ताजा अपडेट »

मेलिन पर्किन्सः 'क्यान्भा' मार्फत एडोबीको साम्राज्य हल्लाउने १९ वर्षीया युवती

मंगलबार, ०६ जेठ २०८२, ०७ : १५
4 Shares
मंगलबार, ०६ जेठ २०८२
4 Shares

काठमाडौँ । एडोबी वर्षौंदेखि डिजाइन उद्योगमा बजारको शीर्ष स्थानमा रहँदै आएको छ । धेरै कम्पनीले एडोबीलाई हराउने प्रयास गरे । तर पराजित गर्ने सामर्थ्य कसैले राखेनन् । अर्बौं डलरका दिग्गज माइक्रोसफ्ट र एप्पलजस्ता कम्पनी पनि त्यही लयमा लागे । उत्कृष्ट प्रतिभा र स्रोत अनि विन्डोज र म्याकको विशाल वितरण सञ्जाल हुँदाहुँदै पनि उनीहरूले एडोबीको एकाधिकार तोड्न सकेनन् । त्यसबाहेक अन्य प्रतिस्पर्धी पनि मैदानमा थिए ।

यही प्रतिस्पर्धाको जञ्जालमा एक १९ वर्षीया युवती मेलानी पर्किन्सको उदय भयो । प्रविधिको त्यति ज्ञान नभएकी उनले सञ्चार र मनोविज्ञान पढेकी थिइन् । उनकै रचनात्मक क्षमताले दिग्गज एडोबीलाई हराउने आँट गर्‍यो । र, २०१२ मा उनले आफ्नो प्रडक्ट लन्च गरिन् । त्यो हो तपाईं हामीले अहिले डिजाइनका लागि प्रयोग गर्दै आएको ‘क्यान्भा’ ।

किशोरावस्थामा अष्ट्रेलियाली उद्यमी पर्किन्स र उनका प्रेमी क्लिफ ओब्रेक्टले माइक्रोसफ्ट र एडोबीजस्ता कम्पनीलाई चुनौती दिने सपना देखेका थिए । “मलाई लाग्छ हाम्रो लक्ष्य सम्पूर्ण डिजाइन इकोसिस्टमलाई एउटै पेजमा एकीकृत गर्ने र त्यसपछि यसलाई सम्पूर्ण सबैका लागि पहुँचयोग्य बनाउनु थियो,” पर्किन्सले एक अन्तर्वार्तामा भनेकी थिइन् ।
२००७ मा खिचिएको मेलिन पर्किन्स र उनका प्रेमी क्लिफ ओब्रेक्टको फोटो

क्यान्भाको अवधारणा एकदमै सरल थियो । त्यो हो, ‘सबैका लागि डिजाइन ।’ तर क्यान्भालाई वास्तविकतामा ल्याउनु त्यति नै गाह्रो थियो । “मलाई लाग्छ त्यो साँच्चै चुनौतीपूर्ण समय थियो । किनभने हामी एउटा प्रडक्ट कम्पनी थियौं र हामीले प्रडक्ट बजारमा ल्याइरहेका थिएनौं,” पर्किन्सले भनिन् । धेरै लगानीकर्ताहरूले उनको हाँसो उडाए । १०० भन्दा बढी भेन्चर क्यापिटलिस्टले उनको विचार अस्वीकार गरे । “त्यो क्षण साँच्चै गाह्रो थियो । हामीले सयौं लगानीकर्तालाई प्रस्ताव गर्‍यौं । तर, पटक-पटक अस्वीकृत भयौं । यो त्यसबेला साँच्चै दिक्कलाग्दो थियो,” उनले सुनाइन् । 

उनीहरूले प्राविधिक टोली खोज्नमै तीन वर्ष लगाए । उनीहरू त्यस्तो टिमको खोजीमा थिए, जसले पर्किन्स र उनका प्रेमीको सपनालाई वास्तविक स्वरूपमा ढाल्न सकून् । मेलानी पर्किन्सले एक अन्तर्वार्तामा भनेकी थिइन्, “तीन वर्षसम्म लगानीकर्ताहरूलाई प्रस्ताव गर्ने, प्राविधिक टोली खोज्ने प्रयास गर्‍यौं । हामीले अन्ततः २०१२ मा ती काम पूरा गर्यौं । र त्यसपछि एक वर्ष प्लेटफर्म विकासमा लाग्यो ।”

उनीहरूको प्रडक्ट बजारमा आइसकेपछि दिग्गज एडोबीले कयौं पटक क्यान्भालाई समाप्त गर्ने अनेक प्रयास गर्‍यो । उसका धेरै फिचर नक्कल गर्‍यो । तर पनि पर्किन्सले केही यस्तो गरिन् जसले गर्दा आज क्यान्भासँग २० करोड बढी प्रयोगकर्ता छन् । यसको बजार मूल्य ४० अर्ब डलर छ । र आज मेलानी पर्किन्स विश्वकै सबैभन्दा कान्छी महिला अर्बपतिहरूमध्ये एक हुन् ।

unnamed (2)

२०१३ मा सेवा दिने गरी सञ्चालन गरेको पाँच वर्षपछि यसको बजार मूल्य एक अर्ब डलर पुग्यो । कम्पनीले यो स्तरको चर्चा र आम्दानी गरेपछि उनी केवल ३० वर्षको उमेरमा विश्वकै सबैभन्दा कान्छी महिला टेक युनिकर्न संस्थापकमध्ये एक बनिन् ।

आखिर यो सब कसरी भयो ? एक १९ वर्षीया युवतीले डिजाइनमा यस्तो के देखिन्, जुन त्यसबेला सबैले कल्पना गरेको विचारभन्दा बाहिर थियो ? पर्किन्स र उनका प्रेमीले आखिर कुनै प्राविधिक ज्ञान बिना, प्रविधि क्षेत्रका दिग्गज माइक्रोसफ्ट र एडोबीलाई उनीहरूकै खेलमा कसरी हराए ? जब एडोबी लगायतका अन्य प्लेटफर्मले धेरै फिचर नक्कल गर्ने प्रयास गरे, तब पनि आखिर क्यान्भाले यस्तो के गर्‍यो जसले गर्दा उसलाई कसैले समाप्त गर्न सकेन ? यस लेखमा हामी क्यान्भाको यात्रा मात्र होइन, उनीहरूका रहस्य र विजयी रणनीतिहरू चर्चा गर्दैछौं: 

क्यान्भाको रणनीति बुझ्नुअघि क्यान्भा कसरी सुरु भयो भन्ने बुझ्नुपर्छ । मेलानी पर्किन्सको जन्म पर्थ, पश्चिमी अष्ट्रेलियामा भएको थियो । उनका बुबा इलेक्ट्रिकल इन्जिनियर थिए भने आमा एक शिक्षिका थिइन् । मेलानीलाई आफ्नी आमाका कारण पढाउने पनि धेरै शौक थियो । र त्यसैले विश्वविद्यालयमा पढ्दै गर्दा उनी साँझको समयमा अतिरिक्त आय आर्जन गर्न विद्यार्थीलाई एडोबी इनडिजाइन र फोटोशप सिकाउँथिन् । 

unnamed (1)

विद्यार्थीलाई फोटोशप र इनडिजाइन सिकाइरहँदा ‘धेरै विद्यार्थीहरू केही दिनपछि नै यो कोर्स छोडिदिने’ गरेको अनौठो घटना उनले देखिन् । ती विद्यार्थी फर्किएर क्लास लिन कहिल्यै आउँदैनथे । पर्किन्सले कयौं पटक आफ्नो पढाउने शैली परिवर्तन गर्ने प्रयास गरिन् । तर पनि विद्यार्थीहरू बिचमै कक्षा छोडेर जाने क्रम रोकिएन । फेरि पर्किन्सले यीमध्ये केही विद्यार्थीसँग कुरा गर्दा के थाहा पाइन भने ‘यी सफ्टवेयर धेरै नै अलमल्ल पार्ने र जटिल छन् । र सबै कम्प्युटरले सपोर्ट पनि गर्दैनन् ।’

त्यसपछि पर्किन्सलाई समस्या शिक्षण शैलीमा होइन यी सफ्टवेयरमा छ भन्ने महसुस भयो । यसपछि उनले अरू धेरै सफ्टवेयर खोजिन् । ती सबै सफ्टवेयरमा उनले चार मुख्य समस्या देखिन् । पहिलो, सबै सफ्टवेयर निकै जटिल थिए । दोस्रो एसेट्स (डिजाइन सामग्री) को कुनै पूर्वनिर्धारित लाइब्रेरी थिएन । हरेक डिजाइनरले कयौं वर्ष लगाएर आफ्नो एसेट्सको लाइब्रेरी बनाउनुपर्ने हुन्थ्यो ।

तेस्रो यी सफ्टवेयरहरू चलाउन महँगो र बढी क्षमता भएको पीसी चाहिन्थ्यो । र, चौथोमा यी सफ्टवेयरहरू धेरै महँगो थिए जसलाई केवल पेशेवरले मात्र किन्न सक्छन् । यिनै चार समस्याका कारण सामान्य प्रयोगकर्ताले डिजाइन बनाउन सक्दैनथे । र, यही कुरा पर्किन्स परिवर्तन गर्न चाहन्थिन् । उनी डिजाइन पेसेवर व्यक्तिले मात्र नभई सबैले गर्न सक्ने किसिमको हुनुर्छ भन्ने ठान्थिन् । 
यी समस्या पर्किन्सले आफ्ना प्रेमी क्लिफ ओब्रेक्टलाई सुनाइन् । र फेरि दुवै मिलेर यो समस्या समाधान गर्न लागे । डिजाइन एक निकै विशाल क्षेत्र हो । यी दुई जनासँग स्रोत पनि त्यति थिएन ।  त्यसैले पहिले उनीले डिजाइनको पनि एक विशिष्ट क्षेत्र रोजे । पर्किन्सकी आमा पहिले नै शिक्षिका थिइन् । त्यसैले उनलाई ‘हरेक वर्ष शिक्षक र विद्यार्थीले इयरबुक (वार्षिक पुस्तक) बनाउन निकै संघर्ष गर्छन्’ भन्ने थाहा थियो ।

त्यसैले दुवै जना मिलेर सबैभन्दा पहिले यही समस्या समाधान गर्न लागे । त्यसका लागि उनीहरूले सन् २००७ मा ‘फ्युजन बुक्स’ लन्च गरे । फ्युजन बुक्स एउटा सरल डिजाइन सफ्टवेयर थियो जसमा इयरबुक बनाउनका लागि धेरै टेम्प्लेटहरू थिए । शिक्षक र विद्यार्थीले त्यही टेम्प्लेटमा आफ्ना कन्टेन्ट राख्न सक्थे । 

उनीहरूलाई यो सरल युजर इन्टरफेस निकै मन पर्‍यो । र फेरि केही वर्षमै फ्युजन बुक्स अष्ट्रेलियाको सबैभन्दा ठुलो इयरबुक प्रकाशक कम्पनी बन्यो । फ्युजन बुक्सको यही सफलता देखेर पर्किन्सलाई अवधारणाको प्रमाण (प्रुफ अफ कन्सेप्ट) मिल्यो । उनलाई यो कन्सेप्ट साँच्चै काम लाग्ने रहेछ भन्ने लाग्यो । 

उनलाई केवल स्कुल इयरबुक मात्र होइन सम्पूर्ण डिजाइन उद्योगमा क्रान्ति ल्याउनु थियो । र, यही मिसनका साथ उनले २०१२ मा एउटा कम्पनी स्थापना गरिन् । त्यही कम्पनीलाई आज हामी क्यान्भा नामले चिन्छौं । 

‘डिजाइनलाई सरल बनाउने’ उनीहरूको उद्देश्य निकै सरल थियो । तर, क्यान्भालाई वास्तविकतामा ल्याउनु त्यति नै गाह्रो थियो । खासगरी डिजाइन प्रक्रियालाई सरलीकरण गर्नका लागि उनीहरूले पहिले विद्यमान सफ्टवेयरका फिचर नक्कल गर्नुपर्थ्यो । त्यसपछि मात्र उनीहरूले यी फिचर थप्न सक्थे । त्यसैले पहिले नक्कल, त्यसपछि सरलीकरण । तर जुन कुरा माइक्रोसफ्ट र एप्पलजस्ता ठुला कम्पनीले गर्न सकेनन्, अझ त्यही क्षेत्रको अग्रणी कम्पनी एडोबी आफैंले समाधान गर्न सकेन, आखिर त्यो समस्यालाई यो जोडीले कसरी समाधान गरेर देखायो ? 

खैर यो प्रश्नको उत्तर एक लाइनको छ । उनीहरूले डिजाइन सफ्टवेयर बनाउने सम्पूर्ण प्रक्रिया नै परिवर्तन गरिदिए । उनीहरूले डेस्कटप-आधारित सफ्टवेयर बनाउनुको सट्टा ब्राउजरमा सहजै प्रयोग गर्न सकिने वेबसाइट बनाउने निर्णय गरे । यसलाई ‘ब्राउजर फर्स्ट एप्रोच’ पनि भनिन्छन् ।

अहिलेसम्मका सबै डिजाइन सफ्टवेयरका नेटिभ एप थिए जसलाई तपाईंले खरिद गरेर इन्स्टल गर्नुपर्थ्यो । तर, क्यान्भाले नेटिभ एप्लिकेसन बनाउनुको सट्टा एउटा वेब एप बनाएको थियो जसलाई प्रयोग गर्न तपाईंले आफ्नो ब्राउजरबाट क्यान्भाको वेबसाइटमा जानुपर्छ । यो ब्राउजरमा आधारित वेबसाइटका कारण क्यान्भालाई चार फाइदा मिले । पहिलो, उक्त वेबसाइट प्रयोग गर्न शक्तिशाली कम्प्युटरको आवश्यकता नपर्ने भयो । किनभने यी सबै प्रशोधनका काम क्लाउडमा भइरहेको थियो । दोस्रो एडोबीका जस्ता क्र्याक भर्सन सार्वजनिक हुने जोखिम क्यान्भामा थिएन । किनभने यो सिधै इन्टरनेटसँग जोडिएको थियो । तेस्रो यसले तत्काल अपडेट र बग समाधान गर्न सक्छ । जबकि अन्य कम्पनीले बारम्बार नयाँ अपडेट पठाउनुपर्छ र प्रयोगकर्ताले तिनलाई डाउनलोड गर्नुपर्छ । त्यसैगरी चौथो हो मोबाइल सपोर्ट । 

क्यान्भाको सबै प्रशोधनका काम क्लाउडमा भइरहेकाले उनीहरूका लागि क्यान्भाको मोबाइल एप सार्वजनिक गर्न निकै सजिलो थियो । जबकि अन्य कम्पनीका प्रडक्ट फोनको कम शक्तिशाली चिप्स र र्‍यामका कारण सीमित छन् । वास्तवमा फोटोशपको एप पनि २०२५ मा आईफोनका लागि लन्च भएको छ जसमा अझै पनि धेरै कम फिचर छन् । यो एप एन्ड्रोइडका लागि अझै आइसकेको छैन । जबकि क्यान्भाले आफ्नो मोबाइल एप १० वर्ष पहिले अर्थात् २०१६ मा लन्च गरिसकेको थियो ।

क्यान्भाको यो दृष्टिकोणकालाई धेरै कम्पनी र लगानीकर्ताले हाँसो उडाएका थिए । किनभने त्यसबेला एडोबी फ्ल्यासको जमाना थियो । त्यस समयका वेबसाइटमा प्रायः पेज, लिङ्क र धेरै कम फोटो हुन्थे । सामान्य एनिमेसन र फोटो क्रप गर्नुपर्दा पनि त्यसका लागि एडोबी फ्ल्यास प्लगइन चाहिन्थ्यो । 

ब्राउजरले डिफल्ट रूपमा यी काम गर्न सक्दैनथे । त्यसैले कसैले पनि डिजाइन एपलाई ब्राउजरमा बनाउने सोचेकै थिएनन् । यहाँ क्यान्भाको अवधारणा वास्तविकतमा आउने सम्भावना १ प्रतिशत मात्र थियो भन्दा पनि फरक नपर्ला । तर, क्यान्भाको अवधारणा जुन समयमा आयो त्यो एकदमै सही साबित भयो ।

यसपछि तीन यस्ता काम भए जसले गर्दा पूरै खेल फेरि बदलियो । सन् २०१२ को हाराहारीमा क्यान्भा कम्पनीको रूपमा दर्ता हुँदा एचटीएमएलको स्टेबल भर्सन आएको थियो । र, त्यसलाई क्रोम, फायरफक्स, सफारी र इन्टरनेट एक्सप्लोरर लगायत सबै ब्राउजरले डिफल्ट बनाए । एचटीएमएलमा ‘क्यान्भास’ (Canvas) को विकल्प हुन्छ जसमा तपाईं ब्राउजरमा मूलतः चित्र कोर्न सक्नुहुन्छ । यही कारणले ब्राउजरमा फोटो, भिडियो, एनिमेसन यी सबैको रेन्डरिङ सम्भव भएको थियो । यता क्यान्भाले कोडको पहिलो लाइन पनि एचटीएमएलमै लेखिएको थियो । पर्किन्स र उनका प्रेमी क्लिफ ओब्रेक्टको भेट त्यही समयमा अस्ट्रिलेयाली उद्यमी क्यारेमोन एडम्ससँग भयो । उनले सन् २००७ मा गुगलमा काम गर्न थालेका थिए । सन् २०११ मा ईमेल स्टार्टअप फ्युइन्ट स्थापना गरेका उनको भेट ती जोडीसँग जुलाई २०१२ मा भएको थियो । पहिले उनी सल्लाहकारका रूपमा क्यान्भामा जोडिन खोजेका थिए । तर, त्यसको अवधारणा चित्त बुझेपछि उनी सह-संस्थापककै रूपमा कम्पनीमा जोडिए । unnamed (4)
यसपछि फेसबुक र इन्स्टाग्रामको जमाना आयो । र सामाजिक सञ्जाल मार्केटिङ निकै लोकप्रिय बन्यो । सबै व्यवसायलाई पोस्टर, डिजाइन, निमन्त्रणा कार्ड यी सबैको आवश्यकता पर्न थाल्यो । र यही कारणले कम्पनीमा सरल डिजाइन सफ्टवेयरको माग बढ्यो । क्यान्भाको सरल युजर इन्टरफेस र ब्राउजर केन्द्रित भएकाले क्यान्भा प्रयोगकर्ताको पहिलो रोजाइ बन्यो ।

अब क्यान्भालाई सबै देशमा विस्तार गर्न गाह्रो थियो किनभने उनीहरूले पहिले सबै देशका प्रयोगकर्ताको माग बुझ्नुपर्थ्यो । खासगरी डिजाइनमा देश अनुसार रोजाइ पनि फरक हुन्छ । त्यसैअनुसार त्यहाँ आफ्ना सर्भरहरू सेटअप गर्नुपर्थ्यो । तर त्यही बीचमा अमेजन वेब सर्भिस, एज्युअर जस्ता क्लाउड सेवाहरू मूलधारमा आए । यसले गर्दा कम्पनीलाई सर्भर व्यवस्थापन गर्न आवश्यक परेन । 

त्यो काम यी क्लाउड सेवा प्रदायकले गरिदिन्थे । र, यही कारणले क्यान्भा धेरै कम समयमा १९० देशमा विस्तार हुन सक्यो । र फेरि अन्ततः क्यान्भाले आफ्नो मोबाइल एप लन्च गर्‍यो । यो पनि धेरै प्रयोगकर्तालाई निकै चित्त बुझ्यो । वास्तवमा आज पनि क्यान्भाका ५० प्रतिशत प्रयोगकर्ता मोबाइल प्रयोग गर्छन् । यसरी क्यान्भाको ब्राउजर-पहिलो दृष्टिकोण र सामाजिक सञ्जाल मार्केटिङका कारण क्यान्भाले निकै ठुलो बढावा पायो । र, मेलानी पर्किन्स विश्वकै सबैभन्दा कान्छी महिला अर्बपतिहरूमध्ये एक बनिन् ।

क्यान्भाको यो ‘ब्राउजर-पहिलो मोडेल’ यति सफल हुँदा एडोबीले यो मोडेललाई नक्कल गरेर क्यान्भालाई किन समाप्त गरिदिएन ? त्यसको पनि उपयुक्त जवाफ छ । यदि तपाईंले क्यान्भालाई नजिकबाट नियाल्नु भयो भने थाहा पाउनु हुन्छ; क्यान्भाको लक्ष्य कहिल्यै एडोबीसँग प्रतिस्पर्धा गर्नु थिएन । बरु डिजाइनलाई सरल बनाउनु थियो । यदि हामीले क्यान्भा र फोटोशपलाई जटिलता विरुद्ध अधिक शक्तिशाली ग्राफमा राख्यौं भने क्यान्भा प्रयोग गर्न सजिलो छ, तर त्यो कम शक्तिशाली छ ।

जबकि एडोबी फोटोशप निकै शक्तिशाली छ तर त्यो धेरै जटिल छ । एडोबीलाई के थाहा छ भने यदि उसले फोटोशपलाई सरल बनायो भने उसका मुख्य ग्राहक गुम्नेछन् किनभने उनीहरूलाई प्रो फिचर चाहिन्छ । तर एडोबी यो बजार छोड्न पनि चाहँदैनथ्यो किनभने यो निकै ठूलो बजार हो । त्यसैले एडोबीले क्यान्भासँग प्रतिस्पर्धा गर्न एउटा नयाँ एप लन्च गर्‍यो जसको नाम थियो एडोबी स्पार्क । एडोबी स्पार्कको दृष्टिकोण, अवधारणा र युजर इन्टरफेस ठ्याक्कै क्यान्भा जस्तै थियो । र ऊसँग एडोबीको वितरण सञ्जाल र आर्थिक शक्ति पनि थियो । तर पनि स्पार्क असफल भयो । यसपछि एडोबीले कयौं पटक यसमा परिवर्तन ल्यायो । एडोबी एक्सप्रेसको नाममा पुनःब्रान्ड गर्‍यो । 

क्यान्भाभन्दा कम मूल्यमा यसलाई बेच्यो पनि । तर पनि उसले क्यान्भालाई हराउन सकेन । तर, किन ? क्यान्भामा यस्तो के थियो जसले गर्दा उसलाई कसैले हराउन सकेन ?

खैर कसैले पनि क्यान्भालाई समाप्त गर्न नसक्नुको पछाडि उसका चार प्रतिभाशाली रणनीतिहरू थिए । पहिलो मानिसहरूलाई भुक्तानी दिने । क्यान्भाका टेम्प्लेट र एसेट लाइब्रेसी धेरै ठूलो छ । र, त्यो किनभने त्यहाँ क्यान्भाको टिमले मात्र नभई जो कोहीले पनि क्यान्भाका लागि टेम्प्लेट र एसेट बनाउन सक्छ । र त्यसको बदलामा क्यान्भाले यी योगदानकर्तालाई भुक्तानी गर्छ । जबकि एडोबी एक्सप्रेसमा केवल एडोबीको टिमले मात्र टेम्प्लेट बनाउन सक्थ्यो ।

दोस्रो सर्च इन्जिन अप्टिमाइजेसन अर्थात ‘एसईओ’को खेल । क्यान्भाका टेम्प्लेटको यति ठूलो लाइब्रेरीले प्रयोगकर्तालाई धेरै विकल्प त दिन्छ तर यसको अर्को ठूलो फाइदा छ । त्यो हो एसईओको । क्यान्भा पूर्ण रूपमा वेबसाइटमा होस्ट गरिएको छ र यी सबै टेम्प्लेटका किवर्डहरू गुगल सर्चमा र्याङ्क गर्छन् ।  उदाहरणका लागि यदि कसैले ‘नयाँ वर्षको पोस्टर’ भनेर अङ्ग्रेजीमा खोज्यो भने क्यान्भाका यति धेरै टेम्प्लेट हुनाले गुगलले क्यान्भाका सर्च रिजल्टलाई सधैं माथिल्लो स्थानमा राख्छ, यसरी क्यान्भाको ग्राहक प्राप्ति लागत कम हुन्छ ।

तेस्रोमा शुल्कको रणनीति (Paywall on Exports) । क्यान्भा र एडोबी एक्सप्रेस दुवैका निःशुल्क र सशुल्क योजना छन् । तर यहाँ एउटा ठूलो भिन्नता छ । यदि तपाईंले स्पार्कमा कुनै सशुल्क इलिमेन्ट रोज्नुभयो भने त्यसले तपाईंलाई सीधै भुक्तानी गर्न भन्छ । तर, क्यान्भामा यदि तपाईंले सशुल्क इलिमेन्ट रोज्नुभयो भने त्यसले तपाईंलाई त्यो प्रयोग गर्न दिन्छ जसले गर्दा तपाईं डिजाइन बनाउन सक्नुहुन्छ । तर, जब तपाईं त्यसलाई सेभ गर्नुहुन्छ त्यतिबेला त्यसले तपाईंसँग पैसा माग्छ । वा तपाईंले बनाएको डिजाइनमा वाटरमार्क राखिदिन्छ ।

त्यसैले पहिलो अवस्थामा कयौं पटक डिजाइनरलाई यो सशुल्क इलिमेन्ट उसको अन्तिम डिजाइनमा काम लाग्छ कि लाग्दैन भन्ने थाहा हुँदैन । र त्यसैले ऊ भुक्तानी गर्न चाहँदैन । तर क्यान्भाको अवस्थामा प्रयोगकर्ताले अन्तिम डिजाइन बनाइसकेको हुन्छ र उसलाई त्यो डिजाइन मन परेको हुन्छ । त्यसपछि उसलाई त्यो डिजाइन आवश्यक छ भन्ने भयो भने उसले भुक्तानी गर्छ र डिजाइन सेभ गर्छ । 

चौथो हो थर्ड पार्टी एप इन्टिग्रेसन । क्यान्भाले धेरै थर्ड पार्टी एपहरूलाई इन्टिग्रेट गरेको छ जस्तै मकअप्स, इमेज अपस्केलर, क्यूआर कोड, फिल्टर्स आदि । वास्तवमा क्यान्भाले ब्याकग्राउन्ड रिमुभल (फोटोको ब्याकग्राउन्ड हटाउने)को फिचर पनि सुरुमा ‘remove.bg’ वेबसाइटको इन्टिग्रेट गरेको थियो । पछि उसले त्यो कम्पनीलाई अधिग्रहण गर्‍यो । जबकि एडोबीले आफ्ना सबै फिचर आफैं बनाउँछ जसमा उसको समय, ऊर्जा, स्रोत धेरै लाग्छन् ।

वास्तवमा हालसालै एडोबीले आफ्नो एआईका लागि एडोबी फायरफ्लाई लन्च गरेको छ जुन उसले आफै बनाएको हो । जबकि क्यान्भाले धेरै पहिलेदेखि नै अवस्थित मोडेललाई इन्टिग्रेट गरेको छ । यहाँसम्म कि धेरै थर्ड पार्टी एप पनि यसमा इन्टिग्रेट छन् । के तपाईंलाई थाहा छ, जेनेरेटिभ एआई विशेषताका कारण यी दुवै कम्पनीहरूको प्रतिस्पर्धा अझ बढेको छ ।

हामीले पहिले फोटोशप र क्यान्भालाई जटिलता र शक्तिशालीताको ग्राफमा राखेका थियौं जसमा क्यान्भा प्रयोग गर्न सरल थियो तर कम शक्तिशाली थियो । जबकि फोटोशप जटिल थियो तर धेरै शक्तिशाली थियो । अब जेन एआई फिचर आएका कारण यी दुवै एकअर्काको सुपर पावर लिने प्रयास गरिरहेका छन् । क्यान्भा एआई विशेषताको इन्टिग्रेसनका कारण बढी शक्तिशाली बन्ने प्रयास गरिरहेको छ । यता फोटोशप जेन एआई फिचरका कारण केवल टेक्स्ट प्रम्प्टबाटै डिजाइनलाई सरल बनाइरहेको छ । के यी दुवैले एकअर्काको बजारमा बाधा पुर्‍याउन सक्लान् ? -टेकपाना

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।