ताजा अपडेट »

नीति तथा कार्यक्रम कार्यान्वयन गर्न सरकार पूर्ण प्रतिबद्ध छ: मुख्यमन्त्री आचार्य

शनिबार, १० जेठ २०८२, २० : ४१
22 Shares
शनिबार, १० जेठ २०८२
22 Shares

दाङ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले नीति तथा कार्यक्रमलाई पूर्ण रूपमा कार्यान्वयन गर्न प्रदेश सरकार प्रतिबद्ध रहेको बताएका छन् ।

लुम्बिनी प्रदेश सभाको छैठौं अधिवेशनको आठौं बैठकलाई शनिबार सम्बोधन गर्दै मुख्यमन्त्री आचार्यले नीति तथा कार्यक्रम कार्यान्वयनका लागि सरकार दृढ रहेको स्पष्ट पारे । उनले नीति तथा कार्यक्रम कार्यान्वयनको अनुगमन गर्न प्रभावकारी व्यवस्था मिलाइने जानकारी पनि दिए ।

‘रचनात्मक सुझाव प्राप्त भएको छ । छलफलमा सहभागी हुने सबै माननीयज्यूहरूलाई हार्दिक धन्यवाद दिन चाहन्छु । यहाँहरूले दिएका सुझावलाई भोलिका दिनमा कार्यक्रमिक ढंगले अघि बढाउन सकिनेछ । ती सुझावहरूलाई सरकारको तर्फबाट विषयगत मन्त्रालयमार्फत सम्बोधन गर्ने प्रयास गरिनेछ,’ मुख्यमन्त्री आचार्यले भने ।

उहाँले नीति तथा कार्यक्रम सरकारलाई दिशानिर्देश गर्ने प्रमुख दस्तावेज भएको उल्लेख गर्दै आगामी आर्थिक वर्षको बजेटमा कार्यक्रमगत र आयोजनागत सम्वोधनसहितको विनियोजन विधेयक प्रस्तुत गरिने जानकारी दिए ।

‘यसपटकको नीति तथा कार्यक्रम वास्तविक धरातलमा आधारित छ । हामीले कार्यान्वयन योग्य नीति तथा कार्यक्रम ल्याएका छौं । विगतका योजनाहरूको विश्लेषण, साधन(स्रोतको सीमा, अन्तरसम्वन्ध तथा तीन तहका सरकारबीचको समन्वय र साझेदारीको संवैधानिक दायरा मनन गरेका छौं,’ उनको भनाइ छ ।

मुख्यमन्त्री आचार्यले सरकार अहिले बस्तुनिष्ठ र कार्यान्वयन योग्य बजेट बनाउने तयारीमा रहेको पनि जानकारी दिए ।

दुई दिनसम्म चलेको छलफलमा ४० जना प्रदेश सभा सदस्यहरूले सुझावसहित आफ्नो धारणा प्रस्तुत गरेका थिए ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।