ताजा अपडेट »

भैरहवा विमानस्थलमा आपत्‍कालीन उद्धार अभ्यास सम्पन्न् (फाेटाे फिचर)

मंगलबार, ०६ जेठ २०८२, १० : ३८
62 Shares
फाेटाेः डिपि भण्डारी
मंगलबार, ०६ जेठ २०८२
62 Shares

बुटवल। भैरहवा स्थित गाैतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा सोमबार ‘बम थ्रेट’ सम्बन्धी आपत्कालीन नमुना उद्धार अभ्यास सम्पन्न गरिएको छ । कुनै पनि उडानमा बम भेटिएको अवस्थामा विमान, यात्रु र चालक दलका सदस्यलाई कसरी सुरक्षित रूपमा अवतरण गराउने भन्ने सम्बन्धी अभ्यास कार्य सम्पन्न गरिएको हो। अभ्यास विमानस्थलको दक्षिणपट्टि रहेको उद्धार तथा अग्नि नियन्त्रण परिसरमा सम्पन्न गरिएको थियो । 

आपत्कालीन अवस्थामा गरिनुपर्ने सबै पूर्व तयारी पूरा गरिसकेपछि मात्रै नमुना उद्धार अभ्यास कार्य गरिएको हो । उक्त अभ्यासका लागि सोमबार बिहान विमानस्थल कर्मचारी, नेपाली सेना, सशस्त्र र नेपाल प्रहरीका साथै आपत्कालीन अवस्थामा चाहीने सरोकारवाला निकायका सबै प्रतिनिधिहरू सहभागी भएका थिए ।

DP Studio (33)

अभ्यासका समयमा समन्वय र उद्धारका निम्ति विभिन्न टोली तयारी अवस्थामा थिए भने अभ्यासका दौरान टोलीले आफ्नो जिम्मेवारी कसरी निर्वाह गर्छन् भन्ने पनि देखाइएको थियो । दमकल, एम्बुलेन्स लगायत आपत्कालीन उद्धार उपकरणहरू उद्धारका लागि तम्तयार अवस्थामा राखिएका थिए ।

विमानस्थलमा रहेको पुरानो जहाजमा बमको नमुना राखेर आपत्कालीन अवस्थामा कसरी उद्धार र समन्वय गर्ने  भनेर अभ्यास गरिएको हो । विमानस्थलकै कर्मचारीलाई यात्रु बनाएर उनीहरूलाई सुरक्षाकर्मीले जहाजबाट सुरक्षित रूपमा बाहिर निकालेको अभ्यास गरेका थिए । यात्रुहरूको स्वास्थ्य र मानसिक अवस्था बुझेर आवश्यक उपचार को अभ्यास पनि गरिएको थियो ।

DP Studio (202)

अभ्यासका लागि नमुना रूपमा मलेसियाबाट उडान भरेको जहाजमा बम राखिएको  कल्पना गरी सोही अनुसार खबर आएको अवस्थाको वातावरण तयार गरिएको थियो । उक्त खबर लगत्तै भैरहवास्थित विमानस्थलमा आपत्कालीन अवस्थाको सिर्जना गरिएको थियो । आपत्कालीन अवस्था सिर्जना भएपछि विमानस्थल व्यवस्थापनसँगै प्रमुख जिल्ला अधिकारी, सुरक्षा प्रमुख, रेडक्रस, स्वास्थ्यकर्मी उपस्थित थिए । सबै निकायलाई उनीहरूको भूमिका तय गरेर जिम्मेवारी तोकिएको थियो ।

विमानस्थल  सुरक्षामा रहेको नेपाली सेनाको टोलीले जहाजमा रहेको बम डिस्पोज गरेको देखाइएको थियो । भैरहवास्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलले प्रत्येक वर्ष यस्तो नमुना अभ्यास गर्दै आएको बताउँदै विमानस्थलका सूचना अधिकारी विनोद रावतले ‘यस पटक आंशिक रूपमा बम थ्रेट आएको अवस्था परिकल्पना गरेर अभ्यास गरिएको बताए ।

DP Studio (77)DP Studio (74)DP Studio (72)DP Studio (58)DP Studio (62)DP Studio (41)DP Studio (54)DP Studio (47)

 

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।