ताजा अपडेट »

भारतले २६ प्रकारका औषधी निर्यात रोक्यो, नेपालमा असर

बुधबार, २१ फागुन २०७६, १२ : ५३
28 Shares

काठमाडौं । भारतले २६ प्रकारका औषधि र तिनको कच्चा पदार्थ विदेश निर्यातमा रोक लगाएको छ। चीनबाट सुरू भएर संसारका चार दर्जनभन्दा बढी मुलुकलाई प्रभावित पारेको कोरोना भाइरस (कोभिड-१९) का कारण आफ्नै लागि अभाव हुनसक्ने भन्दै मंगलबार वाणिज्य एवं उद्योग मंत्रालयको विदेश व्यापार महानिर्देशालयले यस्तो निर्णय गरेको हो। उत्पादक र सम्बद्ध व्यवसायीहरूले निर्वाध रूपमा गर्दै आएको औषधिको निर्यात व्यापारलाई अब सरकारले निगरानी पनि गर्ने भएको छ। अत्यावश्यक अवस्थामा निर्यात गर्न दिइने भनिए पनि २६ प्रकारका औषधिमध्ये कुनै पनि विदेश पठाउनुअघि अब व्यवसायीले पहिले जसरी छुट पाउने छैनन्। सरकारसँग इजाजत लिनुपर्नेछ। आन्तरिक मागलाई समीक्षा गरेरमात्रै सरकारले इजाजतको प्रक्रियामाथि विचार गर्ने समाचारमा भनिएको छ।

भारतीय औषधि व्यवस्था सम्बद्ध अधिकारीहरूले गत साता ५४ प्रकारका औषधि सम्बद्ध 'बल्क ड्रग्स' को समीक्षा गरेका थिए। तिनमा ३४ प्रकारका औषधिलाई अत्यावश्यक श्रेणीमा राखिएको छ, जसको निर्यात परिमाणमा सरकारले निगरानी सुरू गरिसकेको छ। फेडरेशन ऑफ फर्मा एंट्रेप्रेन्योर्सका कार्यकारी सचिव सुदेश कुमारका अनुसार कच्चा पदार्थको कमीका कारण भारतमा दुई सातामै औषधि उत्पादनमा लागत करिब ४० प्रतिशतले बढेको छ। तर सरकारले औषधिको बिक्री मूल्यमाथि सरकारको नियन्त्रण रहेकाले बजारमा भाउ बढ्न पाएको छैन। त्यसैले तत्कालका लागि औषधि महंगिएको स्थिति सर्वसाधारणले अनुभव गर्नु नपरेको उनले बताए। भारतीय औषधि उत्पादक कम्पनीहरूले ७० प्रतिशत कच्चापदार्थ चीनबाट आयात गर्दै आएका छन्। कोरोना फैलिएको वुहान क्षेत्र नै चीनको औषधि निर्यात कम्पनी रहेको ठाउँ हो। थोकको भाउमा कच्चा पदार्थ भारतमात्रै नभइ युरोपलगायतका औषधि उत्पादकलाई पनि पठाउने चीनबाट यतिबेला कारोबार बन्द छ।

ठूलो परिमाणमा कच्चा पदार्थ ल्याएर औषधि उत्पादन गरिरहेका भारतीय उदयोगका सञ्चालकहरू यतिबेला स्टक सकिएपछि आउने संकटको समीक्षामा जुटेका छन्।  भारतको वाणिज्य एवं उद्योग मंत्रालय अन्तर्गतको विदेश व्यापार महानिर्देशालयले २६ प्रकारका औषधि र तिनका कच्चा पदार्थ निर्यातमा प्रतिबन्ध लगाएको सूचीमा पारासिटामोल पनि छ। नेपाली औषधि उत्पादकले ८० प्रतिशत कच्चा पदार्थ भारतका ती कम्पनीबाट किन्छन्, जसले चीनबाटै खरिद गरेर ल्याउने गरेका छन्। कोरोनाले थलिएको चीनले 'बल्क' मा औषधिका कच्चा पदार्थ निर्यात बन्द गरेपछि भारतमा थोकमा प्रतिकिलो २५० पर्ने पारासिटामोल ४१५ पुगेको छ। प्रतिकिलो ३० हजार रूपैयाँ पर्ने एन्जिथ्रोमाइसिन ५५ हजार पुगेको छ। यस्तै अन्य अत्यावश्यकको श्रेणीमा रहेका कच्चा पदार्थको मूल्य पनि ५० प्रतिशतसम्म बढेको छ।

हिमाञ्चल प्रदेश फर्मा मेन्यूफेक्चरर्स एसोसिएशनका प्रमुख सल्लाहकार सतीश सिंघल भन्छन् 'चीनले भारतमात्रै होइन विश्वका धेरै देशलाई औषधिको कच्चा पदार्थ निर्यात गर्दै आएको हो, त्यहाँबाट पठाउन बन्द भएपछि युरोपेली देशहरूले भारतबाट बल्कमा औषधि मागिरहेका थिए।'भारतले बर्सेनि करिब तीन अर्ब ५० करोड डलरको औषधि आयात गर्छ भने २२ अर्ब ५० करोड डलरको निर्यात गर्ने गरेको छ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।