ताजा अपडेट »

बुद्ध धर्मका विख्यात गुरूद्वारा काठमाडौंमा महाभिषेक गरिने

बुधबार, १० असोज २०८०, ०९ : ३७
20 Shares
बुधबार, १० असोज २०८०
20 Shares

काठमाडौं । बौद्ध धर्मका विख्यात गुरू ४१ औं साक्या गोङमा ठ्रिछेन् रिन्पोछेको उपस्थितिमा महाभिषेक (वाङ्छेन्) कार्यक्रम हुने भएको छ । आगामी असोज २७ मा तारागाउँ म्युजियमको खुला चौरमा ‘महाकरुणामय अवलोकितेश्वर महाभिषेक’ हुने भएको हो । 

संघका अध्यक्ष मुकुन्द विष्टले अवलोकितेश्वरको महाभिषेकले विश्वजगत र प्राणीमा सद्भाव बढाउने बताए । उनले भने, ‘विश्वशान्ति, सद्भाव, भाइचारा र मानवताका लागि सकारात्मक उर्जा र सद्भाव प्रवाह गर्न महाभिषेक गर्न लागेका हौँ ।’ उनले करूणााका प्रतिमूर्ति मानिने ४१औं साक्या गोङमा ठ्रिछेन् रिन्पोछेद्वारा प्रदान गरिने महाभिषेकले सम्पूर्ण मानव समुदायलाई सकारात्मक प्रेरणा दिने बताए ।

सोही संघका धर्मधर नारायण प्रसाद रिजालले हिंसा, युद्ध, शक्तिको होडबाजीजस्ता मानव सिर्जित समस्याले आक्रान्त रहेको समस्या यस्ता गतिविधीले शान्तिको मार्ग देखाउने बताए । ‘साधनाका लागि काठमाडौँको आफ्नै महत्व छ । यो धार्मिक रुपमा पवित्र स्थल हुनुका साथै साधनाका लागि उपयुक्त छ । गुरूलाई विशेष आग्रह गरिएकोले उहाँले यो समयमा यहाँ महाभिषेक गर्न तयार हुनुभयो । यो कार्यक्रम सबैका लागि खुल्ला छ, सहभागी हुन सक्नुहुनेछ ।’

इन्टरनेशनल बुद्धिस्ट एकेडेमीका अध्यक्ष खेन्पो जोर्डनले साक्या परम्परा र गुरूको बारेमा जानकारी दिए ।  उनले गुरू साक्या समुदायको ४१ औँ सिद्ध र सुयोग्य रहेकाले उनीद्वारा हुने महाभिषेकमा सहभागी हुनु आफैँमा सूवर्ण अवसर रहेको बताए ।  ‘धार्मिक र सांस्कृतिक रुपमा महत्व बोकेको काठमाडौँमा गरिएका प्रार्थनाले पछिल्ला विपत्तीबाट हामीलाई बचाएको जस्तो लाग्छ । यो महाभिषेकले सद्भाव बढाउँदै शान्ति कायम गर्न प्रेरित गर्छ’, उनले भने ।

विभेद, वैमनस्य र विश्वासको संकट गहिरो बन्दै गइरहेको सन्दर्भमा चारै बौद्ध सम्प्रदायबाट सम्मानित, धेरै मण्डलहरुको सिद्धि गरिसकेका महामण्डलाधिपति महान् गुरु ठ्रिछेन् रिन्पोछेद्वारा सम्पन्न हुने महाअभिषेक सम्पूर्ण मानव जातिमा शान्ति, परस्पर सद्भाव र मैत्रीको सञ्चार गर्ने पवित्र उद्देश्यले गर्न लागिएको हो ।

नेपालमा परापूर्वकालदेखि समग्र हिमाली क्षेत्रका साथै नेपालमण्डल, पहाड र तराई क्षेत्रमा पनि आर्य अवलोकितेश्वरको विशेष कृपा भएको कुरा यहाँका रीति, रिवाज, जात्रा, परम्परा आदि धेरै सांस्कृतिक पक्षहरूमा प्रतिविम्बित रहेको छ । चीन र भोटक्षेत्रका धेरै पूर्वगुरुहरुले पनि नेपालमा रहेर बुद्धका शिक्षा र बज्रयानका उपदेशहरुलाई सिक्ने र यहाँबाटै भारत, श्रीलङ्का, म्यान्मार, क्याम्बोडिया, लाओस्, इण्डोनेशिया आदि मुलुकमा बिस्तार गरेका थिए । त्यसैले नेपाली भूमिमा रहेर सद्धर्मको श्रवण, अध्ययन या चिन्ततन–मनन र अभ्यास गर्नु सबैका लागि प्रेरणास्पद हुने उद्देश्यका साथ महाअभिषेक आयोजना गर्न लागिएको आयोजकले जानकारी दिएकाे छ । 

यस महाभिषेकमा हजारौं सर्वसाधारणको उपस्थिति हुने र नेपालबाहिरका बौद्ध पथमार्गीहरुको समेत सहभागिता हुने आयोजकको अपेक्षा छ ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।