ताजा अपडेट »

इन्डियन आइडलबाट आउट हुनबाट जोगिइन् मेनुका

सोमबार, २३ पुस २०८०, १२ : ४९
272 Shares

बुटवल । इन्डियन आइडलमा प्रतिस्पर्धा गरिरहेकी नेपाली गायिका मेनुका पौडेल आउट हुनबाट जोगिएकी छन् । हिजो प्रसारित एपिसोडमा बटम ४ मा परे पनि उनी आउट भइनन् । बटम ४ मा मेनुकासहित आद्या, सुखदीप र महिमा परेका थिए । आद्या तेस्रोपटक बटम ४ मा परेकी थिइन् भने मेनुका र महिमा पहिलोपटक । अन्तमा महिमा आउट भइन् । मेनुका जोगिइन् ।

हरेक एपिसोडमा जजहरूको प्रशंसा र स्ट्यान्डिङ ओभेसन पाउँदै आएकी मेनुकाको हिजो प्रस्तुति भने खल्लो भयो । खल्लो हुनुको कारण थियो लिरिक्स भुल्नु । ‘तेरा साया साथ होगा’ बोलको गीतको अन्तरा गाउँदै गर्दा उनले बीचमा लिरिक्स बिर्सिइन् । त्यसपछि उनको तनाव बढ्यो । आफूले गाउन नसकेको उनले बताइन् । विशाल डडलानीले अन्तरा फेरि सुरु गर्न सल्लाह दिए । तर, जति प्रयास गर्दा पनि मेनुकाले सकिनन् । अर्की जज श्रेया घोषालले मेनुकालाई सहयोग गर्दै गाएर सुनाइन् । तर, मेनुका गाउन सक्ने अवस्थामा थिइनन् ।

‘म्याम हार्ट बिट हो रहा है’ उनले श्रेयालाई भनिन् । त्यसपछि म्युजिक बन्द गर्न भनियो । मेनुकाले पानी मगाएर पिइन् । स्टेजमै आएर जजहरू र अतिथि सञ्जय दत्तले उनलाई हौसला दिन खोजे । तर, केही लागेन ।अन्ततः मेनुका स्टेजबाटै बाहिरिइन् । स्टेजबाहिर उनलाई चिकित्सकसँग भेटाइयो । चिकित्सकले केही थेरापी गराए । त्यसपछि मेनुका केहीबेरमा स्टेज फर्किइन् । अनि, अधुरो गीतलाई गीतलाई पूरा गरिन् । यद्यपि, आफ्नो नियमित स्पिरिटमा उनले गाउन सकिनन् ।

यो संस्करणमा अहिलेसम्म तीनजना मात्रै आउट भएका छन् । सबैभन्दा पहिले गायत्री, त्यसपछि मैथली र सुरेन्द्र आउट भएका हुन् । इन्डियन आइडलको पछिल्लो तीन एपिसोडमा कोही पनि एलिमिनेट भएका छैनन् । अघिल्लो एपिसोडमा आद्या सबैभन्दा बटममा परेकी थिइन् । तर, जजहरुले ‘पावर कार्ड’ प्रयोग गरेर उनलाई जोगाए । हिजोको एपिसोडमा पनि उनी जोगिइन् ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।