दमौली (तनहुँ । पृथ्वीराजमार्गअन्तर्गत तनहुँको व्यास नगरपालिका–३ र ४ जोड्ने मादी नदी पुलबाट गए राति ११ः३० बजे जिप खस्दा तीन जनाको ज्यान गएको छ ।
दमौलीबाट चापाघाटतर्फ जाँदै गरेको ग२च ५७६० नम्बरकोे बाेलेराे जिप पुलको रेलिङ भत्काएर मादी नदीमा खसेको हो । दुर्घटनामा अन्य दुई जना घाइते भएका छन् । घाइतेहरूको दमौली अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक राजु अधिकारीले जानकारी दिएका छन । उक्त जिपमा पाँच जना सवार थिए ।
दुर्घटनामा मृत्यु हुनेमा व्यास–५ का ३५ वर्षीय प्रविन थापामगर, सोही ठाउँका २२ वर्षीय कुमार थापा र २० वर्षीय कुशल थापा रहेका प्रहरीले जनाएको छ । उनीहरुको दमौली अस्पतालमा मृत्यु भएको हो ।
घाइतेमध्ये एक जनाकाे अवस्था गम्भीर रहेकाले थप उपचारका लागि पोखरा पठाउने तयारी गरिएको जनाइएकाे छ । दुर्घटनामा बाेलेराे चालक सामान्य रहेका छन् । दुर्घटनाका घाइतेलाई नेपाली सेनाको कालीभञ्जन गण (इ), नेपाल प्रहरी र स्थानीयले उद्धार गरेका थिए
प्रतिक्रिया