ताजा अपडेट »

पूर्वमन्त्री यादवसहित ८ जनाविरुद्ध भ्रष्टाचारको मुद्दा

आइतबार, ०४ जेठ २०८२, १६ : ०८
118 Shares
आइतबार, ०४ जेठ २०८२
118 Shares

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले माछा नै नभएको ठाउँमा माछापोखरी बनेको भनी रकम निकासा गरेको भन्दै मधेश प्रदेशका तत्कालीन मन्त्री विजयकुमार यादव सहित ८ जनामाथि भ्रष्टाचार मुद्दा दायर गरेको छ । अख्तियारले उनीहरुमाथि सागरनाथ वन परियोजनाको ढुंगा, गिटी बालुवा गैरकानूनी रुपमा उत्खनन गरी माछापोखरी निर्माणका नाममा भ्रष्टाचार गरेको आरोप लगाएको हो ।

अख्तियारले तत्कालीन आर्थिक मामिलामन्त्री विजयकुमार यादवसहित बागमती नगरपालिका सर्लाहीका तत्कालीन नगरप्रमुख भरतकुमार थापा, उपप्रमुख लीलाकुमार मोक्तान, निलम्बित प्रमुख प्रशासकीय अधिकृत बिमलकुमार पोखरेल विरुद्ध मुद्दा दायर गरेको हो । अख्तियारले मधेश प्रदेशको अर्थ मन्त्रालयका कानून अधिकृत गोकुल भुजेल, बागमती नगरपालिकाका इञ्जिनियर निरञ्जन लामिछाने र सागर पौडेल, नगरपालिकाका लेखा अधिकृत विश्वराज पोखरेल विरुद्ध पनि मुद्दा दायर गरेको छ ।
अख्तियारले उनीहरुमाथि ५६ करोड ७१ लाख रुपैयाँ भ्रष्टाचार गरेको आरोप लगाएको छ । तर आरोपितहरुमाथिको विगो मागदावी भने फरक–फरक छ । पूर्वमन्त्री विजयकुमारमाथि ३० करोड रुपैयाँ भ्रष्टाचार गरेको अभियोग छ । 

निलम्बित मेयर थापा र उपमेयर मोक्तान, निलम्बिन प्रमुख प्रशासकीय अधिकृत बिमलकुमार पोखरेलमाथि पुरै ५६ करोड ७१ लाख रुपैयाँ विगो मागदावी छ । रोडाढुंगा उत्खनन गरेको खाल्डोमा माछापोखरी निर्माण गराई भ्रष्टाचार गरेको भन्दै अख्तियारले त्यही ठाउँमा संरचना निर्माण गराउनु राज्यकोषको दुरुपयोग र हिनामिना हुने जिकिर गरेको हो । अख्तियारले संघीय सरकारको मन्त्रिपरिषदको स्वीकृत विना वन क्षेत्रमा विकासका योजना र कार्यक्रम कार्यान्वयन गर्न नमिल्ने भन्दै अरुले वनक्षेत्रमा भौतिक निर्माण गरेमा समेत दण्डित गर्नुपर्ने अवस्थामा अनदेखा गरी निर्माण गर्नु भ्रष्टाचार हुने जिकिर गरेको छ । 

आर्थिक वर्ष २०७५/७६ देखि २०७९/८० सम्म ५६ करोड ७१ लाख रुपैयाँ निकासा भएको र त्यसको कुनै प्रतिफल नहुने अख्तियारको भनाइ छ । 
 

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।