ताजा अपडेट »

लीलाधरको ‘आँखाको नानी’मा बस्दा

शनिबार, १० जेठ २०८२, १५ : ५७
120 Shares
शनिबार, १० जेठ २०८२
120 Shares

लीलाधर पाण्डेय ’प्रतीक’ मेरा मिल्ने साथी हुन् । रुपन्देही,तिलोत्तमामा उनको स्थायी बसोबास छ । यतिबेला उनी कान्ति मावि,बुटवलमा पढाउँछन् । पढाउने उनको खास काम हो । तैपनि,फुर्सदमा साहित्यिक कर्ममा समय गुजार्छन् । 

मुक्तक लेखनमा उनको अघोरै रहर छ । त्यहि भएर हो उनले अघिल्लो शनिवार आफ्नो कान्छोकृति ‘आँखाको नानी’ सबैकाबीच लोकार्पण गरे । उनको जेठो मुक्तकसंगह ‘शिरको शिरफूल’ सम्वत् २०७३ मा प्रकाशित भइसकेको छ ।

मुक्तकमा विद्यावारिधि गरेका डा.मुरारि पराजुलीले उनको मुक्तकसंगह ‘आँखाको नानी’मा प्रशंसामात्र गरेका छैनन् बरु उनले प्रतीकलाई माथिल्ला कोटिका मुक्तक लेख्ने मुक्तककार हुन सक्ने सम्भावना बोकेका मुक्तककारका रुपमा दर्ज गरेका छन् । प्रतीक यस क्षेत्रमा भेटिने मुक्तककारभित्रका एक सशक्त मुक्तककार हुन् । यति लेखिसकेपछि उनको मुक्तक नपढी धरै छैन ।

‘आँखाको नानी’मा एकसय ४४ वटा रुबाई शैलीका मुक्तकहरु समाहित छन् । मुक्तक लेख्न र वाचन गर्न खुबै मन पराउने लीलाधर प्रतीक,यतिबेला तिलोत्तमा साहित्य,कला,संगीत प्रतिष्ठानमा महासचिवका रुपमा गतिशील छन् । उनी भन्छन्–समाजमा रहेका बग्रेल्ती वेथितिलाई मुक्तकमार्फत् झटारो हान्न खुबै मन पर्छ । छोटो समयमा कडाकासाथ प्रस्तुति दिन सकिने एउटा गतिलो साहित्यिक माध्यम नै मुक्तक हो । मुक्तकले मान्छेको मन छुन्छ,जुरुक्कै उचाल्छ र क्रान्तिकारी बनाउन सक्छ ।

मुक्तक, छोटो कविता हो अर्थात् कविताको लघुतम रुप नै मुक्तक हो । नेपाली समाजमा यसले विशिष्ट स्थान हासिल गर्दैछ । थोरै समयमा,धेरै कुरा गर्न र खुत्रुक्कै पार्न सक्ने कडा उपविधा नै मुक्तक हो । फुर्सद नहुँदा सुन्न सकिनेमात्र होइन,मुटु नै छुने गरी प्रहार गर्न सकिने मुक्तकले दुनियाँलाई चकित बनाइदिन्छ । पोखरामा २०३५ सालतिर टिकटमा मुक्तक सुनाउने र सुन्ने संस्कृति थियो । यसको अर्थ मुक्तक कति शक्तिशाली थियो भनेर भनिरहन पर्दैन कि !

प्रतीक लेख्छन् यसरी मुक्तक
फूलभन्दा शोभायमान केही हुँदैन
अनुभवभन्दा ठूलो ज्ञान केही हुँदैन
यो तथ्य हो हजुर विश्वासको गर्नैपर्छ
समयभन्दा बलवान् केही हुँदैन ।

माथिको मुक्तकले संसारमा मानिसको ठूलो ज्ञान,अनुभवबाटै प्राप्त हुने प्रयोगात्मक कुरा गरेका छन् । उनले समयभन्दा ठूलो अरु कुनै बलवान् कुरा नहुने बताएका छन् । जति महँगो घडी लगाएपनि समय नै मूल्यवान हुने कुरा कसैले भुल्नु हुँदैन । उनको यो मुक्तकले भावना र प्रयोगको फ्युजन गरेको छ । उनी प्रयोगवादी मुक्तककार समेत हुन् ।

मुक्तकमा उनले देशको बेथिति ,विसंगतिप्रति कडा आलोचना गरेका छन् । राजनीतिप्रति उनको ठूलो गुनासो छ । मुक्तकमा उनले नेता र नेतृत्वलाई दनक दिएका छन् । उनी लेख्छन् –

सरकार परिर्वतन निक चाँडो हुन्छ मेरो देशमा
नेतृत्वलाई निष्ठा जहिले घाँडो हुन्छ मेरो देशमा
अन्त कतै नभन्नु ! देशको इज्जतको सवाल छ
राजनीति कमाई खाने भाँडो हुन्छ मेरो देशमा ।

मुक्तक सुन्न सजिलो तर लेख्न कठिन हुन्छ । रुबाई शैलीमा प्रतीकले लेखेको मुक्तकमा औत्सुक्य र बैठानको राम्रो निर्वहण देखिन्छ । यो उनको निरन्तरको अभ्यास र प्रयासबाट नै सम्भव भएको हो । वाचनमा प्रख्खरता छ प्रतीकको । लेख्नमा निख्खरता खोजिरहेको छ थप । यो केवल आलोचनाका लागि भनिएका होइनन् । प्रयत्नलाई पहाड बनाएर प्रयोग गर्न यसो भनिएको सत्य हो ।

स्नेहील प्रेममा डुबेका छन् कतै उनै प्रतीक । माया,प्रेम र ममताका कुरा समेत मुक्तकमा उठान गरेका छन् । प्रेमविनाको संसार र संसारविनाको प्रेममा अनेकार्थ छन् । उनले प्रेमको तीर हानेका छन् मुक्तकमार्फत् ।
मेरो प्यास अनि भोक तिमी थियौ
गन्तव्यमा पुग्ने चोक तिमी थियौ
तिम्रो लागि क के थिएँ थाहा भएन
कुनैबेला मेरो सबथोक तिमी थियौ ।

मलाई लाग्छ,प्रतीकमा प्रेमको सागर छ । त्यहि सागरमा उनी पौडी खेलिरहेका छन् । खुसीका लागिमात्र होइन,समाजलाई ब्युँताउन उनले मुक्तकको सहायता लिइरहेका छन् । उनको मुक्तकसंग्रह ‘आँखाको नानी’ सबैका लागि आँखाकै नानी बन्न सकोस् । शुभेच्छा ।
 
 

 

 

 

 

दलबहादुर गुरुङ
लेखकको बारेमा
दलबहादुर गुरुङ
स्तम्भकार