बुटवल । रुपन्देहीको लुम्बिनी सांस्कृतिक नगरपालिका वडा नं। ११ जितवापुरमा दुई समुहका युवाबीच भएको कुटाकुटबाट एकजना घाईते भएका छन् । स्थानीयका अनुसार जेठ २ गते देखि जितवापुरमा चलिरहेको महायज्ञमा रहेका युवाहरु र वडा नंं। ५ मोहसड गाउँबाट गएका युवाहरुको समुहबीच शनिबार राति कुटपिट भएको हो ।
जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रवक्ता प्रहरी नायब उपरीक्षक सुरज कार्कीका अनुसार जितवापुरमा गत जेठ २ गतेदेखि महायज्ञ चलिरहेको थियो । उक्त महायज्ञ स्थलमा मोहसडका केहि युवाहरु रातिको समयमा गएर विवाद गर्दै आएका थिए ।
शनिबार राति पनि करिब १२ बजेतिर गएका युवाहरुको समुहले महायज्ञ स्थलमा रहेका युवाहरुसँग विवाद गरेपछि कुटपिट सुरु भएको थियो । कुटपिटको क्रममा स्थानीय विक्रम सिंह घाईते भएका छन् । विक्रमको हात खुट्टामा चोट लागेको र उनको भैरहवास्थित भिम अस्पतालमा उपचार भईरहेको प्रवक्ता प्रहरी नायब उपरीक्षक कार्कीले जानकारी दिए ।
अर्कै गाउँका युवाहरु महायज्ञ स्थलमा आएर कुटपिट गर्न थालेपछि इलाका प्रहरी कार्यालय लुम्बिनीको टोलीले दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा मोहसडका २७ वर्षीय कमरउद्धिन मुसलमान र २६ वर्षीय रोशन अली फकिर रहेका छन् ।
प्रहरी उपरिक्षक क्षेत्रीले पक्राउ परेकाहरुको साथबाट गोली नभएको एकथान कटुवा पेस्तोल समेत बरामद गरिएको जानकारी दिए । पक्राउ परेकाहरुलाई इलाका प्रहरी कार्यालय लुम्बिनीमा राखिएको र थप अनुसन्धान भईरहेको प्रवक्ता प्रहरी नायब उपरीक्षक कार्कीले बताए ।
प्रतिक्रिया