ताजा अपडेट »

फोक्सिङटार–राजापानी सडक कालोपत्रेको काम सुरु

सोमबार, २२ जेठ २०८०, ११ : ४३

खोटाङ । खोटाङको फोक्सिङटार–सिमपानी (राजापानी) सडक कालोपत्रेको काम सुरु गरिएको छ । गाईघाट–दिक्तेल सगरमाथा राजमार्ग (१०१ किलोमिटर)को महुरे–फोक्सिङटार सडक खण्ड अन्तरगत फोक्सिङटार–सिमपानी (२७ किलोमिटर) सडकमा प्राईमकोट राख्न सुरु गरिएको हो ।

ठेक्काको म्याद नाघेको वर्षदिनभन्दा बढी समय बितेपछि ठेकेदार कम्पनी देवनारायण पवन/मैनाचुली/खाम्पाचे जेभीले जेठ २० गतेदेखि फोक्सिङटार–सिमपानीको रसुवाघाट खण्डमा प्राईमकोट राख्न सुरु गरेको गाईघाट दिक्तेल सडक योजनाको कार्यालय उदयपुरका योजना प्रमुख गोपालप्रसाद खकुरेलले बताए । प्राईमकोटमाथि कम्तीमा ४८ घण्टापछि डिबीएसटी राखिन्छ । निर्माण कम्पनीले करिब चार किलोमिटर खण्डमा प्राईमकोट राखिसकेका छन् । 

खोटाङका प्रदेशसभा सदस्य भुपेन्द्र राईले ठेकेदार, सडक विभाग लगायतमा पुगेर निरन्तर दवाव सिर्जना गरेपछि निर्माण कम्पनीले प्राईमकोट राख्न सुरु गरेको हो । सडक कालोपत्रेको काम अलपत्र पार्ने ठेकेदारको बिरोधमा प्रदेशसभा सांसद पाँचकर्ण राई नेतृत्वको स्थानीयले पनि वैसाख १७ गते महुरे (नुनथला)मा सडकमै बसेर डेढ घण्टा चक्का जाम गरेका थिए । 

ठेकेदार कम्पनी देवनारायण पवन/मैनाचुली/खाम्पाचे जेभीले सम्झौता अनुसारको काम नगर्दा सडक कालोत्रेको काम वर्षौंसम्म अलपत्र परेपछि गाईघाट दिक्तेल सडक योजनाको कार्यालय उदयपुरले २०७९ पुस ८ गते फोक्सिङटार–सिमपानी (राजापानी) र उदयपुरको अँधेरी खोला–फोक्सिङटार सडक खण्डको ठेक्का तोड्ने निर्णय गरेको थियो । ठेक्का तोड्ने निर्णय विरुद्ध ठेकेदार अदालत पुगेपछि अदालतले अन्तिम फैसला नआएसम्मका लागि सडक कालोपत्रेको ठेक्का तोड्ने निर्णय कार्यान्वयन नगर्न, निर्माण कम्पनीलाई कालोपत्रेको नियमित काम गर्न दिन र समय–समयमा कामको प्रगतिबारे अनुगमन गर्न माघ ४ गते अन्तरिम आदेश दिएको थियो । तर अदालतको आदेशमा ठेक्का तोड्ने निर्णय उल्टाउन सफल भएका ठेकेदारले फर्किएर सन्तोषजनक प्रगती देखाउन सकेका छैनन् । 

अन्तिम फैसलाका लागि जेठ २४ गते तोकिएको पेशीमा कालोपत्रेको प्रगती विवरण पेस गर्नुपर्ने भएका कारण ठेकेदार काम गर्नैपर्ने दवावमा परेका छन् । अदालतको अन्तिम फैसला आफ्नोपक्षमा पार्नका लागि पनि ठेकेदारले काम गरेको देखाउन खोजेको अनुमान गरिएको छ । कालोपत्रेको प्रगती विवरण उपलव्ध गराउनका लागि अदालतले सडक विभागमार्फत पठाएको पत्र आइतबार गाईघाट दिक्तेल सडक योजनाको कार्यालय पुगेको छ ।

ठेक्काको म्याद समाप्त हुँदासम्म पनि खरिद सम्झौता बमोजिम कार्य सम्पादन गर्नेतर्फ कुनै चासो नदेखाएको भन्दै कार्यालयले ठेक्का तोडेको सुचना जारी गरेको थियो । ‘फैसलामा कसले हार्छ, कसले जित्छ, चासोको विषय होईन, खोटाङले हार्नु भएन । निर्माण कार्यले निरन्तरता पाउँदै योजना सम्पन्न हुनुपर्‍यो,’ प्रदेश सांसद राईले सामाजिक सञ्जालमा लेखेका छन्, ‘न्यायालयको फैसलालाई प्रभावित पार्न कोसिस गरिएको हो भने त्यो निकै महंगो पर्नेछ । अव खोटाङ झुक्किने छैन, ढाँटिने छैन । छलछाम अब खोटाङमा चल्दैन ।’ 

यस्तै महुरे–फोक्सिङटार सडक खण्डको ठेक्का महुरे–राजापानीको सिमपानी (२२ किलोमिटर) सडक कालोपत्रेको काम भारत कन्ट्रक्सन/सिद्धीशाही जेभीले लिएको छ । गत पुस अन्तिम सातादेखि निर्माणस्थलबाट उपकरण उठाएर अन्यत्र लैजान थालेको भारत कन्ट्रक्सन/सिद्धीशाही माघ ४ गते क्रसरको सामान उठाएर हिँडिसकेको छ । दिक्तेल–गाईघाट सडक तत्कालीन प्रधानमन्त्री मनमोहन अधिकारीले २०५१ फागुन १४ गते शिलान्यास गरेका थिए । 

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।