ताजा अपडेट »

व्यासमूर्ति निर्माणका लागि रु डेढ करोड

आइतबार, २१ असार २०७७, १७ : १०
6 Shares

दमौली । व्यास जन्मभूमि दमौलीमा निर्माण गर्न लागिएको १०८ फिट अग्लो व्यासको मूर्तिका लागि तनहुँको व्यास नगरपालिकाले रु एक करोड ५० लाख बजेट विनियोजन गरेको छ । दमौलीलाई पर्यटकीय गन्तव्य बनाउने उद्देश्यका साथ निर्माण गर्न लागिएको मूर्तिका लागि नगरपालिकाले आगामी आर्थिक वर्ष ०७७/७८ को बजेटमा उक्त रकम विनियोजन गरेको हो ।

व्यास र पराशर क्षेत्रको विकासका लागि नगरपालिका सदैव प्रतिबद्ध रहेको नगरपालिकाका प्रमुख वैकुण्ठ न्यौपानेले बताए । “१०८ फिट मूर्ति निर्माणको कुरा चलेको धेरै भयो, अब शीघ्र रुपमा यसको काम अगाडि बढाउनुपर्छ”, न्यौपानेले भने, “व्यासकै नामबाट नगरपालिकाको नामकरण भएकाले व्यासप्रति नगरपालिकाको सम्मान छ ।”

नगरको विकासमा पर्यटन क्षेत्रलाई महत्वका साथ प्राथमिकतामा राखी धार्मिक, सांस्कृतिक, प्राकृतिक एवं ऐतिहासिक स्थलको पहिचान गरी पर्यटन क्षेत्रको विकासमा विशेष सहयोग गर्ने नीति नगरपालिकाको रहेको नगरप्रमुख न्यौपानेले बताए । उनका अनुसार दमौली, पराशर ऋषिको तपोभूमि पराशर क्षेत्र, छाब्दी बाराही मन्दिर, अकला मन्दिर, तनहुँसुर दरबार, गलेखामकोट, कर्लुङकोट कालिका, क्यामिन कालिका, कालिका शहीद जङ्गलपार्क, मानहुँ, पुलिमराङ, बेनिकोट सिद्धगुफा, महादेव, छाङ्गा बाराहीलगायत क्षेत्रको विकासका लागि बजेट विनियोजन गरिएको छ ।

व्यास क्षेत्र शिवपञ्चायन विकास कोषका अध्यक्ष अशोककुमार श्रेष्ठले वर्षा सकिएलगत्तै पूर्वाधार निर्माणका काम शुरु गरिने जानकारी दिए । उनका अनुसार चालु आवमा गण्डकी प्रदेश सरकारबाट प्राप्त रु दश लाख बजेटमा मुख्य प्रवेशद्वार निर्माण गरिएको र उक्त काम अन्तिम चरणमा पुगेको छ । “वर्षायाम सकिनेबित्तिकै मूर्ति निर्माणको कामलाई अगाडि बढाउँछौँ”, उनले भने, “कोषमा प्राप्त भएको जति रकम छ, सोही बजेटबाट काम अगाडि बढाउने निष्कर्षमा पुगेका छौँ ।”

मूर्ति निर्माणका लागि सङ्घीय सरकारले पनि आगामी आवको बजेटमा रु ५० लाख व्यवस्था गरेको छ । कोषले केही समय अगाडि महायज्ञ लगाएर रु तीन करोड ४८ लाख बचत गर्न सफल भएको छ । गुरुयोजनानुसार सबै संरचना निर्माणका लागि रु ६४ करोड बजेट आवश्यक पर्छ । विकास कोषको एक्लैको प्रयासले मात्रै सबै काम गर्न सम्भव नरहेकाले यसमा सबैको साथ र सहयोग आवश्यक पर्ने श्रेष्ठले बताए । विस्तृत परियोजना प्रतिवेदनअनुसार मूर्ति र स्तम्भ निर्माणका लागि मात्रै रु ३४ करोड १६ लाख ७६ हजार ९९३ लाग्ने अनुमान गरिएको छ । अन्य संरचना निर्माणका लागि रु २८ करोड ६८ लाख २८ हजार २१७ लाग्ने अनुमान छ ।

व्यासको मूर्ति निर्माणको थालनी विसं २०६८ देखि भएको थियो । मूर्ति निर्माणका लागि रकम सङ्कलन गर्न सो बेला आयोजना गरिएको महायज्ञबाट करीब रु ७० लाख सङ्कलन भएको थियो । उक्त रकममध्ये रु १० लाखको लागतमा नमूना मूर्ति निर्माण गरिएको छ, जुन व्यास नगरपालिकाको हाताभित्र राखिएको छ । बाँकी रकमले मूर्तिको डिपिआर तयार गरिएको छ ।

निर्माण शुरु भएको चार वर्षभित्र सम्पन्न गर्ने लक्ष्य राखिएको छ । पहिलो वर्ष मात्रै रु सात करोड खर्च हुने अनुमान छ । व्यासको मूर्ति अड्याउनका लागि तीन तलाको स्तम्भ निर्माण गरिनेछ । स्तम्भ निर्माणका लागि मात्रै डेढ वर्ष लाग्ने अनुमान गरिएको छ । व्यासमूर्ति निर्माणका ३० हजार किलो तामा आवश्यक पर्ने अनुमान छ । स्तम्भ भित्र सङ्ग्रहालय र पुस्तकालय कक्ष प्रस्ताव गरिएको छ ।

गुरुयोजनानुसार व्यासको मूर्तिका अलावा प्रवेशद्वार, पार्किङ, टिकट काउन्टर, चौकीदार घर, कोसेली घर, बिक्री कक्ष, धर्मशाला, प्रवचन र योग कक्ष, समितिको सचिवालय बैठक कक्ष, सङ्ग्रहालय, वृत्तचित्र कक्ष, व्यास पुस्तकालय, शौचालय, बगैँचाका साथ विश्राम घर, तलाउसहितको मत्स्यगन्धा उद्यान, चमेनागृह, पुजारी घर, व्यासका साना २७ मूर्ति, व्यासका अनुयायीका पाँच साना प्रतिमा र गणेश बसेर वेद लेखेको सानो मूर्ति प्रस्ताव गरिएको छ । यी सबै संरचना निर्माणका लागि ६० रोपनी क्षेत्रफल जग्गा आवश्यक पर्छ ।

खरको छानो विस्थापन गरिँदै
सुरक्षित नागरिक आवास कार्यक्रमअन्तर्गत जिल्लाका एक हजार पचास घरधुरीमा खरको छाना विस्थापन गरिने भएको छ । शहरी विकास मन्त्रालयबाट आगामी आव ०७७/७८ मा खरको छाना हटाएर जस्तापाताको छानो छाउन बजेट विनियोजन भएको छ ।

तनहुँ क्षेत्र नं १ का पाँच स्थानीय तहका लागि सुरक्षित आवास कार्यक्रमअन्तर्गत खरको छानो विस्थापनका लागि रु पाँच करोड २५ लाख बजेट विनियोजन भएको सङ्घीय सांसद कृष्णकुमार श्रेष्ठले जानकारी दिए । खरको छानो विस्थापनका लागि प्रत्येक घरधुरीले रु ५० हजारका दरले रकम पाउनेछन् ।

सांसद श्रेष्ठका अनुसार देवघाट गाउँपालिकाका २१२, आँबुखैरेनी गाउँपालिकाका १९२, बन्दीपुर गाउँपालिकाका १९१, भानु नगरपालिकामा २३६ र व्यास नगरपालिकाका २१९ घरधुरीको खरको छानो विस्थापन गरिँदैछ । चालू आवमा २५० घरधुरीमा खरको छानो विस्थापन गरिएको छ ।

सरकारले बजेट भाषणमार्फत संविधानमा उल्लिखित मौलिक हकअन्तर्गतको सुरक्षित आवासको अधिकारलाई कार्यान्वयनमा ल्याउन सुरक्षित नागरिक आवास कार्यक्रम सञ्चालनमा ल्याएको छ । सुरक्षित आवास समन्वय समिति तनहुँ क्षेत्र नं १ का संयोजक एवं सङ्घीय सांसद श्रेष्ठका अनुसार गरीबीको रेखामुनि रहेका तथा प्राकृतिक प्रकोपबाट पीडित भई घरबारविहीन घरपरिवारले सुरक्षित आवास निर्माण गर्न चाहेमा सहुलियत दरको काठ र जस्तापाता खरीद गर्न रकम उपलब्धसमेत गराइनेछ ।

उक्त कार्यक्रम कार्यान्वयनका लागि सम्बन्धित प्रतिनिधिसभा निर्वाचन क्षेत्रको सांसदको संयोजकत्वमा जिल्ला समन्वय समितिका प्रमुख, कार्यक्रम सञ्चालन हुने स्थानीय तहका प्रमुख सदस्य र शहरी विकास तथा भवन निर्माण डिभिजन विभागका प्रतिनिधि सदस्य सचिव रहने गरी सुरक्षित नागरिक आवास समन्वय समिति गठन गरिएको छ ।

अर्बुदरोग पीडितलाई रु चार लाख
पाठेघरको अर्बुरोग पीडित शुक्लागण्डकी नगरपालिका–७ अर्चलथुमकी मनिषा विकलाई उपचारका लागि रु चार लाख ११ हजार पाँच सय सहयोग प्रदान गरिएको छ । तनहुँ समाज युकेले सङ्कलन गरेको उक्त रकम पीडित विकलाई हस्तान्तरण गरिएको हो ।

समाजका अध्यक्ष लेखबहादुर गुरुङको पहलमा सङ्कलित उक्त रकम नगरपालिकाका प्रमुख किसान गुरुङले पीडित युवतीलाई हस्तान्तरण गरे ।

रेडियोबाट पाठ प्रसारण
शिक्षा तथा मानव स्रोत विकास केन्द्रले काठमाडौँका रेडियोबाट प्रसारण गरिरहेको सिकाइ सामग्रीलाईे भानु नगरपालिकाले विद्यार्थीसम्म पु¥याउन पहल गरेको छ । बन्दाबन्दीका कारण देशभर विद्यालय बन्द भई पठनपाठन अवरुद्ध भएका सन्दर्भमा केन्द्रले रेडियो नेपाल, कान्तिपुर एफएम र सामुदायिक रेडियोबाट पाठ प्रसारण गरिरहेको छ ।

उक्त रेडियो जिल्लामा सुन्न कठिनाइ हुने भएपछि नगरपालिकाले यहाँका स्थानीय रेडियोसँग सहकार्य गरी सिकाइ सामग्री विद्यार्थीसम्म पु¥याउने व्यवस्था मिलाएको हो । भानु नगरपालिकाको संयोजनमा बन्दीपुर, आँबुखैरेनी गाउँपालिका र पालुङटार नगरपालिकाको संयुक्त बैठक बसी बन्दीपुर एफएम, छिम्केश्वरी एफएम, पावर एफएम र युनाइटेड एफएमबाट सिकाइ सामग्रीका पाठ प्रसारण गर्ने सहमति भएको भानु नगरपालिकाका शिक्षा शाखा प्रमुख उपसचिव डिल्लीरमण भट्टराईले जानकारी दिए ।

एक सिपाही - एक बिरुवा रोपण
नेपाली सेनाले पृथ्वीराजमार्गअन्तर्गत व्यास नगरपालिकाको खण्डमा आज वृक्षरोपण गरेको छ । व्यास नगरपालिका–५ चापाघाटस्थित कालीभञ्जन गण (ई) ले राजमार्गको दायाँबायाँ खण्डमा वृक्षरोपण गरेको गणपति प्रमुख सेनानी मनोज गुरुङले जानकारी दिए । कालीभञ्जन गणको समुदायप्रति उत्तरदायित्व बहन तथा ‘एक सिपाही एक बिरुवा’ कार्यक्रमअन्तर्गत वृक्षरोपण गरिएको गुरुङले जानकारी दिए ।

प्रमुख सेनानी गुरुङका अनुसार गुलमोहर, तेजपात, निम, अमला, लप्सीलगायत बिरुवा रोपिएको छ । पचास सिपाहीको सहभागितामा ५५ बिरुवा रोपिएको छ । व्यास नगरपालिका–५ का वडाध्यक्ष मोहनकुमार श्रेष्ठले पृथ्वीराजमार्गअन्तर्गत पर्ने चापाघाटमा बाटो विस्तार गर्दा पनि असर नपर्ने गरी बिरुवा रोपिएको जानकारी दिए ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।