ताजा अपडेट »

प्रतिनिधि सभा बैठक : २ वटा संकल्प प्रस्ताव पेश गरिँँदै

शुक्रबार, २३ फागुन २०७६, ०८ : ३९
6 Shares

काठमाण्डाै । प्रतिनिधिसभाको बैठकमा आज कोरोना भाइरसविरुद्ध राष्ट्रिय संकल्पका साथ एकजुट भएर अघि बढ्नुपर्ने विषयमा जरुरी सार्वजनिक महत्वको प्रस्ताव पेश हुने भएको छ। विश्व स्वास्थ्य संगठनले नेपाललाई कोरोनाको उच्च जोखिम भएको देशमा सूचीकृत गरेपछि यससँग जुध्न सरकारले के गरेको छ ? अस्पतालको अवस्था के छ ? भन्ने जस्ता प्रश्नमा सरकारले सदनलाई जानकारी दिनुपर्ने माग गरिएको छ।

नेपाली कांग्रेसका सांसद गगन थापाले यस विषयमा जरुरी सार्वजनिक महत्वको प्रस्ताव प्रस्तुत गर्ने संसद सचिवालयले जनाएको छ। प्रस्तावको पक्षमा सांसदहरु सञ्जयकुमार गौतम, दिव्यमणी राजभण्डारी, राजेन्द्रकुमार केसी र डाक्टर नारायण खड्काले समर्थन गर्नेछन्। बैठकमा आज कालापानी क्षेत्रमा रहेका विदेशी सेना हटाउने विषयमा संकल्प प्रस्ताव पनि पेश हुनेछ। सत्तारुढ नेकपाकै सांसद खगराज अधिकारीले पेश गर्ने प्रस्तावमा नेकपाकै सांसद रामकुमारी झाँक्रीले समर्थन गर्नेछिन। भारतले नेपाली भूमि समेटेर नयाँ नक्सा जारी गरेपछि बसेको सर्वदलीय बैठकबाट नेपालको भूभाग कसैबाट कुनै प्रकारले हडप्ने काम नहोस् भन्ने अडान कायम गरी सरकारलाई निर्देशन गरेकाले कुटनीति र अन्य पहलकदमी गरी नेपालको भूभाग कायम गर्न प्रस्ताव दर्ता गरिएको हो।

विहान ११ बजे बस्ने बैठकमा केही विधेयकहरु पनि पेश हुनेछन्। संघ, प्रदेश र स्थानीय तह (अन्तरसम्बन्ध व्यवस्थापन) विधेयक, सार्वजनिक ऋण व्यवस्थापन विधेयक, नेपाल राष्ट्र बैंक तेस्रो संशोधन विधेयक र बैंक तथा वित्तीय संस्था सम्बन्धी पहिलो संशोधन विधेयकलाई छलफलका लागि सम्बन्धित समितिमा पठाइनेछ। औद्योगिक व्यवसाय विकास प्रतिष्ठान पहिलो संशोधन विधेयकमाथि राष्ट्रियसभाबाट भएको संशोधनमाथि विचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुुत हुने संघीय संसद सचिवालयले जनाएको छ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।