ताजा अपडेट »

ललितपुरबाट अवैध सुन र ५० लाख नगदसहित ५ जना पक्राउ

शुक्रबार, २१ असार २०८१, १४ : ४४
230 Shares
शुक्रबार, २१ असार २०८१
230 Shares

काठमाडौं । ललितपुरमा एक भारतीय नागरिकको फ्‍ल्याटबाट करिब १७० ग्राम सुन र ५० लाख नगदसहित ५ जनालाई प्रहरीले पक्राउ गरेको छ । ललितपुर महानगरपालिका वडा नम्बर १४ ताल्छिखेलमा रहेको एक निर्माणाधिन घरको तेस्रो तलाको फ्ल्याटमा प्रहरीले छापा मारेको जिल्ला प्रहरी परिसर ललितपुरका एसपी नरेशराज सुवेदीले जानकारी दिए।

अवैध रूपमा सुनको कारोबार गर्ने गरेको सूचनापछि प्रहरी वृत्त सातदोबाटोको टोलीले छापा मारेको हो। पक्राउ पर्नेमा भारत महाराष्ट्र साङ्ले जिल्ला घर भई ललितपुरको ताल्छिखेलमा फ्ल्याट लिएर बसेका २८ वर्षीय युवराज विभूते, २० वर्षीय विक्रम यलवर, १८ वर्षीय अभिषेख विभूते, भक्तपुर सूर्यविनायक नगरपालिका-१ विरुवा बस्ने २० वर्षीय सिद्धान्त चौलागाई र महालक्ष्मी नगरपालिका-८ बस्ने २० वर्षीय यसवन्त सुनार छन्।

उनीहरूबाट १६९.९७० ग्राम सुन, २४६.२५० ग्राम चाँदी, एउटा डिजिटल तराजु, मोबाइल, हार्ड डिस्क, सिमकार्ड, ५० लाख चार हजार ७३० रुपैयाँ र सुन पगाल्ने मेसिन बरामद गरेको छ।  उनीहरूमाथि थप अनुसन्धानका लागि राजश्व अनुसन्धान विभाग हरिहर भवन ललितपुरमा पठाइएको छ।

 

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।