ताजा अपडेट »

हार्दिक श्रद्धासुमन ‘कृष्णबाबु’

बुधबार, २४ असार २०७७, १६ : ३६
74 Shares


‘तिमी कसरी बाँच्छौं भन्दा तिमी कसरी मर्छौ भन्ने कुरा बढी महत्वपूर्ण हुन्छ ।’ –गौतम बुद्ध
प्रिय कृष्ण ,आज तिम्रो भौतिक शरीर विलिन भएको १२ औं पुण्यदिन,जीवन र मृत्यु बारेमा कसैले गरेको व्याख्या पूर्ण हुँदैन तर केही यस्ता पात्र हुन्छन्, जस्को बारे मनले लेख्न मान्दैन, तर आंैलाहरु दौडिरहन्छन् किबोर्डसँग भावनाका तरङ्गहरु बोकेर । जीवन छोटो छ । मृत्यु अवश्य छ । हामी न जीवनबाट बच्न सक्छौं न मृत्युबाट भाग्न सक्छौं । अझ दृष्टान्तहरुले भन्छन्,‘असल मान्छेहरुको आयू छोटो हुन्छ । उसो त हामी कति पो बाँचेका छौं र ! अरबौंको आयू भएको पृथ्वीमाथी सताब्दीसम्म पनि शक्तिशाली भएर बाँच्न नसक्ने मान्छेले पृथ्वीनै कब्जा गरिरहेको छ । हामी धेरै वर्ष जीवनको परिभाषा बुझ्दैनौं, हाम्रो लागी संसार आफ्नो परिवार जस्तै लाग्छ । जतिबेला अलिकति जीवनको परिभाषाहरु बुझ्न सुरु गर्छौं,त्यतिबेला ढिला भैसकेको हुन्छ । हामीलाई पूँजीबादको संस्कारले यतिसम्म मेसिनेवल बनाइसकेको छ कि हामी पैसाको पछि लाग्दा–लाग्दै सारा जीवनको अन्त संस्करणसम्म पनि आफ्नो जीवन पत्ता लगाउन सक्दैनौं ।

प्रिय कृष्ण, तिमीले जीवन कति बुझ्यौं ? त्यो सँगै बसेर समीक्षा गर्न पाएनौं । तर, तिमीले अभिव्यत्त गर्ने शब्दभन्दा तिमीले व्यतित गरेको जीवनले यी कुराहरु प्रष्ट पार्यो । तिमीले जीवनको ३० वटा बसन्तहरु हराभरा बनाएर बितायौं । हुन त मोतिराम भट्ट पनि ३० वर्ष बाँचे । भैरव अर्यालले ४३ वर्षमै संसारबाट बिदा भए । ३९ वर्षमा विश्वविख्यात बनेका स्वामी विवेकनन्दको निधन होस् वा ४२ वर्षमा दुर्घटनाबाट निधन भएका वरिष्ठ राजनीतिज्ञ मदन भण्डारी हुन् , सबैले अल्पायूमै जीवन त्यागे । तर, उनीहरु कहिल्यै मरेनन्, मर्नेछैनन् । किनकी उनीहरुले बाँचेको जीवन नै उनीहरुको लागि काफि थियो । एउटा जीवनभरमा मान्छेले यो समाजलाई के दियो ? भन्ने प्रश्नले उ मर्यो वा अमर भयो भन्ने अर्थ लाग्छ । उनीहरुले जस्तै आफ्नो स्तरमा तिमीले यो समाजलाई एउटा परिभाषा दिएर गएका छौं । त्यसैले पनि जीवन कति लामो भयो? भन्ने प्रश्न फिका हुन्छ जब बाँचिएको जीवन नै कसैको लागी मार्गदर्शन बनिसकेको हुन्छ ।

२०४६ साल जेष्ठ २६ गते आमा राधा पाण्डेय र बुवा रुकमणी पाण्डेयका सुपुत्रको रुपमा साविक बिर्घा,कसारे हाल कालिगण्डकी गाउँपालिका ४, विर्घामा जन्मेका कृष्णप्रसाद पाण्डेय सबैका प्रिय थिए । हँसिला, रसिला र जोशिला कृष्ण सबैको प्यारो भएकै कारण उनको नाममा बाबु थपियो । कृष्णलाई सांगीतिक र पत्रकारिताका क्षेत्रमा जोकोहीले पनि उनलाई कृष्ण बाबुको नामबाट चिन्छन् । सानैदेखि निकै चम्किलो ताराजस्ता सुन्दर रुपका मान्छे भएकै कारणले पनि होला उनको शोख फिल्म र सांगीतिक क्षेत्रमा थियो । २०६१ सालमा विर्घाकै जनता माध्यामिक विद्यालयबाट एसएलसी उत्तिर्ण गरेका उनी त्यसलगत्तै जीवनको अन्तिम समयसम्म पनि बुटवललाई कार्यक्षेत्र बनाएर बसे । उनले आफ्नो नामको पछाडि पहिचान जोड्न जुन मेहनतका साथ पसिना बगाए,त्यो सबै बुटवलमै बगाए । एसएलसी लगत्तै उनले बुटवलमा रहेको लिट्स कलेजबाट सिएमए (१८ महिने) अध्ययन गरे । मेडिकल क्षेत्रमा समेत ज्ञान हासिल गरेका उनले सानैदेखि आफ्नो कामलाई पनि अगाडि बढाए । बुटवलको युजन फार्मेसी, बुटवल हस्पिटल प्रा.लि. लगाएतमा काम समेत गरे ।

उनले सेवाप्रदायक कम्पनी एनसेल सेन्टरमा समेत झण्डै १ वर्षसम्म काम गरेका थिए । उनलाई मनमा फिल्मी क्षेत्रको हुटहुटी त थियो नै त्यसमाथि सामाजिक सेवामा पनि उनको चासो थियो । उनले मेडिकल क्षेत्रमा काम गर्दागर्दै आवाजसँग खेल्न सुरु गरे । बुटवलमा कमै मिडिया छन् ,जहाँ कृष्णको आवाज नबजेका हुन् । बुटवल एफ.एम, रेडियो,रिपब्लिक, नमस्ते एफएम, छिमेकी रेडियो, खस्यौली एफएम, बुद्ध टिभी लगाएत धेरै मिडियामा उनका आवाजहरु गुञ्जन्थे। कतै साथीसँग मनका कुरा गुञ्जिए,कतै गीत र संगितका कुरा । बिहान झिसमिसेमै समाचार घन्काउने कृष्णको स्वरले कतै गोधुलीमा लोकभाका घन्काउँथे । कहिले छिप्पिँदो रातमा प्रेमपत्रका कथाहरु । कहिलेँ उनी निकै भावुक भए, कहिले उत्साही र रोमाञ्चक । उनलाई चिन्नेहरुले कृष्णको खास रुप चिन्दथे, देख्नेहरुले उनको हँसिलो मुहारमात्रै । हसिँलो मुहारभित्रका उनका पीडाहरु जोकोहीले चिन्दैनन्, कृष्णमा त्यो विलक्षण प्रतिभा नै थियो । उनी जति पीडामा पनि मुस्कुराएर जित्ने स्वभावका थिए । मनभित्रका भित्री मर्म नजिकका मान्छेहरुलाई मात्रै सुनाउँथे,त्योपनि धेरै केलाएर ।

बुटवलमा रहेर कर्मदिने उनकी आन्टी दुर्गा पाण्डे भन्छिन्, ‘समाज सेवामै रुची राख्ने उसलाई मेडिकल क्षेत्रमा प्रवेश गराएँ । तर,उसको शोख नै पत्रकारिता र संगित थियो । अन्तमा समाजमा पत्रकारिता र सांगीतिक क्षेत्रबाटै आफ्नो पहिचान बनायो ।पहिलो गीत रेकर्ड गर्न बुटवलबाट खबरै नगरी वालिङ्ग पुगेको थियो ।’उनी अन्तरमुखी स्वभावका बहुमुखी प्रतिभाका व्यक्ति हुन् । उनले धेरै साथी कमाए, साथीका लागि आफ्नो क्षमता र ल्याकतले भेटेसम्म सहयोग गरे । उनका विरलै साथी होलान,जस्ले उनीसँग सहयोग नलिएको होस् । उनी साथीको लागि हरसम्भव सहयोग गर्ने भावनाका मान्छे थिए । उनलाई नजिकबाट नियालेका पत्रकार हरिश ढकाल भन्छन्, ‘उनी सिर्जनात्मक र सक्रिय मान्छे थिए, साथिको लागि ज्यानले सकेको गर्ने उनी निकै जुझारु र उदाउँदा नक्षत्र थिए, पत्रकारिता र सांगीतिक क्षेत्रमा यतिछिटो छलाङ्ग मारेका हुन्, ।’

साथीले भनेपछि कुनै सहयोग होस् या साथ उनले कहिल्यै नाई र गर्दिन भनेनन्, कतिपय अवस्थामा आफैं देखिएर समेत ठूला अप्ठ्याराहरु सामना गराइदिएका छन् उनले । उनी पत्रिकारितासँगै फिल्मी पर्दामा पनि उत्तिकै सक्रिय मान्छे थिए । बुटवलबाट लामो समयदेखि फिल्म निर्देशन गर्दै आएका मनिष पन्तसँगको सँगतमा आएपछि उनी फिल्ममा आफ्नो करियर बनाउने सपना देखेका थिए । पन्त सम्झन्छन्, ‘जिन्दगानी दर्पण छायाँ फिल्मको काम गर्दागर्दै उनी नियमित छायांकनमा आउने गर्दथे पछि डिभोर्स र उर्वशी फिल्ममा भूमिका नै निर्वाह गरेर फिल्म खेले । जब टेलिभिजन पत्रकारितामा बढि सक्रिय हुनथाले उनको व्यस्तताले गर्दा उनी फिल्म क्षेत्रमा भने प्रत्यक्ष भूमिकामा देखा परेनन् । पन्तका अनुसार उनी गित, संगितमा सक्रिय भए, दुई दर्जनभन्दा बढी म्यूजिक भिडियोमा आफ्नो कलाकारिता प्रस्तुत गरेपछि उनी उचाई चुलिँदै गयो ।

सामाजिक क्षेत्रमा सेवा गर्ने भावनाले उनलाई पत्रकारिताको भोक झनझन् बढिरहेको थियो । एकातिर सांगीतिक यात्रा अर्काेतिर सामाजिक भावना उनी दुवैतिर सन्तुलित भूमिकामा देखिन थाले । जब अलि बढि सक्रियता पत्रकारिता क्षेत्रमा हुन थाल्यो, त्यतिबेला सांगीतिक क्षेत्रमा कम समय दिन थालेका थिए । यद्यपी उनको विशिष्ट क्षमताकै कारण हरेक तीज, दशैं लगाएत विशेष समयमा नयाँ–नयाँ सामयिक गीतहरु, हरेक सामाजिक परिवेशलाई मिल्ने सांगीतिक कर्महरु भने गर्न छोडेनन् । उनी दिवंगत भएपनि उनका आधा दर्जन बढी गीतहरु स्टुडियोमा गुनगुनाइ रहेका छन् ।

प्रिय कृष्ण, घरीघरी यस्तो लाग्दछ कि स्टिभ जब्सले कतै भनेका छन्, ‘म छिट्टै मर्दैछु’ भन्ने बोधले मलाई जीवनमा ठूला–ठूला निर्णय लिन मद्दत गरेको छ ।’ यस्तै ग¥र्यौ तिमीले ३ दशकको उमेरमा के चाँही गरेनौं । सामाजिक जीवन बितायौं, कतिका जीवन उद्धार ग¥र्यौ, कतिलाई नयाँ जीवन दियौं, धेरैको जीवन बचायांै, सडकमा दुर्घटना भएका धेरैलाई उद्धार गरेर हस्पिटल पुर्याएका छौं, तर, विडम्बना तिमी सडकमै आफ्नो ज्यान गुमायांै । पारिवारिक जिम्मेवारी होस् या सामाजिक तिमी धेरै हदसम्म व्यवस्थित थियौं । एउटा मान्छेले आफ्नो जीवनकालसम्म गर्नै पर्ने खास कामहरु तिमीले यति छोटो समयमै गरेका थियौं कि तिमीले भोलिको लागि गर्न बाकीँ केहि राखेनौं । पैसा, पद, प्रतिष्ठा र पावर तिमीले आफ्नो जीवनको लक्ष्य यतिमात्रै देखेनौं, तिमी समाजमा भएको विभेद, अन्याय र अन्त्याचार विरुद्ध पनि बोलिरह्यौं । तिमीले बाँच्दासम्म न जीवनलाई निकै प्रेम गर्यौ ,तिमीसँगका धेरै किस्साहरु छन् जो शब्दमा चित्रित गरेर सम्भव छैन्, । नर्मन कोउसिंसले भनेका छन्, ’मृत्यु भनेको नराम्रो होइन, नराम्रो त त्यो हो, जब हामी बाँँच्दा आफ्नो मनलाई मारेर बाँचिरहेका हुन्छौं ।’ तिमीले आफ्नो मनलाई कहिल्यै मारेनौं, सधै सम्मानपूर्वक बाँच्न दियौं मनलाई र त आज दुनियाँको मनमा राज गरेका छौं ।

कृष्ण, जब तिम्रो घटना भएको खबर पाएा, त्यसपछि तिमीलाई सम्झे, तिम्रो उज्यालो मुहार र खुला हृदय सम्झेर भक्कानिएँ, त्यो भन्दा धेरै मैले तिम्रो फूलजस्ती जीवनसाथी, गर्भमै हुर्कँदै गरेको मुना र तिम्रो सुन्दर परिवार सम्झिरहेँ । धेरै हदसम्म भगवान नपुकार्ने मलाई कता–कता भगवानसँग भेटेर सोध्न मन लागेको थियो, उसलाई ल्याउनु पहिले त्यो कोमल मुहार हेरेनौं, कि देखेनौं ? त्यो मुना जसले बाबा भन्नको लागि धर्तीमा अवतरण गर्न हतारीरहेको छ । असारको मध्यरात झम्झम् आकाश रोइरहेको समय । कालो निष्पट अध्याँरो, बिजुली चम्किरहेको थियो, तिमी अस्ताइसकेका रहेछौं । मध्यरातमा खबर पाएपछि तिम्रो उज्यालो मुहार निदाएको दृश्य हेर्न मनले मान्दै मानेन, कैंयौं कहरहरु छलेर पनि तिम्रो मुहार सुमसुम्याउन आउन मन लाग्यो ।

तिमीसँगको दशकदेखि चिनजान, ६ वर्षदेखिको सहयात्राका पलहरु नयनभरी बयेली खेलिरहे । डेढ बर्ष अगाडि तिम्रो बिहेमा नाच्दै गएको बाटोमा अहिले म रुँदै गएको थिए । अगाडि बैनी थिई जो होस् विहिन थिई, रङ्ग उडेपछि ओइलाएको गुलाब जस्तै खाली शून्य शरीर बोकेर जाँदै थिई, तिमी काठको बाकसभित्र थियौं, मस्त चिरनिद्रामा म पछि–पछि थिएँ । तिम्रा सँगतदेखिका दिनहरू र अबको तिमीबिना तिम्रो अभाव खड्कन नदिने दिनहरु सम्झँदैं थिए । तिम्ले मृत्युलाई सधै सामान्य मानेउ, जुन बाटोमा तिमी र म काँधमा हात हालेर हाँस्दै ओरालो लागेका थियौं । तिम्रो घरबाट, त्यही बाटोमा तिमीलाई म काँधमा हालेर रुँदै ओरालो लागेको लागे…

तिमी कालीगण्डकीको किनारमा लखतरान सुतेका थियांै, म तिम्रो छेउबाट कतै हाम्रा ती दिनहरूमा हराइरहेको थिए । त्यो कालिगण्डकीको किनारमा सुस्साइरहेको कालिले तिम्रो लाली जोवन खरानीमा उडाउँदै थियो । भावोद्देलित भएर कालिगण्डकीसँगै निरन्तर आँखाका नुनिला पानीहरु बगिरहेका थिए। आँखा अगाडीबाटै बिलिन भएपनि एकातिर म तिमीलाई बिर्सन सक्थिन, अर्कोतिर बैनी, आमा र तिम्रो परिवार । मर्माहत भएर कालिगण्डकीसँगै मेरा आखाँका नुनिला पानी निरन्तर बगेका थिएँ । तिमीले साइकल चलाएर घटाउन खोजेको तिम्रो पेट जलेर सकियो, जीवनभर माया गरेर राखेको ‘आमा’ लेखेको ट्याटू क्षणभरमै आगोमा हरायो । तिम्रो डोलाएका हात, भरिला पाउँ, चिल्लो गाला, चम्कीलो अनुहार आखाँभरी नाचिरह्यो अन्तिममा ‘जान्छु है।’ भनेको आवाज आएजस्तै भयो म झसङ्ग भए तिमी सकिएका रहेछौं । म तिम्रो चिताको अगाडी धेरैबेर घोप्टिए, तिमी अब रहेनौं । तिमीलाई बोकेर गएकाहरु तिमीलाई छोडेर फर्के, म भने तिमलाई मनभरी बोकेर फर्किए, घर आएँ, आमाको अनुहारमा तिमीलाई देखे, नानीको अनुहारमा तिमीलाई देखेँ, नानीको पेटमा तिमीलाई सम्झें, हजुरबुवा, हजुरआमा, भाई र बहिनीहरुमा तिमीलाई देखँे । तिमी त मरेकै रहेनछौं कृष्ण तिमी त साझा बनेका रहेछौं, हामी सबैका ।

कृष्ण, तिमी मरेका होइनौं रुपान्तरण भएका हौं, जीवनबाट । एल्ज्यान्ड्रोले एउटा पुस्तकमा उल्लेख गरेका छन्, ‘जीवन र मृत्यु भ्रम मात्रै हो । हामी सबै रुपान्तरणको प्रक्रियामा छौं ।’ त्यसैले कृष्ण तिमी जीवनबाट रुपान्तरण भएका हौं, तिमी कहिल्यै मर्नेछैनौं । किनकी मृत्युको उत्कर्ष नै जीवन हो । तिमीले देखेका र देख्न बाँकी केही सपनाहरु छन्, जुन पूरा गर्ने जिम्मेवारी आइपुगेको छ, तिम्रो शोकलाई तिम्रै शक्तिमा रुपान्तरण गर्दै तिम्रो घर, परिवार र समाजमा तिम्रो अभाव हुन नदिने प्रतिबद्धतासहित अलविदा कृष्ण बाबु । हार्दिक श्रद्धाञ्जली । (लेखक न्यूूज २४ टेलिभिजनका लागि बुटवलबाट रिपोर्टिङ गर्छन्)

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।