ताजा अपडेट »

एनआईसीको सुपर योजना : ८.२५ प्रतिशत व्याजदरमा कर्जा

शुक्रबार, ०२ साउन २०७७, १७ : ११
6 Shares

तिलोत्तमा । एनआईसी एसिया बैंकले नयाँ व्याजदर सार्वजनिक गरेको छ । कोरोनाका कारण व्यवसाय रोकिएको अहिलेको अवस्थामा नयाँ कर्जा योजना सार्वजनिक गरेको छ । बैंकले सुपर चमत्कारिक घर कर्जा, सुपर चमत्कारिक सवारी कर्जा र सुपर चमत्कारिक व्यवसाय कर्जा योजना ल्याएको हो ।

बैंकको प्रदेश ५ कार्यालयले दिएको जानकारी अनुसार यो योजनामा बैंकले ८.२५ प्रतिशत ब्याजदर तथा ०.२५ प्रतिशत प्रशासनिक शुल्क (सेवाशुल्क) मा उक्त कर्जाहरु उपलब्ध गराउने छ । यस्तो व्याजदर एक वर्षसम्म परिवर्तन नहुने पनि बैंकले जनाएको छ । सुपर चमत्कारिक घर कर्जा अन्तर्गत घर तथा अपार्टमेन्ट खरिद, घर निर्माण, घर निर्माण गर्नका लागि जग्गा खरिद जस्ता कामका लागि ऋण लिन सकिने बैंकका प्रदेश कार्यालय प्रमुख तिलकसुन्दर कार्कीले जानकारी दिए । यसरी ऋण लिँदा ऋणको अवधि पाँच देखि ३० वर्षसम्म हुने छ । घर कर्जा योजनामा अधिकतम १ करोड ५० सम्म ऋण पाइने कार्कीले बताए

घर निर्माण गर्नेको हकमा बैंकले निर्माण लागतको शत प्रतिशतसम्म ऋण दिन सक्ने छ । घर निर्माणका लागि अधिकतम ५ वर्षसम्म ऋणीले ब्याजमात्र तिरे हुन्छ । त्यस्तै ऋणको वार्षिक किस्ता ऋणी आफैले निर्धारण गरेर पनि तिर्न सक्ने बैंकका प्रदेश प्रमुख कार्कीले बताए । सुपर चमत्कारिक सवारी कर्जा अन्तर्गत रातो प्लेटका निजी तथा व्यवसायका लागि सवारी र विद्युतीय सवारीका लागि ऋण पाउन सकिने छ । अन्य बैंकबाट सवारी कर्जा लिइरहेकाले पनि सारेर एनआइसीको यो योजनाको सुविधा लिन सकिने बैंकले जानकारी दिएको छ । यो योजनामा अधिकतम २ करोडको ऋण तोकिएको छ । यस्तो ऋण लिंदा सवारी धितो राखेमा ऋणको अवधि १० वर्षको र सवारी र घरजग्गा सयुक्त धितो राखेमा १५ वर्षको अवधि हुने छ ।

साना तथा मझौला उद्योग व्यवसाय कोरोना भाइरस महामारीले प्रभावित हुँदै गइरहेको अवस्थामा साना तथा मझौला उद्योग व्यवसायलाई प्रोत्साहन गर्न यही साउन १ गतेदेखि सुपर चमत्कारिक व्यवसाय कर्जा योजना ल्याएको बैंकले जानकारी दिएको छ । यो योजनामा उद्योगी तथा व्यवसायीहरुले आफ्नो व्यवसायको आवश्यकता अनुसार आवधिक कर्जा तथा ओभरड्राफ्ट मिश्रित रुपमा उपभोग गर्न सक्ने छन् । यो ऋणको अधिकतम सीमा १ करोड तोकिएको छ ।

सुपर चमत्कारिक कर्जा योजनामा आवश्यक कागजपत्र पुगेपछि ४८ घण्टाभित्र निर्णय दिने बैंकले प्रतिबद्धता जनाएको छ । क्रृणका लागि आवेदन दिन बैंकको वेबसाइट मार्फत् वा ३४४८८ मा लोन टाइप गरी एसएमएस वा बैंकको ९८०१२२७७५५ नम्बरमा मिस कल गरी थप जानकारी लिन सकिने बैंकका प्रदेश प्रमुख कार्कीले बताए ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।