बुटवल । कपिलवस्तुको शुद्धोधन गाउँपालिका-५ जयनगरामा ग्यास लिक भएर आगो लाग्दा एकै परिवारका दिदी-भाइकोको ज्यान गएको छ । पर्शुराम यादवको घरमा हिजा (आइतबार) खाना पकाउने क्रममा रेगुलेटरबाट ग्यास लिक भई आगलागी भएको थियो ।
आगलागीमा परी उनको २४ वर्षीय छोरा शिव कुमार यादव र १८ वर्षीया छोरी सोनम यादवको मृत्यु भएको हो । आगलागीबाट गम्भीर घाइते उनीहरुको उपचारको क्रममा ज्यान गएको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका प्रवक्ता प्रहरी नायव उपरीक्षक मोहन मणी अधिकारीले बताए । घरको भान्साकोठामा खाना पकाउने तयारी भइरहेकै बेला रेगुलेटर जडान गर्दा ग्यास लिक भई गोठमा बलेको आगोले समात्दा आगलागी भएको थियो ।
घटनाको खबर प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय हथिहवा दोहनीबाट प्रहरी टोली खटिएको थियो । स्थानीयवासीहरूको सहयोगमा आगो नियन्त्रणमा लिइएको थियो । दुबै गम्भीर घाइतेलाई उपचारका लागि तत्कालै भैरहवा स्थित मेडिकल कलेज लगिएको थियो । तर शिवकुमारलाई थप उपचारका लागि भारतको गोरखपुर मेडिकल कलेजमा लगिएको थियो । सोनमको भैरहवा र शिवकुमारको गोरखपुर लैजादैँ गर्दा बाटोमै मृत्यु भएको प्रहरीले जनाएको छ ।
मृतक सोनम यादव नेपाल राष्ट्रिय माध्यमिक विद्यालय, मुरफुटवामा कक्षा १० मा अध्ययनरत थिए ।
प्रतिक्रिया