बुटवल । रुपन्देहीको बुटवल उपमहानगरपालिका-११ होराइजनचोक नजिकै बुधबार विहान आमासहित दुई छोरीको विभत्स हत्या भयो । हत्या भएको करिब साढे ३ घण्टापछि प्रहरी आएर अनुसन्धानका लागि घटनास्थल शिल गर्न थालेपछि मिलीजुली पथका बासिन्दा आश्चार्यमा परे । विहानसम्म शान्त रहेको मिलीजुली पथको ‘सुजन निवास’लाई पहेलो पट्टीले घेरेर प्रहरीले अनुसन्धान अघि बढाएपछि स्थानीयलाई बल्ल थाहा भयो उक्त घरभित्र एकाविहानै विभत्स घटना भएको थियो ।
विहान करिब ४ बजेको समयमा सुजन कोइरालाले आफ्नो पूर्वपत्नी सहित दुई छोरीहरुको विभत्स हत्या गरेको कुरा प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुल्न आउँछ । घरभित्र एउटै बिस्तरामा आमा ३५ वर्षीया दिपा बस्याल, छोरीहरु ७ वर्षीया स्नेहा र ४ वर्षीया हिमानी घाँटी रेटिएको विभत्स अवस्थामा मृत भेटिन्छन् । उक्त घटनामा संलग्न भएको आरोपमा ३५ वर्षीय सुजनलाई प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान अघि बढाउछ । अनुसन्धानबाट खुल्न आउँछ सुजनको विगत पनि आपराधिकनै थियो ।
ईलाका प्रहरी कार्यालय बुटवलका प्रहरी नायव उपरीक्षक इन्द्र बहादुर रानाका अनुसार सुजन आफ्नै दाजुको हत्या गरी जेलसमेत बसेका व्यक्ति हुन् । वि.स. २०६९ पौस महिनामा आफ्नै माहिलो दाजु सुदिप कोइरालाको हत्या गरेका सुजन २०६९ माघ २४ गते कारागार चलान भएका थिए । कारागारमा रहँदा राम्रो व्यवहार गरेको भन्दै वि.स. २०७८ असोज ३ गते (संविधान दिवस)को अवसरमा राष्ट्रपतिबाट सुजनले आममाफी पाएपछि उनी कारागारमुक्त भएका थिए ।
कारागार मुक्त भएपछि हस्तकलाका सामग्रीहरुको व्यापार गर्दै आएका सुजनले बुधबार विहानै आफ्नी पूर्व पत्नी दिपाको हत्या गरेका हुन् । पाल्पाको तानसेन नगरपालिका वडा नम्बर १ स्थित आफ्नो माइती घरमै बसेर स्वास्थ्यकर्मीको रूपमा कार्यरत दिपाको घर भने पूर्वीनवलपरासीको कावासोती रहेको छ । दिपाका श्रीमान शंकर ढकाल हाल रोजगारीका लागि दुबईमा रहेको उनका दाजु केशव ढकालले बताए ।
सुजन र दिपा बीच विवाह भएको ४ महिनामानै सम्बन्धविच्छेद भएको थियो । उनीहरु बीच प्रेम विवाह भएको थियो । सुजनले आफ्नै दाजुको हत्या गरेपछि दिपाले सम्बन्ध विच्छेद गरेर अहिलेको श्रीमानसँग घरजम गरी बसेको उनको पारिवारिक स्रोतले जानकारी दिए । दिपाले सुजनसँग सम्बन्धविच्छेद नै गरेर कावासोतीका शंकर ढकालसँग दोस्रो विवाह गरेकी थिइन् । हत्या गरिएका दुई छोरी हाल यूएईमा कार्यरत तिनै ढकाल र दीपाका हुन् ।
यसरी खुल्यो घटनाको रहस्य :
अभियुक्त सुजनलाई प्रहरीले घटनास्थलबाटै पक्राउ गरेको हो । उनीसँगै प्रहरी समक्ष खबर पुर्याउने अर्जुन रञ्जनलाई पनि नियन्त्रणमा लिएर प्रहरीले आवश्यक सोधपुछ गरेको छ । प्रहरीको प्रारम्भिक अनुसन्धान अनुसार सुजनको घरमा काम गर्न गएर अर्जुनले घटना थाहा पाएपछि प्रहरीलाई खबर गरेका थिए । अर्जुन प्लम्बर तथा वायरिङको काम गर्ने गर्दछन् । अर्जुनलाई अभियुक्त सुजनले किचन कोठामा रिपेयरको काम गर्न भनि विहान ६ बजे नै घरमा बोलाएका थिए । एकाविहानै सुजनको घरमा आएका अर्जुनले सुत्ने कोठाभित्र विभत्स अवस्थामा शव देखेपछि स्थानीय देवीनगर प्रहरी चौकीलाई फोन गरेर जानकारी गराएका थिए । देवीनगरबाट खटिएको प्रहरी टोलीले घटनास्थलमा पुगेर अवलोकन गरेपछि ईलाका प्रहरी कार्यालय बुटवलमा खबर गर्यो । यसलगत्तै जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रमुख प्रहरी उपरीक्षक प्रदिप बहादुर क्षेत्री आफू स्वयम् उपस्थित भएर घटनाको आवश्यक अनुसन्धानको प्रक्रियालाई अगाडि बढाएका थिए ।
पहिलो दिन घुमफिर, दोस्रो दिन हत्या
अभियुक्तसँगको बयान अनुसार दिपा दुई छोरी लिएर मंगलबार बेलुका सुजनको घरमा आएको खुलेको छ । सुजन जेलबाट निस्किएपछि विगत १ वर्ष लामो समयदेखि सम्बन्धमा रहेको बयान दिएका छन् । मँगलबार दिउँसो पनि दिपा र सुजन रुपन्देहीकै दानापुर तालमा घुम्न गएर आएका थिए । मँगलबार साँझ आफ्नै गरमा राखेका सुजनले बुधबार विहान दिपा घरबाट निस्किन नमानेपछि हत्या गरेको प्रहरी समक्ष बयान दिएका छन् । घटनास्थलको अवस्था र शवको प्रकृति हेर्दा दिपाको टाउकोमा गहिरो चोट हुनुका साथै घाटी रेटिएको अवस्थामा भेटिएकाले पहिले ह्याम्मरले टाउकामा हानेपछि घाटी रेटिएको उनको हत्या गरिएको प्रहरी अनुमान छ । यसैगरी घटना सार्वजनिक हुने भएपछि अभियुक्तले दुई छोरीहरुको पनि पालैपालो घाँटीमा छुराले रेटेर हत्या गरिएको प्रारम्भिक अनुसन्धानमा खुलेको छ ।
दिपाका परिवार (जेठाजु केशव ढकाल)का अनुसार ढकाल परिवार बुधबार हुने भान्जीको विहेका लागि व्यस्त थियो । विहेका लागि दिपालाई पनि बोलाइएको थियो भने त्यसैका लागि उनी बुटवल आएको हुन सक्ने परिवारको भनाई छ । भान्जीको विहेका लागि आएकी बुहारीसहित छोरीहरुको एकाविहानै हत्या भएको घटनाल सुन्नु परेको उनले बताए । ‘विदेशमा रहेका भाइलाई समेत के भनेर घटनाको जानकारी गराउने ?’–केशवले भने, भान्जीको विवाहमा आएकी बुहारी घरमा नआई किन अर्कैको घरमा आएर बसिन हामीले केही सोच्न सकेका छैनौँ ।’
प्रहरीका अनुसार सुजन जेलबाट छुटेपछि आफूले बनाएका हस्तकलाका सामग्री घरमै बिक्री गर्न थालेका थिए । टोल छिमेकीसँग पनि राम्रो व्यवहार देखाउँथे । डिभोर्स गरेर अर्कैसँग बिहेसमेत गरिसकेकी दीपा फेरि किन सुजनको घर गइन् भन्ने खुलेको छैन । उनीहरू फेरि कसरी नजिकिए र सुजनले दीपालाई कसरी आफ्नो घरमा बोलाए भन्नेबारे थप अनुसन्धान गर्न आवश्यक रहेको प्रहरी नायव उपरीक्षक राना बताउँछन् ।
सुजन र दीपा सम्पर्क हुने माध्यमसमेत खुलेको छैन । तर, केही समय अघिदेखि बेलाबेला एक जना महिला मास्क लगाएर सुजनको घरमा आउने गरेको छिमेकीहरूले बताएका छन् । दीपा र छोरीहरूको हत्यापछि सुजनले बिहान घरबाहिर छिमेकीसँग गफगाफ पनि गरेका थिए । सुजनको घर नजिकैकी पदमा राना भन्छिन्, ‘म बिहान घर बाहिर थिएँ, सुजनले दिदी नमस्ते भने, मैले के छ भाइ भन्दा ठीक छ भनेर भित्र गएका थिए । त्यसपछि म पूजा गर्न आफ्नो काममा गएँ । त्यसको केहीबेरमा प्रहरी आएपछि सबै थाहा भयो ।’
यस्तै, दीपाकी दिदी मन्जु अर्यालले पनि दीपा कसरी सुजनको घरमा गइन् भन्ने आफूले बुझ्न नसकेको बताइन् । ‘उनीहरू फेरि कसरी नजिकिए । उसले कसरी आफ्नै घरमा बोलाउन सक्यो । हामीले केही बुझ्न सकेका छैनौं,’ दिदी मन्जुले भनिन् ।
प्रतिक्रिया