ताजा अपडेट »

सगरमाथामा फहरायो ‘लैङ्गिक हिंसाविरुद्ध’को नारासहितको ब्यानर

सोमबार, ०५ जेठ २०८२, १६ : ०५
24 Shares
सोमबार, ०५ जेठ २०८२
24 Shares

काठमाडौं । प्रहरी सहायक निरीक्षक कुन्जाङ छोपेल शेर्पाले सर्वोच्च शिखर सगरमाथाबाट ‘लैङ्गिक हिंसाविरुद्ध’ को नारासहितको ब्यानर फहराएका छन् । आज बिहान ८ बजेर ५६ मिनेटमा शिखरमा पुग्नुभएकी शेर्पाले नेपालको राष्ट्रिय झन्डा, नेपाल प्रहरी र उक्त नारासहितको ब्यानर फहराएको नेपाल प्रहरीले जनाएको छ । प्रसनि शेर्पा प्रहरी प्रधान कार्यालय साइबर ब्यूरोमा कार्यरत छन् ।

प्रहरी महानिरीक्षक दीपक थापाले गत चैत २५ गते शुभकामनासहित उक्त झन्डा र ब्यानर हस्तान्तरण गरेका थिए । प्रसनि शेर्पासहितको आरोहण दल गत चैत २८ गते काठमाडौँबाट सगरमाथातर्फ प्रस्थान गरेको थियो । यसअघि नेपाल प्रहरीको प्रतिनिधित्व गर्दै पहिलोपटक प्रहरी वरिष्ठ नायब निरीक्षक पुरुषोत्तम नेपालीले २०८० जेठ २ गते सगरमाथाको सफल आरोहण गरेका थिए ।

विसं २०३१ मा नेपाल प्रहरीको नौ सदस्यीय टोलीले छ हजार ९२० मिटर उचाइको टुकुचे हिमाल सफलतापूर्वक आरोहण गरेको थियो । साथै २०३३ असोज १६ गते नेपाल प्रहरी कर्मचारीको २७ सदस्यीय टोली र २०४१ भदौ २६ गते नेपाल प्रहरी महिला दलको ३१ सदस्यीय टोलीले छ हजार ११९ मिटरको लोबुचे हिमाल सफलातापूर्वक आरोहण गरेका थिए ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।