ताजा अपडेट »

रङ्गको पर्व (फागू / होली)मा कानूनी अभ्यास

सोमबार, २६ फागुन २०७६, ०१ : ०५
54 Shares

कला र संस्कृतिले भरिएको देश नेपाल जहाँ विभिन्न चाडपर्वहरु मनाउने गरिन्छ । ति मध्ये होली पनि एक हो । प्रत्येक वर्ष फाल्गुन शुक्ल पूर्णिमाका दिनमा मनाइने हिन्दूहरूको प्रमुख चाडहरु मध्ये एक होली कहिले र कुन दिन मनाउने त्यो नेपाली मिति अथवा अंग्रेजी मिति अनुसार नभएर हिन्दू पञ्चाङ्ग अनुसार निर्णय भएको छ । त्यसैले यसको अन्य मितिमा संधै भिन्नता रही रहने गरेको छ । यो वर्ष होली फाल्गुन २६–२७ गते पर्न गएको छ ।

यस पर्वलाई फाल्गुन पूर्णिमाको दिनमा मनाउने भएकाले यसलाई फगुआ पनि भनिन्छ । होली पर्व घरपरिवार–साथीभाई आपसमा रङ्गमा रङ्गिएर उल्लासपूर्वक मनाउने फागुन पुर्णिमाको अवसरमा गाउँदेखि सहर र पहाडदेखि तराईसम्मका केटाकेटी, युवायुवती तथा प्रौढहरूका हूल तथा जत्थाहरू हातमा रङ र रङ्गीन घोल पदार्थ लिएर गाउँदै, बजाउँदै, रमाइलो र होहल्ला गर्दै आपसी रिसइबीलाई बिर्सेर उत्साह र उमङ्गका साथ मनाइने रङ्गिन पर्वको रूपमा लिइन्छ । होली नेपाल, भारत तथा अन्य राष्ट्रमा रहेका हिन्दूहरूको एउटा महत्वपूर्ण चाँड हो ।

ऐतिहासिक पक्ष
हिन्दु धर्म अनुसार त्रेता यूगमा भगवान विष्णुका परम भक्त प्रहलादसँग होलीलाई जोडेर हेरिन्छ, हिरण्यकश्यपका पुत्र प्रहलादलाई उनको आफ्नै फुपु होलिकाले आगोमा भष्म पार्न लाग्दा उनि आँफै आगोमा भष्म भएकी र सोही दिनबाट होलीको पर्व पर्दापण भएको मानिन्छ । विष्णुको नरसिंह अवतारको वर्णन अनि उत्पत्ति पनि होली अनि प्रहलाद घटना क्रमसँग समबन्धित छ । नारद पुराण र भविष्य पुराणमा होलीको महत्व अनि चलनको चर्चा गरिएको छ ।

भगवान श्री कृष्णलाई दुध खुवाएर मार्न आएकी राक्षसनी पुतनाको पनि आजकै दिन बालक कृष्णले बध गरेको उल्लेख गरिएको छ, यसरी पुतनाको बध भएपछि गोपालवंशीहरुले जय–जयकार गर्दै आजको दिनको रङ्गिन उत्सव मनाएको विवरण पनि इतिहासले वयान गर्दछ । त्रेता युगकै होलिका प्रसङ्गले गर्दा अहिलेपनि होलीको अघिल्लो रात होलीका दहन गरिन्छ र बिहानै खरानीले लगेर सबैले आ–आफ्नो घर–गोठमा छर्ने गर्छन् । जसले गर्दा घरमा रहेको नकारात्मक शक्तिहरु भाग्दछ भन्ने विश्वास धार्मिक विश्वास छ । त्यसपछि नुहाइ–धुआई गरेर घरमा बनाइएको विभिन्न मिठाइका प्रकारहरु साथीभाइसँग मिलेर खाने र रङ्ग खेल्ने गरिन्छ ।

रङ्गको महत्व

होलीमा रङ्गको छुट्टै विशेषता हुन्छ । रङ्गले हाम्रो मानसिक स्वास्थ्यमा पनि सकारात्मक प्रभाव पार्छ । होलीमा विशेषतः रातो, हरियो, पहेँलो तथा नीलो रङ बढी प्रयोग हुन्छ । रातो रङलाई शक्ति र सौभाग्यको सूचकको साथै शुद्धता एवम् पवित्रताको प्रतिक मानिन्छ । हरियो रङलाई प्राण, जीवनशक्ति एवम् मार्मिकताको प्रतिक मानिन्छ । पहेंलो रङलाई भक्ति र धर्म परायणताका रूपमा लिइन्छ । नीलो रङलाई शान्ति र सन्तुलनको प्रतिकका रूपमा लिइन्छ । कालो रङको पनि व्यापक प्रयोग हुन्छ । यो रङ इष्र्या र स्वार्थसँग सम्बन्धित हुन्छ । धेरैलाई मन पर्ने सेतो रङलाई शुद्धताको पतिक मानिन्छ ।

कानूनी पक्ष

नेपालमा सार्वजनिक सुरक्षाको सन्दर्भमा समाजलाई सभ्य र अनुशासित संस्कारमा रुपान्तरण गर्ने गरि लागू भएको हाल प्रचलित मुलुकी देवानी संहिता २०७४ भाग ५, परिच्छेद–१७ को दुष्कृती (टर्टस) सम्बन्धि व्यवस्था लागु हुन्छ । जस अन्तर्गत जो कसैको त्रुटि, हेल्चेक्रयाई वा लापरवाही जेसुकैबाट भएतापनि अर्काको जिउ, ज्यान, सम्पत्ति एवम् सुविधामा दखल गरी नोक्सान गराएमा वा हुन गएमा त्यस्तो लापरवाही गर्नेबाट क्षतिपूर्ति भराई लिन पाउने कानूनमा व्यवस्था गरिएको छ । अर्को महत्वपूर्ण कुरा भनेको आपसी मञ्जुरी र सहमति भएकै अवस्थामा पनि साथीहरु बीच होली खेल्ने क्रममा समेत लापरवाही गरेर सहमतिको मात्रा र परिस्थितिको ख्याल नगरी अधिक बल प्रयोग गरेर होली खेलेको कारणले आफ्नै साथीहरुलाई कुनै हानी नोक्सानी पुग्न गएमा वा जिउ ज्यानमा कुनै असर परेमा वा नोक्सान परेमा बिद्यमान दुष्कृति कानून अन्तर्गत पूर्ण क्षति व्यहोर्नु पर्ने हुन्छ ।

यस्तै अरुलाई असुविधा पुग्ने लापरवाही कामहरुमा, ठूला आवाजमा गीत बजाउनु, छिमेकीहरुलाई असुविधा र असजिलो हुने गरि आफ्नो घरमा ठूूलो स्वरमा गाना बजाना गरि होहल्ला गर्ने आदि कार्यबाटपनि असुविधा पर्न जाने छिमेकीले क्षतिपूर्ति भराई लिन पाउने व्यवस्था छ । होली पर्व धार्मिक एवं सांस्कृतिक दृष्टिले मर्या्दित र सभ्य तथा सबै किसिमका ईष्र्या र बेमेलपनलाई त्यागेर मनमिलन र खुसियालीको क्षणपनि हो । तर होलीको नाउँमा आजभोलि भैरहेको विभिन्न खालका विकृति विसंगति भित्रिएको छ । जाँड–रक्सी खाने होहल्ला गरेर अरुलाई दुख दिने, आवश्यकभन्दा बढी रङ्ग दल्ने लगाएतका क्रियाकलाप गलत पक्ष हो ।


त्यसरी नै संहिताको भाग ५ दफा ६८५ बमोजिम कसैले त्रुटिपूूर्ण उत्पादन बिक्री वा वितरण गरि त्यसतो वस्तुको उपभोगबाट कसैको जिउ, ज्यान वा सम्पत्ति उपर हानी नोक्सानी भएमा त्यस बापत त्रुटिपुर्ण डिजाईन, निर्माण, प्रशोधन वा जडान, प्याकिङ्ग, संरक्षण वा भण्डारण गर्ने, प्रस्तुति गर्ने जो कोहीले यस परिच्छेद बमोजिम दायित्व व्यहोर्नु पर्नेछ । चाड पर्वको अवसरमा विभिन्न मिसावट, नक्कली तथा सामानमा ठगीको समाचारहरु विभिन्न सन्चार माध्यमबाट सुन्नमा आइरहेको हुन्छ । होली पर्वमा पनि रङ्ग—अबिर जस्तामा बालुवा, धुलो तथा खाने परिकारमा विभिन्न हानीकारक तत्वहरु मिलावटी गरेर विक्री वितरण गर्ने गरिन्छ । जसको रोकथाम र नियन्त्रणका निम्ती यसै परिच्छेदको त्रुटिपुर्ण उत्पादन वापतको दायित्व सम्बन्धी व्यवस्था प्रभावकारी हुने देखिन्छ ।

होलीमा आजका युवाहरु अण्डा फोड्ने, गाडीको मोबिल दल्ने, हिलो लगाइदिने, लोला हान्ने, युवाहरू रक्सी, गाँजा, भाङ खाएर मातिने जस्ता गतिविधिहरुलाई निरुत्साहित गर्न जरुरी छ । होली पर्व मनाउने सबैले यदि कसैलाई पानी छ्याप्ने, लोला हान्ने, अरुको घरमा बेलुन फाल्ने, कसैको जिउमा पानी वा लोलाले हिर्काउने जस्ता कुनैपनि कार्यबाट असुविधा हुन गएमा वा कुनै घाउ चोट वा बिरामी पर्न गएमा दुष्कृति कानून अन्तर्गत अब सम्पूर्ण क्षति बहोर्नु पर्ने हुन्छ । त्यसैले आफूू खुशी, आपसी मन्जुरी तथा सहमतिमा अरु कसैको बाधा विरोध नहुने गरि मात्र होली खेल्न पाइने हुँदा यसतर्फमा सबैको ध्यान जानु जरुरी छ ।

यस कारण यी विसंगति एवं विकृति तथा यसका नराम्रो पक्षलाई रोकथाम गर्न र पर्वलाई धार्मिक एवम् सांस्कृतिक दृष्टिले मर्या्दित र सभ्य ढंगले मनाउन दुष्कृति सम्बन्धी कानून सक्रिय रहेकोले सबैले मर्या्दित, सभ्य एवं सचेत रह्न अनुरोध गर्दै प्रहरी र सुरक्षा कर्मीहरुले सबैलाई यो कानूनको बारेमा समेत जानकारी दिँदै कुनै अप्रिय घटनाको सूचना प्राप्त भएमा सोहीे अनुसारको सूचना संकलन गरेर कानूनको मर्यादा र प्रभावकारितामा सहयोग पु¥याउन आवश्यक छ । होलीको रङ्ग र उल्लासजस्तै हाम्रो जीवनपनि खुसी होस, होलीको शुभकामना । –(पाल्हीनन्दन–६, नवलपरासी) –लेखक काठमाण्डौं स्कूल अफ ल मा स्नातक तहमा कानून अध्ययनरत विद्यार्थी हुन्)

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।