ताजा अपडेट »

नेपाली महिला क्रिकेट टोली युएईलाई हराउँदै पहिलो पटक ग्लोबल छनोटमा प्रवेश

सोमबार, ०५ जेठ २०८२, १२ : १३
44 Shares
सोमबार, ०५ जेठ २०८२
44 Shares

काठमाडौं । महिला टी-२० विश्वकपको एसिया छनोटमा युएईलाई पराजित गर्दै नेपाल पहिलोपटक ग्लोबल छनोटमा प्रवेश गरेको छ । आज भएको सुपर–३ अन्तर्गतको खेलमा युएईलाई ५ विकेटले पराजित गर्दै नेपालले एक खेल अगावै शीर्ष दुईमा रहँदै ग्लोबल छनोटमा प्रवेश गरेको हो ।

युएईले दिएको ११५ रनको लक्ष्य पछ्याएको नेपालले १९ ओभर ३ बलमा ५ विकेट गुमाएर पूरा गर्यो । नेपालका लागि कप्तान इन्दु बर्माले कप्तानी इनिन्स खेलिन् । उनले २८ बलमा अविजित ३० रन बनाइन् । रुविना क्षेत्रीले २३ र सम्झना खड्काले २१ रनको योगदान दिइन् । ६४ रनमा ४ विकेट गएको नेपालका लागि रुविना र इन्दुले उत्कृष्ट साझेदारी गर्दै नेपाललाई जिततर्फ दोहोर्याएका थिए ।

त्यसअघि टस हारेर पहिले ब्याटिङको निम्तो पाएको युएईले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर ११४ रन मात्रै बनाएको थियो । नेपालका लागि मनिषा कुमारी उपाध्यायले ४ विकेट लिइन् । यस्तै कविता कुँवरले २ र राजमती ऐरीले १ विकेट लिइन् । यूएईका लागि कप्तान इशा ओजाले सर्वाधिक ३९ रन बनाइन् । तीर्था सतिशले २१ र हीना होचन्दानीले २० रन बनाएका थिए ।

नेपालले अब सुपर(३ को दोस्रो खेलमा मंगलबार थाइल्याण्डसँग खेल्नेछ । थाइल्याण्डले पनि युएईलाई हराउँदै ग्लोबल छनोटमा स्थान पक्का गरिसकेको छ ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।