काठमाडौं । सरकारले नेपाल कृषि अनुसन्धान परिषद् (नार्क) को पुनःसंरचनाका लागि प्राडा गोविन्दराज पोख्रेलको संयोजकत्वमा तीन सदस्यीय उच्चस्तरीय पुनःसंरचना सुझाव समिति गठन गरेको छ ।
समितिमा कृषि तथा वन विज्ञान विश्वविद्यालयका प्राडा ईश्वरी कडरिया र डा यज्ञ गजाधर खड्का सदस्य रहेका छन् । उच्चस्तरीय समितिका पदाधिकारीलाई पत्र हस्तान्तरण गर्दै कृषि तथा पशुपन्छी विकासमन्त्री रामनाथ अधिकारीले नार्कलाई समयसापेक्ष रुपमा सुधार गर्न उच्चस्तरीय समितिले उपयुक्त प्रस्ताव पेस गर्ने विश्वास व्यक्त गरे ।
समितिलाई ९० दिनको कार्यअवधि दिइएको छ । नार्कको हालको संरचनामा देखिएका विविध समस्याका कारण परिषद्को कार्य सन्तोषजनक रहन नसकेको सन्दर्भमा उच्चस्तरीय समिति गठन गरिएको कृषि तथा पशुपन्छी मन्त्रालयले जनाएको छ । विगतमा भएका अध्ययनहरुले पनि नार्कलाई प्रभावकारी बनाउन यसको पुनःसंरचना गर्नुपर्ने सुझाव दिएका थिए ।
सोही सुझावका आधारमा मन्त्रालयले गरेको प्रस्तावलाई मन्त्रिपरिषद्को हालै बसेको बैठकले स्वीकृति दिएको थियो । उच्चस्तरीय समितिलाई नार्कको विगतको उपलब्धि तथा चुनौती र यसअन्तर्गतका ऐन, नियम, नीतिलगायत कानुनी दस्तावेज तथा प्रतिवेदनको समीक्षा गर्ने, अन्य देशमा यससम्बन्धी भएगरेका असल अभ्यासको अध्ययन गर्ने, सङ्घीयताको भावना र मर्मअनुरुप समयसापेक्ष रुपमा नार्कलाई रुपान्तरण गर्ने, वैज्ञानिकहरुको दीर्घकालीन संलग्नता सुनिश्चित गर्ने रणनीति प्रस्ताव गर्नेलगायतका कार्यक्षेत्र तोकिएको छ । समितिले कृषि तथा पशुपन्छी विकास मन्त्रालयमार्फत नेपाल सरकारसमक्ष प्रतिवेदन पेस गर्ने जनाइएको छ ।
प्रतिक्रिया