१४ चैत्र २०७९, मंगलवार

Mar 28, 2023

सरकाले चैत्र १ देखि ७ गतेसम्मलाई वन डढेलो सचेतना सप्ताहका रुपमा मनाउँदै आएको छ । वर्षेनी वनमा डढेलो लाग्दा वन, वातावरण र जैविक विविधतामा अनेकौं समस्याहरु थुप्रिन्छन् । भौतिकमात्र होइन मानवीय क्षति समेत हुने गर्छ । वन डढेलोकै कारण वनका पशुपंक्षीहरु डढेर नाश हुन्छन् । बहुमूल्य जडीबुटीहरु खरानी बन्छन् । वनस्पतिहरु जलेर राश लाग्छन् । किटपतंगको सर्वनाश हुन्छ । जसको कारण वातावरणीय असन्तुलन देखापर्न सक्छ ।

Advertisement

वर्षेनी हाम्रा वनजंगलहरुमा डढेलो कुनै न कुनै कारणले लाग्दै आएको पाइन्छ । खासगरी वन डढेलोको मुख्य कारण मानवीय हेलचक्राइ तथा असावधानी नै हो । प्राकृतिक कारणले कहिलेकाँही वन डढेलो लागेको नपाइने होइन तर वन विनाशका कारण त्यस्तो समस्या यतिबेला देखिन छाडेको छ । वनको घनत्वका कारण ठूल्ठूला चट्याङ्ग पर्दा वनमा डढेलो लाग्ने गरेको किताबमा पढ्न पाइन्छ । आज यस्तो कारण कितावी ज्ञानमात्र भएका छन् । कहिलेकाँही जंगलहुँदै बस्तीमा लगिएका बिजुलीका नाङ्गा तारहरु जोल्ठिएर डढेलो लाग्ने गरेको भेटिन्छ । चोरीनिकासी गर्ने क्रममा पक्राउ पर्ने डरका कारणले काठ तस्कारहरुले जंगलमा काठको प्रमाण नाश गर्न डढेलो लगाउने गरेको भेटिन्छ ।

मानवीय कारणले नै हाम्रा वनजंगलहरुमा डढेलो लाग्ने र वन विनाश हुँदैछ । घाँस पलाउन हाल्न होस् वा वर्षायाममा किर्ना वा भुसुनाबाट जोगिन वनमा डढेलो लगाउने चलन नयाँ होइन । त्यतिमात्र होइन, वनजंगली जनावरहरुलाई गाउँबस्तीमा पस्न नदिन वा सर्प लगायतका सरिसृपबाट जोगिन पनि वनमा डढेलो लगाउने चलन चलकै छ । भुड्की च्याउ लगायतका च्याउहरु फलाउने कुविचारको परिणाम नै वनमा डढेलो लगाउने गरेको पाइन्छ ।

बहुमूल्य वा लोपोन्मुख वनस्पति तथा जडीबुटीहरु डढेलोको कारण खरानीका राश बनेका छन् । ती वनस्पति र जडीबुटीहरु पुनः यस पृथ्वीमा नभेटिन सक्छन् । त्यसका निम्ति हामीले यतिबेला जोगाउनु पर्ने दायित्वलाई भुल्नु हुँदैन । क्षणिक लाभका कारण वन संरक्षणप्रतिको मोह भंग हुन सक्छ । वनको सुन्दरता नै वनस्पति,जडीबुटी र पशुपंक्षीहरु हुन् तर तिनीहरु डढेलोका कारण सखाप भएमा हाम्रो वन कुरुपतामा परिणत हुने छ । त्यसैले पनि हामीले हाम्रो वनजंगलमा डढेलो लाग्न दिनुहुँदैन ।

डढेलो लगाउनेहरुलाई नलगाउन सचेत गर्नुपर्छ । त्यसैले पनि सरकारले वन डढेलो सचेतना सप्ताह मनाउन थालेको हुनुपर्छ । आम उपभोक्ताहरुलाई आफ्नो वनको संरक्षणका लागि सचेतनामुखी अभियानका माध्यमबाट सचेतकीकरण गर्नुपर्छ । समृद्धिका लागि वन, सबैका लागि वन भन्ने नारालाई साकार बनाउन समेत वनमा डढेलो पस्न दिनुहुँदैन ।

हाम्रा वनजंगलमा रहेका बाघ,हात्ती,जरायो,मयुर ,गैंडा लगायतका पशुपंक्षीहरु हेर्नका लागिमात्र वर्षेनी लाखौंका संख्यामा आन्तरिक एवम् बाह्य पर्यटकहरु भित्रिएका छन् । पर्यटकहरु आउँदा हाम्रा चमेनागृह चलेका छन् ।

होटल, लज, रिसोर्टहरु सञ्चालनमा आएका छन् । जसका कारण लाखौंले रोजगार एवम् स्वरोजगार पाएका छन् । आफ्नै देशमा गरिखाने बाटाहरु फराकिला भएका छन् । पर्यापर्यटनका कारण होमस्टेहरु सञ्चालनमा आएका छन् । होमस्टेहरुमा पाक्ने रैथाने परिकारहरुले पर्यटकहरुका पेट भर्नेमात्र होइन,मुखै रसाउने गराएका छन् । स्थानीय सांस्कृतिक कार्यक्रमहरु फस्टाउने अवसर मिलेको छ । पर्यटकहरुले आँखामा नेपाली कलासंस्कृतिलाई सजाउने अवसर पाएका छन् । आम्दानी बढेको छ । वनमा डढेलो लाग्दा पर्यापर्यटनको अवस्था अकल्पनीय हुनेछ । जुन क्षतिले हामीलाई जुगजुगसम्म हानी गर्नेछ ।

वनमा लाग्ने डढेलोको कारण वनमा रहेका माटाहरु पाक्ने छन् । जसका कारण वर्खामा आउने अतिवृष्टिले पाकेको माटो सजिलै बगाएर लैजान्छ । त्यसले भू–क्षय हुनेछ । गाउँबस्तीहरु बगेर जान सक्नेछन् । गोठहरु बग्नुका साथै गाईबस्तुहरु मर्न सक्नेछन् । मानिसका घरहरु पहिरोले क्षति पुग्ने छ । नेपालको माटोले बंगालको खाडीमा पहाड बनेको वर्षौ भयो । वनमा डढेलो लाग्दै जाने हो भने यसको गतिमा कुनै कमी आउने देखिदैन । वनमा डढेलो लगाउन हुँदैन भन्ने कुरा पहिला मनमा साँच्नु पर्दोरहेछ ।

डढेलोबाट वन जोखाउन तिनाउको एक सामुदायिक वनमा अग्नीरेखा बनाउँदै उपभोक्ता

हेर्दा सामान्य डढेलो जस्तो लागेता पनि यसका दुष्परिणाम अनगिन्ति छन् । डढेलो निभाउन गएका नेपाली सेनाहरु आगोमा डढेर शाहदत्त प्राप्त गरेको कुरा हामीले नसुनेका कहाँ हौ र ? यसैका कारण हाम्रा उपभोक्ताहरु घाइते भएका,अंगभंग भएका र मृत्युवरण गरेका कुरा सुनेका छौं । यसका पीडाहरु हामीले भोग्न बाध्य छौं । त्यसैले आजैदेखि वनमा डढेलो लाग्न नदिन वा लागि हालेमा निभाउनका निम्ति सबै सचेत हौऔं । वन डढेलो सचेतना सप्ताहमा मात्र होइन,सदैव वनप्रतिको दायित्व निर्वाह गरौं । वनको समुचित प्रयोगका निम्ति पनि वन जोगाउनु पर्ने छ । वनमा डढेलो लागेमा हामीले हाम्रो वनको सही सदुपयोग गर्न सक्ने छैनौं । वन डढेलोको कारण धूँवा निस्किदा मानव स्वास्थ्यमा पार्ने असर हामीले भुलेका छैनौं ।

त्यसैले हूरीबतास लाग्ने बेलामा वनजंगलमा पिकनिक खाने छैनौं । प्रज्ज्वलनशील बस्तु वा सलाई, लाइटर लिएर वनमा पस्ने छैनौं । क्षणिक लाभका पछि दौडेर वनमा आगो झोस्ने छैनौं । वन हामीलाईमात्र होइन, हाम्रा पछिल्ला पुस्तालाई हस्तानान्तरण गर्नुपर्ने कुरालाई हामीले बिर्सिने छैनौं । वनमा डढेलो लगाउनेहरुलाई वन ऐन अनुसार कार्वाही र दण्डसजायँ हुन्छ भन्ने कुरा भुलेका छैनौं । वनमा डढेलो लगाउनेलाई कार्वाही भन्दा पनि आफ्ना सामुदायिक वनलाई डढेलोबाट जोगाउने उपभोक्ताहरुलाई पुरस्कृत गर्ने संस्कार र सभ्यताको विकास गरौं ।

प्रतिकृया दिनुहोस्

Flash News

‘लालपुर्जा लिँदा लाग्ने शुल्क धेरै भयो, घटाउनुको विकल्प छैन्’ मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु लागुऔषधसहित १० जना पक्राउ लटरम्म फूलेको आँपमा फड्के किराको प्रकोप बलात्कार आराेपमा एकजना पक्राउ विश्वप्रकाश शर्माले भने- गणतन्त्रमा विरोधीको मुख थुन्न पाइँदैन, युवालाई अविलम्ब रिहा गर जनताले चाहे अर्को पार्टी खोल्न सक्छु : भीम रावल मिटरब्याज पीडितसँग वार्ता गर्न समिति गठन, विधेयक दर्ताबारे मन्त्रिपरिषद्को बैठकमा निर्णय हुने एकीकृत समाजवादीको सचिवालय बैठक आह्वान घट्यो सुनकाे भाउ नायक शिव श्रेष्ठले पोडकास्ट चलाउने एमाले एक्लनु षडयन्त्रको शिकार कि नेतृत्वको कमजोरी ? प्रमोद खरेलको ‘कर्मै मेरो रैछ खोटी’मा शिल्पा पोखरेल र विक्रम एमालेमै बस्न अन्तिम बिन्दुसम्म प्रयास गर्नेछु : भीम रावल खुलामञ्च निषेधित क्षेत्र होइन, खुलामञ्चमा राख्ने तयारी गरिनु शंकास्पद : मेयर शाह महालक्ष्मी विकास बैंकले ऋणपत्र निष्कासन गर्न धितोपत्र बोर्डबाट पायो अनुमति कृषि विकास बैंकको आज लाभांश प्रस्ताव पारित हुँदै साथीले चलाएको बन्दुक पडकिदा गुरुङको मृत्यु बैंकको रकम लुटेको आरोपमा पक्राउ तीन जनालाई डाँका मुद्धा राज्यको लगानी बालुवामा पानी : आफ्नो भवन छाडेर भाडाको घरबाट सेवा