ताजा अपडेट »

अबको नेपाल दुई ढुङ्गाबीचको तरुल होइन !

शुक्रबार, ०२ साउन २०७७, १५ : ४२
36 Shares

भारतका नेताले धर्मका विषयमा बोलेको सुन्दा नेपालका नेताहरूले यस विषयमा किन नबोलेका हुन् जस्तो लाग्थ्यो । साथी भाइका बीचमा यो कुरा उठाउँदा उल्टै जबाफ आउँथ्यो, ‘नास्तिक नेतृत्वको प्रभाव परेर होला ।’ तर, नेपालको राजनीतिक नेतृत्वमा नास्तिक दर्शनका नेतृत्वकर्ता को–को हुन् ? हामीसँग जबाफ छैन । प्रायःमानिसहरू राज्य प्रभावी हुँदा रहेछन् ।

राज्यको प्रभाव सबै भन्दा पछिल्लोको बढी हुन्छ, अर्थात् राज्य वर्तमान प्रभावी हुन्छ । धर्म विगत प्रभावी हुन्छ र संस्कृति विगत आधारित हुन्छ । पछिल्लो विगत र वर्तमान नै मानिसको मन–मस्तिष्कमा प्रभावशाली रहने भएको हुनाले बहुदल, गणतन्त्र आएपछिका नेता–नेतृत्वलाई लक्षित गरेर ‘नास्तिक नेतृत्वको प्रभाव’ भनिएको बुझिन्छ । राजनीतिक दर्शनका हिसाबले हेर्दा प्रायः कम्युनिष्टहरूलाई नास्तिक कित्तामा राख्ने गरिन्छ । यस हिसाबले हेर्दा अन्य राजनीतिक दलहरू त आस्तिक भित्रै पर्दछन् । नास्तिक दर्शन अँगालेका कम्युनिष्टहरू भन्दा बढी नेतृत्व त आस्तिक मानिने अन्य राजनीतिक दलहरूले नै देशमा बढी नेतृत्व गरेका छन् ।

मनमोहनअधिकारी, माधव नेपाल, पुष्पकमलदाहाल, झलनाथ खनाल, बाबुराम भट्टराई, केपी शर्मा ओली नास्तिक भनिने भौतिकवादी दर्शन अँगालेका हुन् भने कृष्णप्रसाद भट्टराई, गिरिजाप्रसाद कोइराला, सूर्यबहादुर थापा, शेरबहादुर देउवा, लोकेन्द्रबहादुर चन्द, तुलसी गिरी, खिलराज रेग्मी, सुशील कोइरालाहरू त बहुदल कालमा मुलुकको राजनीतिक नेतृत्व गरेका आस्तिक मानिने अध्यात्मवादी दर्शनका पक्षधर नै थिए । यी कसैबाट पनि धार्मिक स्थल र विषयमा खासै नयाँ केही सुन्न पाएको सम्झना छैन । बहुदल, गणतन्त्रअघि त हिन्दू धर्मसम्राट राजाले नेतृत्व गरे । राज्य नै हिन्दू राज्य थियो । देश र विदेशका मन्दिरहरूमा दर्शन–भ्रमण, आजा–पूजा, स्वागत–अभिनन्दन, दानपुण्य हुने गरेको देखिन्थ्यो ।

छिमेकी राष्ट्र भारतका हिन्दू संगठन र तिनका अगुवाहरूले नेपालका राजालाई आफ्नो पनि राजा भनेर सम्मान गर्दथे । संसारका सबै हिन्दूहरूका सम्राट भनेर प्रशंसा–प्रशस्ती गाएको देखे–सुनेकै हो । हामी हिन्दू नेपाली जनताले पनि राजालाई पिता सरह, भगवान सरह मान्दै आएका थियौँ। ।श्राद्धमा तर्पण दिँदा पनि आफ्ना दिवंगत पुर्खाको पंक्तिमा राखेर तर्पण आदि दिने गरेकै हो । हिन्दू जनता, हिन्दू राष्ट्र र हिन्दू राजा हुँदाको संस्कृतिमा यही कुरा थिए । राजाका सम्बोधनपछि उनकै तर्फबाट शुभाशीष पाइन्थ्यो– श्रीपशुपतिनाथले कल्याण गरून् ! भएका मठ–मन्दिरमा आजा–पूजा, दर्शन–दान, भ्रमण आदि गरे । तर, नेपालको कुन तीर्थ, कुन धाम नेपाली राजाहरूले विकसित गरे ? नयाँ ढंगले हिन्दू सभ्यताको कहाँ, कति र के प्रवद्र्धन गरे ? यसको प्रवद्र्धन हुने गरी कस्तो शिक्षा नीति र शैक्षिक केन्द्रहरू विकास गरे ? मानिसको हितसँग धर्मलाई कहाँ कसरी जोडे ? हिन्दू धर्मग्रन्थहरूका वैज्ञानिक पक्षहरूको अनुसन्धानमा के काम भयो ? शास्त्रवर्णित नेपालका पर्वत, नदी, गुहाकन्दराको विषयमा के कति अध्ययन भयो ? यी सबै विषयमा पनि अध्ययन गर्न आवश्यक, बुझ्न आवश्यक छ ।

अहिले नास्तिक मानिने भौतिकवादी दर्शन अँगालेका प्रधानमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टीका केपी शर्मा ओलीले राम, रामायण र अयोध्याका विषयमा प्रसङ्गवश बोल्दा भारतका साधु भनिने जमातले वहाँको पुतला समेत दहन गरेका छन् । भोलि कागबेनीको बारेमा बोल्दा, गोकर्ण तीर्थको विषयमा बोल्दा, देवघाट र गुल्मीको रेसुङ्गा र शृङ्गेश्वरका विषयमा बोल्दा के होला ? कोशी र कौशिकी सभ्यताको विषयमा बोल्दा र विश्व मित्रको भूमि भएको सत्य बोल्दा के होला ? अहिले भारतमा नेपालप्रतिको दृष्टिकोण र त्यसको प्रष्टिकरणको दृश्यहरू हेर्दा ‘के निहुँ पाउँ, कनिका बुकाउँ’ भनेझैँ देखिन्छ । अरुले नगरेको कामगर्दा, नयाँ विषय उपस्थित हुँदा अल्पचेतका महाज्ञानीहरू झस्कनु स्वाभाविकै हो ।

कालापानी, लिपुलेक र लिम्पियाधुरा भारतले अतिक्रमण गरिराखेको भूमि समेटेर नक्सा जारी गरेपछि यो भारतको टाउको दुःखाइको विषयबनेको हो । भूमि अतिक्रमण नेपालको भएता पनि यतिबेला यो समस्या भारतको बनेर उपस्थित भएको थियो । नेपालका राजनीतिक दलहरूको अभूतपूर्व एकता, नेपालीहरूको स्वाभीमान, अनेकौँ प्रमाण र तर्कमा आधारित प्रस्तुति गर्न सक्षम र तयार नेपाली बौद्धिक जगत, सकारात्मक अन्तर्राष्ट्रिय परिदृश्यबाट अत्तालिएको भारतीय शासक वर्गलाई नेपालमा अयोध्याको विषय झनै खपिनसक्नु हुनु स्वाभाविकहो । यी पृष्ठभूमिमा केपी ओली र वहाँले नेतृत्व गरेको सरकारको त्यताबाट विरोध हुनुलाई कुनै आश्चर्यजनक रूपमा लिन पर्दैन ।

दलाली र दयाको दलदलमा पारेर नचाइएको राष्ट्र र नेतृत्वलाई स्वाभिमानको राप खपिनसक्नु हुनु अस्वाभाविक होइन । त्यसैले ओलीको पुतलाका दाहकर्मीहरू त्यहाँ रहे बसेका नेपालका नागरिक प्रवासी र अन्य नेपालीहरूलाई समेत ‘भारत से खदेड देंगे’ अर्थात् खेद्छौँ भन्दैछन् । भारतमा बसिरहेका नेपालीहरूलाई आतंकित पार्ने प्रयास गरिरहेका छन् । कतिपय कमजोर मन–चित्तभएका प्रवासी नेपालीहरू विचलित पनि भइरहेका छन् । तर, प्रवासी नेपालीहरू त्यहाँको समेत आवश्यताका कारण त्यहाँ छन् । सन् १९५० को सन्धिका कारण र त्यसको वैधानिकता तथा अधिकार सहित त्यहाँ छन् । विगतमा प्रवासी नेपालीहरूले त्यही भूमिबाट ‘भारतीय विस्तारवाद मुर्दावाद, सन् १९५० को असमान सन्धि खारेज, खुला सीमा बन्द गर’ भन्ने नारा बुलन्द गरेका हुन् ।

विगतमा भारतसँग भए–गरिएका सन्धि सम्झौताको अध्ययन दुबै देशका प्रवुद्ध व्यक्तिहरूको समूह गठन भएको थियो । त्यो प्रतिवेदन उक्त समूहले गत वर्ष नै तयार गरिसकेको भएपनि नेपालका प्रधानमन्त्री ओलीले त्यो बुझ्न र हेर्न भ्याएका छैनन्, किनहोला ? स्मरणीय छ, यो समूह यसअघि केपी ओली शर्माकै नेतृत्वको मिलीजुली सरकारको समयमा बनेको थियो । प्रवासी नेपालीहरूले के बुझ्नपर्छ भने यस्तो बेला उनीहरूलाई ढाल बनाएर नेपालले लिने निर्णयलाई कमजोर पार्न प्रयास गर्दछन् । नक्कली मुद्दा देखाएर असली कुरा लुकाउन सक्छ ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।