलाई भने प्रतिबन्धित नै राखेको थियो । त्यसैगरी साउन ७ गते लकडाउनको अन्त्य भएतापनि विद्यालय, ठूला होटल, सिनेमा घर, पूरै सीट भरेर सार्वजनिक यातायात चलाउन रोकनै लगाएको छ ।सरकारले अझैपनि एक जिल्लाबाट अर्कोजिल्ला जान अनिवार्य स्विकृति लिनुपर्ने, उच्च सावधानी अप्नाउनुपर्ने , सामाजिक दूरी कायम गर्नुपर्ने, सर–सफाइमा ध्यान दिनुपर्ने जस्ता सुरक्षाका उपाय अपनाउन आग्रह तथा निर्देशन गरिरहेको छ । कोरोना संक्रमण वा कहर सकिएको छैन । यसकोको रोकथाम र नियन्त्रण र उपचारको विकल्प भेटिएको छैन । तर, बजारमा अधिकांश क्षेत्र खुला रहेका छन् । समूहगत भीड लाग्ने क्षेत्रहरुमा मास्क, सेनिटाइजर, साबुन पानीले हात धुने व्यवस्था लगाएतका सुरक्षाका उपायहरु अपनाइएका छैनन् । प्रदेश ५ को राजधानी बुटवलमा निकै भिडभाड लाग्न थालेको पनि लकडाउन अवधी देखिनै हो ।

हाल विद्यालय, सिनेमा घर, सार्वजनिक यातायात(पूर्ण रुपमा) बाहेक अधिकांश क्षेत्र निर्वाद र बिना मापदण्ड सञ्चालनमा आएका छन् । अधिकांश स्थानमा सावधानी तथा सुुरक्षाका उपायहरु अपनाइएको छैन । केहि क्षेत्र सेवाका नाममा मानव स्वास्थ्य र जीवनसँग सरोकार र सम्बनध राख्ने सुरक्षाका आधारतर्फ भन्दा पनि व्यापार व्यवसायमा मात्रै केन्द्रित भएको देखिन्छ । स्वास्थ्य, वित्तिय, व्यवसाय, व्यापारिक लगाएत सबै क्षेत्रमा मात्रै नभई सडकमा पनि भीड–भाड देखिन्छ । शारीरिक, सामाजिक दूरीको बेवास्ता गर्दै मास्कको प्रयोग नगर्नेको संख्या पनि धेरै देखिन्छ । कोरोना संक्रमणको डर र लकडाउन अवधिमा क्वारेन्टाइन, आइसोलेशन र सतर्कतामा दिइएको ध्यान र जोड यतिबेला हटेको जस्तै छ । हिजो विदेशबाट आएकाहरुमा सिमित कोरोना संक्रमण हाल समुदायमा फैँलदो छ ।

व्यक्ति, परिवार, समाज र समुुदाय सतर्कतामा भन्दापनि दैनिकीमा केन्द्रित रहेको देखिन्छ । संकट निम्ताएको संक्रमण निर्मूल नभई झन् संक्रमण र संकटको सम्भावना हुँदापनि स्थानीय तह तथा सरोकारवालाको ध्यान पुग्न सकेको छैन । सतर्कता तथा सावधानी नअपनाएको वा रोग नियन्त्रण विरुद्ध गएकाहरु विरुद्ध बोल्ने, नियन्त्रण गर्ने वा कारवाही गर्ने निकायहरु निस्क्रिय बनेका छन् ।लकडाउन हटेसँगै मानिसहरुको भिडबाड बढ्नु, लकडाउन हट्नासाथ कोरोनानै हटेजसरी सुरक्षाका उपायहरु नअपनाउनु, सरोकारवाला निकाएहरुले पनि अनुगमनमा चासो नदिनु, खुला सिमानाबाट भारतिय नागरिकहरु ब्यापार, ब्यावसायका लागि बिना रोकतोक नेपाल भित्रिनु, आम मानिसले कोरोनालाई हल्कारुपमा लिएर आ–आफ्नै खालका विश्लेषण गर्नु,जस्ता कारणले पनि कोरोना समुदायमा फैलिरहेको छ ।

प्रदेश ५को राजधानी बुटवल लगाएत यस आसपासका शहरहरुको चहल–पहल र भीडभाड देख्दा विश्वव्यापी महामारी को रुपमा देखा परेको यो कोरोना संक्रमण नेपालमा फैलिएको र त्यसको जोखिम अझैपनि त्यति नभएजस्तो भान हुुन्छ । के कोरोना सामान्य हो ? नेपालमा यसको महामारी हुँदैन ? नियन्त्रणमा आएकै हो ? यदि होइन भने किन सतर्कता र सावधानी छैन ? किन हेल्चेक्राई ? यसतर्फ सर्वसाधारणदेखि सरोकारवाला सबैको ध्यान जाओस् । अहिले पनि दैनिक रुपमा कोरोना संक्रमित थपिइरहेका छन् । मृत्यु हुनेको संख्या पनि बढेको छ । लामो लकडाउनमा बसेर केहि हदसम्म नियन्त्रणमा भएको संक्रमणलाई लापरवाही गरेर महामारीका रुपमा फैलन नदिन उच्च सतर्कता र सावधानी अपनाउँदै सुरक्षाका सबै उपाय अपनाऔं । अहिले नेपालमा लकडाउन मात्र सकिएको हो, कोरोनाको जोखिम र कहर होइन । आफूपनि जोगियौं र अरुलाई पनि जोगाऔं ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।