खासमा सुमित्रा राना, सुत्पराईले स्नातकोत्तर गरेपछि आफ्नै विषय ललितकलामा समय दिन थालिन् । २०७२ बैसाख १२ गते गएको भूकम्पपछि कर्मथलो बुटवल बनाईन्, काठमाडौ छाडेर । सुमित्राको सुन्दर सपना थियो-आफ्नै नाम र घरमा ग्यालरी खोल्ने ! पूरा गरिन् २०८२ बैसाखको १७ गते, मंगलवार । जीवनमा त्यति हँसिली र खुसी कहिल्यै देखिएकी थिईनन् सुमित्रा ।
ग्यालेरी उद्घाटन हुने क्षण !
बैसाख १७ गते, विहान ९ वजेदेखि साँझसम्म उनीजस्तै कलाकारहरुले उनकै नयाँ घरको आँगनीमा चित्रकला कार्यशाला सञ्चालन गरेर साथ दिएका थिए । कवि, साहित्यकारहरुले रचना सुनाएर सँगै रहे । उनका आफन्ती, विद्यालयका सहकर्मी साथीहरु र छिमेकीहरुले सुमित्रालाई ग्यालरी उद्घाटन, चित्रकला कार्यशाला र साहित्यिक कार्यक्रममा सहभागी भएर भव्य साथ दिए ।
सुमित्राका श्रीमान् लिलु सुत्पराईभने रोजगारीका सिलसिलामा परदेश छन् । उनको मन सायद सुमित्रा र उनको ग्यालरीमा अल्झिरहेको हुनुपर्छ । सुमित्राले आफ्नो र श्रीमान् लिलुको कमाईले सैनामैना नगरपालिका वडा नं. १, वनकट्टा, नमूना पथमा ढाईतले घर ठड्याएका छन् । त्यही घरमा नै ‘सुमित्रा थ्री एल’ ग्यालरी उद्घाटन गरि शुभारम्भ गरेकी छन् ।
आफूले बनाएका कलाहरु घरको पहिलो तलामा सजाएकी छन् । अन्य कलाकारहरुका सिर्जनालाई समेत सजाएकी छन् । पूरै घरमा कला सजाउने उनको दृढ योजना छ । बैसाख १७ गते, मंगलवार साँझ शुभसाईत पारेर लुम्बिनी प्रदेश योजना आयोगका उपाध्यक्ष माननीय डा. डिल्लीराज अर्यालले सुमित्राको ग्यालरी घरको प्रवेशद्वारमा सजाईएको रिवन काटेर ‘सुमित्रा थ्री एल ग्यालरी’को भव्य उद्घाटन गरे । मन्तव्यका क्रममा उनले भने -सुमित्राको कामप्रति म हर्षित छु । नीजिस्तरबाट आफ्नै घरमा आफ्नै ज्ञान, सीप र कला प्रदर्शन गर्नका लागि ग्यालरीको शुरुवात् गर्नु सामान्य कुरै होईन । कलालाई बुझेर गरेको कर्मले सफलता प्राप्त गर्नेमा म आफू विश्वस्त छु ।
सुमित्राले ग्यालरी खोलेर आफ्नो योग्यतालाई उद्यमशीलतासँग जोडेकोमा डा. अर्यालले बधाईज्ञापन गरे । ‘कलाले मान्छेलाई शान्त गराउँछ, धैर्यवान बनाउन पहल गर्छ र जीवन अनि जगतलाई बुझाउन सिकाउँछ’ –प्रमुखअतिथिका रुपमा रहेका डा. अर्यालले बताए । पवित्र कर्मको उद्घाटन गर्न पाउँदा आफू हर्षित भएको डा. अर्यालले सुनाए ।
कार्यक्रममा लुम्बिनी प्रदेश, मुख्यमन्त्री माननीय चेतनारायण आचार्यका जनसम्पर्क सल्लाहकार डा. रामबहादुर राउतले कलाकार बाँच्न सक्ने खालको परिवेश निर्माणमा तीनै तहको सरकारले सहयोग गर्नुपर्ने बताए । सुमित्रा, कलाकारको आफ्नै नाम भयो । थ्री एलमध्ये पहिलो एलको अर्थ रहेछ –आफ्नै जन्मभूमि, लुम्पेक । जो गुल्मी जिल्लाको सत्यवती गाउँपालिका पर्छ । त्यस्तै दोस्रो एलको अर्थ रहेछ –लम्करा । जो उनको कर्मघर रहेको ठाउँ हो । जुन विहेभएर गएको गाउँ रहेछ । लिलुको आफ्नै घर, सुमित्राको कर्मघर । गुल्मीकै कालीगण्डकी गाउँपालिका । बाँकी तेस्रो एलको अर्थ -लुम्बिनी । जुन प्रदेशमा उनी क्रियाशील छिन् । गतिशील छिन् । जहाँ, गौतमबुद्व जन्मिएका थिए । त्यहि लुम्बिनीमा बसेर आफू र आफ्नो कर्मलाई अघि बढाई रहेकी छन् । नसम्झिने कुरै भएन १
सुमित्राको ग्यालरी उद्घाटन हुँदै गर्दा उनको प्रोत्साहनका लागि आएका पाहुना, साथीहरु र आफन्तीहरुले ‘चित्रकला’ खरिद गरिदिए । आफ्नो श्रम, सीपलाई माया गरिदिएकोमा सुमित्रा ओैधी खुसी भईन् । बुटवलको दीप आवासीय विद्यालयमा सुमित्राले आफ्नो ज्ञान, सीप, योग्यतालाई खर्चिएकी छन् । थाहा छैन उनले कहिलेसम्म स्कुलमा पढाउँछिन् । तर उनलाई आफ्नै ग्यालरीमा चौबीसै घण्टा घोप्टिन मन छ । क्यानभासमा रंगसँगै पोतिन रहर छ । ग्यालरीलाई संसारकै सुन्दर घर बनाउने सपना छ ।
छोरा एलिसलाई समेत सुमित्राले ललितकलाका ज्ञान दिएकी छन् । आमा-छोरा, दुबैजना ग्यालरीको प्रचारप्रसारका लागि कसरत गरिरहेका छन् । ग्यालरीकै पेज बनाउन पहल गरेका छन् । यूट्युव च्यानल प्रयोग गर्दैछन् । सामाजिक सञ्जाललाई अति नै प्रयोग गर्ने भनेका छन् ।
लुम्बिनी प्रदेश कै सम्भवत् यो ग्यालरी पहिलो हो । सुमित्राले नयाँ सिकारुदेखि वरिष्ठ कलाकारका सिर्जनात्मक कलालाई आफ्नो ग्यालरीमा राख्ने सोच बनाएकी छन् । मौलिक एवम् सिर्जनात्मक नेपाली कलालाई संरक्षण, सम्वर्द्वन, प्रवर्द्वन र प्रचारप्रसार गरी अर्थोपार्जनसँग जोड्ने संकल्प गरेकी छन् ।
ग्यालरीलाई कलाकारहरुको साझा ‘सिर्जनशील कर्मथलो’ बनाउने योजना बुनेकी सुमित्रा थ्री एल ग्यालेरीकी सञ्चालक एवम् व्यवस्थापक सुमित्राले नेपालमा सिर्जनशील कलाकार बाँच्न नसकिरहेको वर्तमान अवस्थामा आफूले जानीजानी आगोमा हात हाल्न लागेको प्रतिक्रिया दिईन् । संकटको बेला समाधान खोज्न पर्ने उल्लेख गर्दै अहिले ग्यालरी नखोले कहिले खोल्ने, मैले नखोले कसले खोल्छ र ? भन्ने लाग्यो र हिम्मतका साथ ग्यालरी खोलें । मिहिनेतका साथ सञ्चालन गर्नेछु, सुमित्राले भनिन् ।
विगत १० वर्षदेखि बुटवल दीपनगरमा लुम्बिनी फाईन आर्टस् सञ्चालन गरि सुमित्राले नयाँ कलाकारहरु उत्पादन गर्दै आएकी छन् । कला भनेपछि मरिमेट्ने सुमित्राले जीवन रहुञ्जेल कलामा नै जीवन व्यतित गर्ने रहर साँचेकी छन् । उनको कर्म,उनकै व्यवहार र परिणामले दिने नै छ ।
प्रतिक्रिया