काठमाडाै । चर्चित नेपाली सांगितिक व्यान्ड नेपथ्यले अमेरिकाकाे अस्टिन सहरका दर्शकलाई लोकरक धुन सुनाउँदै यस वर्षको अमेरिका यात्रा प्रारम्भ गरेको छ। टेक्सासको राजधानी सहरस्थित हल ‘इमोज’ मा शनिबार बेलुकी नेपथ्य कन्सर्ट भएको हाे।
नेपथ्यले भर्खरै सार्वजनिक गरेको गीत ‘कर्नालीका छाइला’लाई ब्यान्डले यसै कन्सर्टमा पहिलोपटक सार्वजनिक गाएर सुनाएको थियो। नयाँ गीत सुनिरहँदा दर्शक उत्साहित देखिन्थे। यो प्रस्तुतिसँगै यो गीत अब युट्युबमार्फत सबैले निःशुल्क सुन्न र हेर्न पाउनेब्यान्डले घोषणा समेत गरेको छ। यसअघि एक सातासम्म नेपथ्यप्रेमीले यो गीत पैसा तिरेर सुन्दै आएका थिए।
‘ब्यान्डलाई भरथेग गर्न मन पराउने दर्शकका लागि हामीले पहिलोपटक गरेको सशुल्क हेर्न पाउने व्यवस्था धेरैले रुचाएको पाइयो,’ नेपथ्यका व्यवस्थापक संस्था नेपालयका किरणकृष्ण श्रेष्ठले प्रतिक्रिया दिए, ‘आम दर्शकबाट नेपथ्यप्रति प्रस्तुत यो संरक्षकत्वलाई हामी हार्दिकताका साथ स्वागत गर्छौं।’ यो गीत सुनेबापत ब्यान्डलाई आर्थिक सहयोग गर्न चाहनेका लागि भने ‘डिजिटल पेमेन्ट’ को ढोका खुलै राखिएको छ।
कन्सर्टका लागि स्थानीय समयअनुसार बेलुकी ८ बजे इमोज हलका ढोकाहरू खुलेका थिए भने त्यसको ठीक एक घण्टापछि पर्दामा ‘सा कर्णाली’ र ‘मै मरिजाऊँला’ गीत बज्न सुरु भएको थियो। त्यसलगत्तै मञ्चमा उपस्थित ब्यान्डले ‘कोसीको पानी’ बाट प्रस्तुति सुरु गरेको थियो। आठौं क्रममा ‘शिरफूल’ सुनाए लगत्तै ब्यान्डले ‘कर्नालीका छाइला’ प्रस्तुत गरेको थियो।
अमेरिका यात्राको दोस्रो प्रस्तुतिका लागि ब्यान्ड दक्षिणवर्ती राज्य टेक्सासबाट क्यानाडासँग सिमाना जोडिएको उत्तरी वासिङटन राज्य पुग्दै छ। उक्त राज्यको सबै भन्दा ठुलो सहर सियाटलमा मे २३ मा नेपथ्य प्रस्तुत हुने तयारी छ। त्यो दिन त्यहाँको ‘मुर थिएटर’ मा बेलुकी ठीक ७ बजे हलका ढोकाहरू खुला गरिनेछन्।
त्यसपछि ब्यान्ड मे २६ मा क्यालिफोर्नियाको लस एन्जलस, ३१ मा पेन्सिलभेनियाको पिट्सबर्ग, जुन ७ मा इलिनोइसको सिकागो, ११ मा म्यासाचुसेट्सको बोस्टन हुँदै अन्तिममा जुन १४ मा नर्थ क्यारोलाइना राज्यको ग्रिन्सबोरो सहरमा प्रस्तुत हुनेछ।
प्रतिक्रिया