ताजा अपडेट »

तीब्र रुपमा फैलिँदो अटिजमको समस्या रोकथाम गर्न सहकार्य गरौं : मन्त्री ढकाल

शनिबार, ०३ जेठ २०८२, १९ : ५०
66 Shares
शनिबार, ०३ जेठ २०८२
66 Shares

बुटवल । लुम्बिनी प्रदेशका भौतिक पूर्वाधार बिकास मन्त्री भूमिश्वर ढकालले समाजमा अटिजमको समस्या तिब्र रुपमा फैलिएको बताउँदै यसका लागि सबै मिलेर समाधानको बाटोमा लाग्नुपर्नेमा जोड दिएका छन् ।बालबालिकामा हुने अटिजमको समस्या बारे समाजमा फरक-फरक बुझाई र मान्यता रहेको बताउँदै उनले यस समस्यालाई सबैको साझा समस्याको रुपमा लिएर एकै प्रकारको बुझाई स्थापित गर्नु पर्नेमा जोड दिए ।

बुटवल-१० मा अवस्थित समर्पण बालगृहको वार्षिकोत्सव तथा सम्मान कार्यक्रममा बोल्दै मन्त्री ढकालले तीनै तहको सरकारले अटिजम सम्बन्धी समस्यालाई रोक्नका लागि योजना बनाएर अघि बढ्नु पर्ने बताए । लुम्बिनी प्रदेश सरकारले आगामी नीति कार्यक्रम तथा बजेटमा प्राथमकितासाथ यो समस्यालाई सम्बोधन गर्ने प्रतिवद्धता समेत व्यक्त गरे । समर्पण बालगृहले राज्यले गर्नुपर्ने काम गरेर उदाहणीय अभ्यास प्रस्तुत गरेको बताउँदै प्रशंसा व्यक्त गरे ।

कार्यक्रममा बोल्दै बुटवल उपमहानगरका मेयर खेलराज पाण्डेयले अटिजम सम्बन्धि समस्यालाई कम गर्न सहकार्य र आवश्यक भूमिका खेल्न तयार रहेको उल्लेख गरे ।बालबालिकाहरुको स्वास्थ्य र शिक्षाको क्षेत्रमा उपमहानगरले आवश्यक लगानी गर्न तयार रहेको बताउँदै उनले अभिभावकहरु पनि आफ्ना बालबालिकाहरुको बारेमा सचेत हुनुपर्ने बताए । लुम्बिनी प्रादेशिक अस्पतालका मेडिकल सुपेरीटेन्डेन डा. इन्द्र ढकाल, नेपाल चिकित्सक संघ रुपन्देहीका अध्उक्ष डा. कृष्ण खरेल, प्रशिक्षक डा. योगेन्द्र गैरे, लायन्स डिष्ट्रिक ३२५ पीका निवर्तमान अध्यक्ष अर्जुनमान शैजु, प्रथम उपाध्यक्ष बालाराम भट्टराई, समर्पण बालगृहका सल्लाहकार अनिल प्रसाद श्रेष्ठ लगायतले बोल्दै प्रविधिको बढ्दो प्रयोग र अभिभावकहरुको बढ्दो व्यस्तता र फेरीँदो जिवनशैलीले बालबालिका अटिजमको समस्या बढ्दै गएको हुँदा सचेत हुनुपर्ने बेला आएको उल्लेख गरे । अभिभावकले बालबालिकाहरुका लागि प्रयाप्त समय खर्च गर्ने बानी बसाल्नुपर्ने बताउँदै उनीहरुले प्रविधिको सही प्रयोगमा जोड दिए । अटिजमको समस्यालाई कम गर्नका लागि राज्यका तीनै तहले प्रयाप्त लगानी र योजना निर्माणमा गर्नुपर्नेमा जोड दिए ।

समर्पण बालगृहले बालबालिकाका क्षेत्रमा गरेका गतिविधि बारे जानकारी गराउँदै संस्थाकी अध्यक्ष डा. शान्ता शर्माले अटिजमको समस्या सबै साझा समस्याका रुपमा लिनुपर्नेमा जोड दिइन् । ७ जना बालबालिकाबाट सुरु गरिएको समर्पण बाल गृहमा ५५ जना बढी बालबालिकाहरुलाई सेवा दिन सफल भएको बताउँदै उनले हालको अवस्थामा २२ जना बालबालिकाले नियमित रुपमा शिक्षा लिइरहेको जानकारी गराइन । बालगृहमा सञ्चालन गरिएको विशेष शिक्षा कार्यक्रम, थेरापी तथा परामर्शपछि बालबालिकाहरुलाई साधारण अवस्थामा फर्काउन समेत सफल भएको अनुभव सुनाइन । बालगृहसँग विभिन्न विदेशी संस्थाहरुले समेत लगानी र सहकारणय गर्न तयार हुँदाहुँदै पनि आफ्नै भौतिक संरचना र पूर्वाधार नहुँदा समस्या भइरहेको उल्लेख गरिन् । यसै संस्थाले विशेष शिक्षाका लागि ८५ लाख बढीको योजना बनाएर अन्तर्राष्ट्रिय संस्थासँग प्रस्तावना पेश गरेर स्वीकृत भएपनि केही प्राविधिक कारणले उक्त प्रक्रिया हाल रोकिएको बताइन । उक्त प्रस्तावना अनुसारको योजना कार्यान्वयन भएको अवस्थामा यस क्षेत्रका लागि महत्वपूर्ण उपलब्धी हुने बताउँदै उनले लुम्बिनी प्रदेशमै नमूना काम गरेर देखाउने लक्ष्य प्रस्तुत गरिन् ।

बालगृहकी द्वितीय उपाध्यक्ष पुष्पा कंडेलको सञ्चालनमा भएको कार्यक्रममा प्राचार्य मञ्जु श्रेष्ठले स्वागत गर्दै संस्थाको आर्थिक तथा भौतिक अवस्था र गतिविधि बारे जानकारी गराएकी थिइन । कार्यक्रममा बालगृहमा कार्यरत शिक्षक, कर्मचारी तथा विभिन्न क्षेत्रबाट सहयोग पुर्याउने व्यक्तिहरुलाई सम्मान गरिएको थियो ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।