ताजा अपडेट »

रामनगरको बौद्ध विहारमा दानबीरको ओइरो, उद्घाटन र विशेष पूजाको तयारी

विहीबार, ०७ चैत्र २०८१, ०७ : ३५
74 Shares
विहीबार, ०७ चैत्र २०८१
74 Shares

बुटवल । बुटवलको रामनगरमा रहेको बौद्ध गुम्बामा दानवीरहरुको ओइरो लागेको छ । टाशि छ्यो फेल लिंङ्ग जितु वौद्ध गुम्बा बुटवल-१० रामनगरका लागि विभिन्न क्षेत्रमा रहेका गुरुङ समुदायले दिनहुँ दान गरिरहेका छन् । 

एक कठ्ठा पाँच धुर जग्गासहित करिब २ करोडको भौतिक संरचना बनिसकेको यो गुम्बाको उद्घाटन तथा ह्युम पोस्ती पाठ वाचनको तयारी गरिएको छ । गुम्बामा राखिएको मूर्तिको प्राणप्रतिष्ठा एवं गुम्बा समुद्घाटन कार्यक्रमको तयारी पूरा भएको यसको व्यवस्थापन समितिले पत्रकार सम्मेलन गरेर जानकारी दिएको छ। यो कार्यक्रमको अवसरमा सबै दानवीरहरुलाई विशेष सम्मान गरिने भएको छ । विश्व शान्तिको कामना स्वरुप चैत्र ८ देखि ११ गतेसम्म ह्युम पोस्ती पाठ वाचन हुने गुम्बाका संरक्षक तथा सल्लाहकार झपटबहादुर गुरुङले जानकारी दिए । उनका अनुसार यो विशेष अवसरमा दानवीरलाई सम्मान गरिने भएको हो । 

पुण्य अनुष्ठानमा सहभागिता जनाई पुण्यलाभको लागि समेत उनले सबैलाई आग्रह गरेका छन् । सो कार्यक्रममा बौद्ध विद्वान गुरु खेन रिन्पोछे शिर लामा गुरुङबाट जीवन दर्शन सम्बन्धि धर्म प्रवचन हुनेछ भने समापनको दिन ११ गते विश्व प्रशिद्ध बौद्ध गुरु परम पुज्य खेन रिन्पोछे साङ्गे राज्युबाछ दिव्य प्रबचन तथा दिर्घायु अभिषेक प्रदान हुने गुम्बाका अध्यक्ष केशर कुमार गुरुङले बताए । चैत्र ८ गते शुक्रबार बिहान ९ः३० बजेदेखि शान्ति पद–यात्रा गरि प्रज्ञापारमिता ग्रन्थलाई बाजागाजासहित नगर परिक्रमा गराइने,दैनिक प्रवचन हुनेछ साथै ११ बजे दिप प्रज्वलन गरी विश्व शान्ति पुजा समुद्घाटन बाचन प्रारम्भ गरिने तथा हवन  पुजा हुनेछ । चैत्र ११ गते गणचक्र पुजासहित गुम्बामा भएको मूर्तिको प्राणप्रतिष्ठा गरी उद्घाटन कार्यक्रम राखिएको सल्लाहकार देवप्रसाद गुरुङले बताए ।

कार्यक्रममा गुरुबाट दिर्घायु अभिषेक वाङ् प्रदान गरी गुम्बा परिवारबाट गुरु मण्डल अर्पणसहित कार्यक्रम समापन गरिने सचिव डोलबहादुर गुरुङले बताए। कार्यक्रमको अगाडि नै करिब १ करोड रकम संकलन भैसकेको छ । आयोजक समितिले यो समुदायको विशेष पर्व भएकाले नछुटाउन सबैलाई अनुरोध गरेको छ । 

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।