Nov 30, 2023
तिलोत्तमा । तिलोत्तमा नगरपलिका वाड नम्बर २ की पूर्णकला भट्टराई विकले प्रतिवेदन लेखेर निर्धक्कसँग वाचन गर्न सक्छिन् । । प्रतिवेदन लेख्न र निर्धक्क वाचन गर्ने सामर्थ्य उनलाई तालिमले दिएको हो । ‘पहिले केही जानेकी थिइन अहिले प्रतिवेदन लेख्न र वाचन गर्न जानेकी छु । साथै माइन्युट पनि लेख्न सक्ने भएकी छु ।’ पूर्णकलाले भनिन् । यतिमात्र होइन नेतृत्व के कसरी गर्ने कसरी सबैको अगाडि प्रस्तुत हुने भन्नेबारे पनि उनले सिकेको बताइन् ।
यति धेरै आत्मविश्वास उनलाई तिलोत्तमा नगरपालिकाको सहयोगमा सामुदायिक जागरण विकास मञ्चले प्रदान गरेको दलित महिला जनप्रतिनिधिको लागि क्षमता विकास तालिमले दिएको हो । २०७९ को स्थानीय तहको निर्वाचनमा उनी तिलोत्तमा नगरपालिकाको वाड नम्बर २ बाट दलित महिला जनप्रतिनिधिको रूपमा निर्वाचित भएकी हुन् । पूर्णकलाले यो पाँच दिनको तालिम निकै महत्वपूर्ण रहेको बताइन् । यस्तो किसिमको तालिमले आफूहरूको क्षमता वृद्धि गर्न धेरै सघाउ पुर्याएको बताउँदै ५ दिनको लागि मात्रै नभएर अन्य समयमा पनि हुनुपर्नेमा जोड दिइन् ।
त्यस्तै वाड नम्बर ५ कि सहभागी प्रमिला सुनारले पनि यस तालिमले प्रभावकारी भूमिका खेलेको बताइन् । ‘वाड सदस्यहरूलाई खासै बोल्न अवसर नहुने हुँदा बोल्ने बानी हुँदैन । अहिले यस तालिममा बोल्नेदेखि धेरै महत्त्वपूर्ण विषयहरू सिक्न पाएकोमा खुसी लागेको छ । ’ प्रमिलाले बताइन् । अघिल्लो २०७४ को स्थानीय तहको निर्वाचनमा पनि वाड सदस्यको रूपमा एक कार्यकाल पूरा गरेकि हिरादेवी बिक यसपालीको स्थानीय तहको निर्वाचनमा पनि दलित महिला जनप्रतिनिधिको रूपमा निर्वाचित भएकि हुन् ।
उनलाई पनि पाँच वर्षे कार्यकालमा खासै बोल्ने अवसर जुरेन । त्यसैले बोल्ने बानी परेन । त्यसकारण बोलीको बिकास हुन सकेन । अहिले यो तालिमले भने धेरै कुरा सिक्ने अवसर मिलेको बताइन् । पूर्णकला , प्रमिला र हिरादेवी मात्र होइन यहाँ नगरका १७ वटै वाडका दलित महिला जनप्रतिनिधिहरू सहभागी भएका छन् । तालिममा सहभागी सबैले धरै कुरा सिक्न पाएकोमा खुसी छन् । तिलोत्तमा नगरपालिकामा स्थानीय दलित जनप्रतिनिधिका लागि क्षमता विकास तालिम गत बुधबारबाट सुरू भएको छ । सामुदायिक जागरण विकास मञ्चको आयोजना र तिलोत्तमा नगरपालिकाको सहयोगमा बुधबारबाट तालिम सुरू भएको हो । यही जेष्ठ २८ गतेसम्म तालिम सञ्चालन हुने नगरपालिकाले जनाएको छ ।
तालिममा नगरका सत्र वटै वडाका सत्र जना दलित महिला जनप्रतिनिधिको सहभागिता रहेको छ । कार्यक्रममा सामुदायिक जागरण विकास मञ्चका अध्यक्ष रामबहादुर विकले प्रशिक्षण दिएका थिए । त्यस्तै तिलोत्तमा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत नारायण अर्यालले नेतृत्व विकास र योजना निर्माणबारे तालिम प्रदान गरेका थिए । बुधबार दिपा बिकले प्रशिक्षण दिएको नगरपालिकाका सामाजिक विकास समिति संयोजक रवि सेञ्चुरी जानकारी दिए ।
नगरपालिकाका सामाजिक विकास समिति संयोजक रवि सेन्चुरीले तालिममा सहजीकरण गरेका थिए । संयोजक सेञ्चुरीले नगर भौतिक विकाससँगै मानविय विकासमा केन्द्रित भई विभिन्न कामहरू गरिरहेको जनाएका छन् ।
प्रतिकृया दिनुहोस्