काठमाडौँ । भारतीय अभिनेता मुकुल देवको ५४ वर्षको उमेरमा निधन भएको छ । उनी केही समयदेखि बिरामी थिए र हालसालै आइसियुमा भर्ना भएका थिए । यद्यपि, उनको मृत्युको कारण अहिलेसम्म खुल्न नसकेको भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन् । मुकुल अभिनेता राहुलदेबका भाइ हुन ।
अभिनेता राहुलदेवले आफ्ना भाइ मुकुल देवको मृत्युको पुष्टि गरेका छन् । थुप्रै बलिउड कलाकारहरूले मुकुलको निधनमा दुख व्यक्त गरेका छन् । अभिनेता मनोज बाजपेयीले इन्स्टाग्राम मार्फत मुकुल देवको निधनप्रति गहिरो दुःख प्रकट गरेका छन्।
अभिनेता सोनु सुदले लेखेका छन्, “मुकुल भाइ तपाईँ एक अनमोल व्यक्तित्व हुनुहुन्थ्यो। सधैँ सम्झिरहनेछु।' नील नितिन मुकेशले पनि आफ्नो दुःख व्यक्त गर्दै राहुल देवको आत्माको चिर शान्तिको कामना गरेका छन्।
त्यस्तै अभिनेता विन्दु दारा सिंहले मुकुल देवसँगको आफ्नो भिडिओ सेयर गर्दै दुःख जताएका छन् । उनले क्याप्सनमा लेखेका छन्, ‘भाइ मुकुल देव। तपाईँसँग बिताएको समयलाई सधैँ सम्झिरहनेछु...।’
मुकुल हिन्दी, पञ्जाबी र दक्षिण भारतीय चलचित्रका साथै टेलिभिजन जगतमा पनि सक्रिय थिए । मुकुलले धेरै बलिउड चलचित्रमा पनि काम गरे । उनले चलचित्र ‘सन अफ सरदार’ मा टोनी सिंह सन्धुको भूमिका निभाएका थिए । यो भूमिकाबाट उनले विशेष पहिचान पाएका थिए । उनले ‘यमला पगला दीवाना’, ‘आर…राजकुमार’ र ‘जय हो’ जस्ता चलचित्रहरूमा पनि महत्त्वपूर्ण भूमिका मा रहेर अभिनय गरेका छन् ।
मुकुलको जन्म १७ सेप्टेम्बर १९७० मा नयाँ दिल्लीको एक पञ्जाबी परिवारमा भएको थियो । उनले सन् १९९६ मा टिभी सिरियल ‘मुमकिन’बाट अभिनयमा डेब्यू गरेका थिए । जसमा उनले विजय पाण्डेको भूमिका निर्वाह गरेका थिए । उनी ‘एक से बढर एक’ शोमा पनि देखिएका थिए । उनी ‘फियर फ्याक्टर इन्डिया’को पहिलो सिजनको होस्ट समेत रहेका थिए ।
मुकुलले सन् १९९६ मा चलचित्र ‘दस्तक’ बाट चलचित्रमा डेब्यू गरेका थिए । यस चलचित्रमा उनले एसीपी रोहित मल्होत्राको भूमिका निर्वाह गरेका थिए । पछि उनी ‘कहानी घर घर की’ र ‘कभी कभी प्यार कभी कभी यार’ लगायत धेरै चलचित्र र टिभी कार्यक्रमहरूमा देखा परे । हिन्दीबाहेक उनले पञ्जाबी, बङ्गाली, मलयालम, कन्नड र तेलुगु भाषाका ६० भन्दा बढी चलचित्रमा काम गरिसकेका छन् ।
उनी अन्तिम पटक सन् २०२२ मा चलचित्र ‘एन्ट द एन्ड’ मा ठूलो पर्दामा देखिएका थिए । टिभीमा उनी सन् २०१८ को सिरियल ‘२१ सरफरोश’ मा गुल बादशाहको भूमिकामा देखिएका थिए । जबकि सन् २०२० मा उनी ओटीटीमा प्रसारित वेब शृङ्खला ‘स्टेट अफ सिज: २६/११’ मा देखिएका थिए ।
प्रतिक्रिया