ताजा अपडेट »

वन उपभोक्ताको हकहित सुरक्षित गर्न सरकार प्रतिबद्ध : मुख्यमन्त्री आचार्य

शनिबार, १० जेठ २०८२, १५ : ३०
26 Shares
शनिबार, १० जेठ २०८२
26 Shares

दाङ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले सामुदायिक वन उपभोक्ताहरूको हकहित सुरक्षित गर्न सरकार दृढ रहेको बताएका छन् । 

सामुदायिक वन उपभोक्ता महासंघ लुम्बिनी प्रदेशको पहिलो परिषद् भेलाको अर्घाखाँचीको सातमारामा शुक्रबार उद्घाटन गर्दै मुख्यमन्त्री आचार्यले सामुदायिक वन उपभोक्ता महासंघमा आवद्ध सदस्यहरू आन्दोलनको नाममा भावनामा बग्न जरुरी नरहेको बताउँदै सरकार उपभोक्ताको हकहित सुरक्षित गर्न प्रतिबद्ध रहेको उल्लेख गरेका हुन् ।

व्यक्तिहरूले नियोजित रूपमा सरकार र सामुदायिक वन उपभोक्ता महासंघको बीचमा दूरी बढाउने काम गरेको उल्लेख गर्दै यस्ता प्रवृत्तिबाट सचेत रहनुपर्ने धारणा पनि मुख्यमन्त्री आचार्यले व्यक्त गरे ।

लुम्बिनी प्रदेश सरकारले सामुदायिक वन उपभोक्ता महासंघले उठाएका मागहरूको बारेमा वार्ताबाट निकास निकाल्न निरन्तर छलफल गर्दै आएको छ । सरकारले वार्ताबाट समाधान खोजिरहेको समेत जानकारी दिइएको छ ।

प्रदेश सरकारले वन क्षेत्रलाई प्रमुख राजस्व संकलनको स्रोतको रूपमा लिँदै आएको छ तर, विभिन्न समयमा भएका आन्दोलनहरूले राजस्व संकलन र परिचालनको काममा असर पार्दै आएका छन् । अब सरकारले निकास निकालेर उपभोक्ताको हितरक्षाका साथै सहकार्यको वातावरण तयार पार्ने गरी भूमिका बढाएको हो ।

सामुदायिक वन उपभोक्ता महासंघ लुम्बिनीका अध्यक्ष कल्पना भण्डारीको अध्यक्षता तथा मुख्यमन्त्री चेतनारायण आचार्यको प्रमुख आतिथ्यमा परिषद्को उद्घाटन कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रममा लुम्बिनी प्रदेशका प्रदेश सभा सदस्य, मन्त्रालयका जिम्मेवार प्रतिनिधि तथा सामुदायिक वन उपभोक्ता महासंघका प्रतिनिधिहरूको सहभागिता रहेको थियो ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।