महेन्द्रबहादुर सिंह
सुशासनको मखुन्डोमा देश र जनताले चरम भ्रष्टाचार, दलाली, माफियातन्त्र, कमिसनखोर र ठगी निरन्तर झेल्दै आइरहेको छ। विगतमा नेकपा माओवादी ‘केन्द्र’ को बाँदरे राजनीतिबाट हायलकायल जनताले तथाकथित होईन व्यवहारतः सुशासन र त्यसको सुनिश्चितता चाहेका थिए । हुनत हालसम्म पनि त्यो जनचाहना जहाँको तहीँ छ । त्यसैले स्थिरता र सुशासनको सुनिश्चितताको लागि संसदमा प्रतिनिधित्व गर्ने दुई ठूला दल नेपाली कांग्रेस र नेकपा एमाले मिलेर संयुक्त सरकार बनोस भन्ने जनताको चाहना थियो।
समयको बहाबसँग-सँगै आफ्नो मूल धारबाट डिरेल भएका, विगतमा धेरै पटक शासन गरिसकेका ती दुई ठूला दल मिलेर सरकार बनेपछि ‘चोर चोर मौसेरे भाई’ समान स्वभाव भएकाहरूमा छिटो मित्रता हुन्छ, जस्तो हुने हो कि भन्ने आशंका जनतामा थियो।एमालेले प्रजातन्त्रको जति नै फुर्तीफार्ती गरेतापनि अन्ततः त्यो सर्वसत्तावादी नै हो । एकाधिकार त्यो दलको इरादा हो। त्यसैले वाम एकता गरेर होस् वा कम्युनिस्ट मोडेलको समाजवादी मोर्चा खडा गरेर होस् येनकेन प्रकारेण प्रजातन्त्रमाथि कब्जा गर्ने हो कि भन्ने जनतामा मनोवैज्ञानिक डर पनि थियो। तथापि नेपालको सन्दर्भमा प्रजातन्त्रको प्रवर्तक नेपाली कांग्रेस नै भएको र जनताको, जनताबाट, जनताको लागि भन्ने प्रजातन्त्रको सर्वलौकिक मूलभूत सिद्धान्त तथा मान्यताको पदचिन्हमा चल्ने दल भएकोले प्रजातान्त्रिक शासन पद्धतिमाथि एकाधिकारवादीहरूको कब्जा हुन दिने छैन । प्रजातन्त्र, प्रजातान्त्रिक पद्धति, सुशासन र ती सबैको सुनिश्चितताको लागि कांग्रेस रक्षाकवच बन्नेछ भन्ने मनोवैज्ञानिक विश्वास जनतामा थियो।
अन्ततः पहिलो चरणमा ऐमालेको नेतृत्व हुने गरी भागवन्डामा आधारित कांग्रेस एमाले संयुक्त सरकार बन्यो। बाँदरे राजनीतिबाट देश र जनताले उन्मुक्ति पायो। जन–मुहारमा हर्ष, आशा र उत्साहको उज्यालो किरण देखिन थाल्यो। तर जनतामा देखिएको त्यो हर्ष, आशा र उत्साह क्रमशः टुट्दै गयो। भ्रष्टाचारी, दलाल, माफियातन्त्र, कमिसनखोर र ठगी झनझन हृष्टपुष्ट दरिलो हुँदै गयो।सुशासनमा धेरै छिद्र पर्न थाल्यो। एमालेको सर्वसत्तावाद दिनानुदिन सशक्त हुँदै गयो । बेथिति पराकाष्ठामा पुगिसक्यो । जनताको निराशाले सीमा नाघिसक्यो। आफ्नो लोलुपता र निरंकुश प्रवृत्तिलाई छिपाउन ‘जनता कहिल्यै गलत हुदैनन्’ भन्ने यथार्थ मान्यतालाई गलत साबित गर्न सम्पूर्ण बेथितिको दोष जनतामाथि थोपर्ने कुचालमा सत्तासीन नेताहरू लागेका छन्।
हेक्का हुनु पर्ने हो कि जनता आफै संचालनमा आउँदैनन्। पिपुल्स मोविलाइजको लागि स्पार्क झिल्कोको खाँचो पर्दछ। राणा शासन विरूद्ध परिवर्तनकारी नेताहरूको स्पार्कमा जनता परिचालित भएका थिए। त्यसपछिको हरेक परिवर्तनकारी मूभमेन्टमा नेताहरू कै स्पार्कमा जनपरिचालन हुँदै आएको छ। तरपनि नेताहरू जनतासँग ‘खोला तर्यो लौरो बिर्सियो’ जस्तै व्यवहार गर्दै आएका छन्। सत्तासीन ऐमाले नेतृत्वप्रति जनगुनासो छैन । किनकी एमालेले आफ्नो सर्वसत्तावादी सिद्धान्त र एकाधिकारवादी सोँचाइ अनुसार शासन गरिरहेको छ। सुनियोजित ढङ्गमा जनआवाज बिथोल्ने, आफ्ना भरौटेहरू पठाएर घुसपैठ गर्ने, भ्रम फैलाउने, उत्तेजित गराउने, उल्टै दोषारोपण गर्दै जनता लखेट्ने, कुट्ने, मार्ने, लोभ र डर देखाएर झुक्क्याउने सबै कुकृत्य गरिरहेको सर्वविदित छ।
वास्तवमा कांग्रेसप्रति ठूलो जनगुनासो छ। किनकी जनताको, जनताबाट, जनताको लागि भन्ने प्रजातन्त्रको मूलभूत सिद्धान्त तथा मान्यतामाथि घात भएको छ। प्रजातान्त्रिक पद्धति, सुशासन र ती सबैको सुनिश्चितताको रक्षाकवच बन्न सकेको छैन । सर्वसत्तावादीको कब्जाबाट पद्धतिलाई जोगाउन सकेन । उल्टै सत्ता नेतृत्वको छायाँ बनेको छ। कांग्रेस पार्टीको नेतृत्व साईलेन्ट मतियार बनेर बिन्दास सत्ता दोहन गर्दै सत्तारोहण हुने आफ्नो पालो कुर्दै छन्।
निश्चय नै इतिहास पछाडि फर्किँदैन। यो सत्य हो, तर जति जति दमन, भ्रष्टाचार, कुशासन र सत्ताधारीहरूमा देखिएको कम भिजिविलीटीको मात्रा बढ्दै जान्छ इतिहास दोहोरिने सम्भावना बलियो हुँदै जान्छ। शासन पद्धतिले कोल्टो फेर्ने सम्भावना रहिरहन्छ। किनकी आखिरमा चाहिएको परिवर्तन नै हो। यो नभए त्यो, त्यो नभए यो । परिवर्तन भने कै समय हो। रोकेर रोकिँदैन । यो सर्वलौकिक मान्यता हो । त्यसैले सत्तामा रहेका दुई ठूला दलको दुई टाउके र प्रतिपक्षमा रहेको तेस्रो ठूलो दलको अधीर टाउके यी तीन टाउकेहरू ‘वयम् सर्वस्यः वयम् सर्वं’ हामी नै सबैको कारण हौं। हामीले नै यो व्यवस्था ल्याएका हौं र सबै थोक हामी हौं र हामीमा नै निर्भर छ भन्ने अतिशयोक्तिपूर्ण अहङ्कारबाट मुक्त हुन जरूरी छ।
प्रतिक्रिया