ताजा अपडेट »

बालेनले ‘सरी केपी ओली’ भन्दै फेसबुकबाटै फर्काए जवाफ

सोमबार, ०५ जेठ २०८२, २० : ५६
210 Shares
सोमबार, ०५ जेठ २०८२
210 Shares

काठमाडौँ । सिंहदरबारमा आयोजित एक बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाह उपस्थित नभएको भन्दै कटाक्ष गरेपछि शाहले पनि फेसबुकबाटै जवाफ फर्काएका छन् ।

उनले फेसबुकबाट ‘सरी केपी ओली’ भन्दै आफू्ले भ्रष्ट सिस्टमलाई सहयोग गर्न नसक्ने बताएका हुन् । ‘जुन देशमा राजधानीको मेयरले भ्रस्टचार रोक्छु भन्दा, देशको सवै पार्टीको सबै लागेर भ्रस्टचारी जोगाउछु भन्छ र त्यस्को नाइकेको कार्यक्रममा म गैदिनु पर्ने’, उनले सोमबार साँझ फेसबुकमा भनेका छन् ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा बसेको गणतन्त्र दिवस मूल समारोह समितिको बैठकमा मेयर शाह नदेखिएपछि ओलीले खोजी गरेका थिए । उक्त बैठकमा मेयर शाह सहभागी नभएर उपमेयर सुनिता डंगोल सहभागी थिइन् ।

दिउँसो ओलीले बालेनलाई लक्षित गर्दै भनेका थिए, ‘कहिले पनि नआउने, नाम राखिरहनुपर्ने। मानका खातिर मानको चलन चाहिँ छोड्दा पनि हुन्छ की क्या हो। कोही कोही मान्छे हरेक फंग्सनमा राख्ने गर्दछौँ। कहिल्यै देखा पर्दैन। त्यस्तो खालको मान्छे खोज्यो भने भेटिन्छन् की जस्तो लाग्छ। कहिले पनि नआउने, नाम सधैँ टाँस्नुपर्ने, कुनै अर्थ छैन, महत्व नै छैन, अर्थ नै छैन भने सधैँ नाम झुन्ड्याइरहने नगरे पनि हुन्छ। आउनुपर्ने नआइदिने, बोलाउने सधैँ बोलाइराख्नुपर्ने। यस्तो हुँदैन।’

अर्को पल्टसम्ममा सोधीखोजि गर्न र रेकर्ड हेरेर एक पटक पनि नआउनेलाई नाम नराख्न ओलीको निर्देशन थियो। ‘हरेक पटक इतिहास बनिरहने, नाम छापिरहनुपर्ने, मान्छे नआउने’, ओलीले बालेनलाई लक्षित गर्दै भनेका थिए।

बैठकमा प्रधानमन्त्रीले बालेन शाहको नाम नलिए पनि यस्ता महत्त्वपूर्ण बैठकमा काठमाडौंकै जनप्रतिनिधि नै अनुपस्थित हुनु राम्रो नभएको भन्दै आगामी बैठकहरूमा उपस्थित हुन निर्देशन दिएका थिए ।

प्रधानमन्त्री ओली र मेयर बालेनबीच लामो समयदेखि वाकयुद्ध छ। बालेनले महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईंमाथि छानबिन गरी विवादित भन्दै फिर्ता गरेर अर्को प्रमुख प्रशासकीय अधिकृत खटाइदिन भनेका थिए। संघीय सरकारले उनै गुरागाईँलाई बलपूर्वक कार्यालयमा प्रवेश गराएपछि बालेन रुष्ट छन्।

Screenshot 2025-05-20 004612

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।