ताजा अपडेट »

लुम्बिनीमा मोरारी वापूको कथा वाचन विवाद साम्य, चार बुँदे सहमतीसँगै वाचन शुरु

मंगलबार, २४ माघ २०७९, २० : १९
6 Shares

लुम्बिनी । लुम्बिनीमा भारतीय सन्त मोरारी बापुद्वारा गरिने कथा वाचनको विषयलाई लिएर उत्पन्न विवाद साम्य भएसँगै कथा वाचन शुरु भएको छ । लुम्बिनी विकास कोषमा मंगलबार रूपन्देहीका प्रमुख जिल्ला अधिकारीको रोहबरमा बसेको बैठकले चार बुँदे सहमति गरेसँगै विवाद साम्य भएको हो । बैठकमा लुम्बिनी गुरुयोजना बमोजिम पवित्र उद्यान र अन्तर्राष्ट्रिय विहार क्षेत्रलाई कुनै पनि असर नपर्ने गरी सम्मेलन केन्द्रमा मोरारी बापुको कथा वाचन कार्यक्रमको कोषले व्यवस्थापन गर्ने सहमति भएको छ ।

नेपाल आदिवासी जनजाति महासंघका उपाध्यक्ष युवराज जिरेल, महासंघका केन्द्रीय कोषाध्यक्ष विमल सारू, संघर्ष समितिका संयोजक पार्वती घर्ती, नेपाल आदिवासी जनजाती महासंघ रूपन्देहीका अध्यक्ष चित्रलाल तुलाचन, लुम्बिनी विकास कोषका कोषाध्यक्ष ढुण्डिराज भट्टराई, कार्यकारिणी सदस्य विश्वराज पौडेल र पराम कथाका स्थानीय आयोजक संयोजक राजेश अग्रवालले सहमतिमा हस्ताक्षर गरेका छन । यस्तै माघ २३ गते पर्सा चोकमा शान्तिपूर्ण विरोध प्रदर्शनका क्रममा भएको घटनाको दुःख व्यक्त गर्दै घाइतेहरूको उपचारको व्यवस्था मिलाउने, घटनाको आवश्यक छानबिन गरी दोषीलाई कानुन बमोजिम कारबाही गर्ने सहमती पत्रमा उल्लेख गरिएको छ ।

विश्व शान्ति क्षेत्र लुम्बिनीका सन्दर्भमा यी विषयलाई लिएर कुनै पनि पक्षले विरोध कार्यक्रम नगर्ने सहमति गरिएको छ । त्यसै गरी लुम्बिनीमा सञ्चालन भएको राम कथाका विषयलाई लिएर विभिन्न बौद्ध मार्गीहरूले संवादका क्रममा राखेको सुझावलाई मध्यनजर गर्दै आयोजकहरूलाई ध्यानाकर्षण गराई कार्यान्वयन गर्ने, अन्तर्राष्ट्रिय ध्यान तथा सम्मेलन केन्द्र सञ्चालनमा आएका सरोकारका विषयहरूमा लुम्बिनी विकास कोषले बुद्ध, धर्म, संघ, दर्शन र परम्परा विपरीत नहुने गरी कार्यविधि बनाउने, उक्त कार्यविधि बनाउँदा बुद्ध धर्मसँग सम्बन्धित संघ संस्था र सरोकारवालासँग परामर्श गर्ने सहमति भएको छ ।

बैठकमा रुपन्देहीका प्रमुख जिल्ला अधिकारी भरतमणि पाण्डेय, लुम्बिनी विकास कोषका उपाध्यक्ष भिक्षु मैत्तय, कञ्चन गाउँपालिकाका अध्यक्ष नवराज ढकाल, रूपन्देहीका प्रहरी प्रमुख रविन्द्र रेग्मीको उपस्थिति थियो ।  

यसै बीच राम कथा प्रेमयज्ञ समितिको आयोजनामा लुम्बिनीस्थित अन्तर्राष्ट्रिय ध्यान केन्द्रको सभा हलमा प्रवचन शुभारम्भ गरिएको छ । प्रवचन शुभारम्भमा पूर्व गृहमन्त्री बालकृष्ण खाँण, रुपन्देही निर्वाचन क्षेत्र न. ५ का प्रतिनिधिसभा सदस्य बासुदेव घिमिरे, प्रदेशसभा सदस्य सिके गुप्ता, अर्का प्रदेशसभा सदस्य सन्तोष पाण्डे, लुम्बिनी विकास कोषका उपाध्यक्ष भिक्षु मैत्तय र स्थानीय तहका जनप्रपितिनिधिहरुको उपस्थिती रहेको थियो ।

नौ दिनसम्म चल्ने प्रवचनमा नेपाल बाहेक भारत लगायत विश्वभरका दुई हजार बढी श्रद्धालु लुम्बिनी आएको स्थानीय आयोजक समितिका संयोजक राजेशकुमार अग्रवालले जानकारी दिए ।

आध्यात्मिक गुरु मोरारीले यसअघि नेपालमा सन् २०२१ मा मुक्तिनाथ, २०२२ मा जनकपुरमा कथा वाचन गरिसकेका छन । यस्तै काठमाडौं र भुसुण्डी सरोवर तिलिचो तालमा पनि कथा वाचन भइसकेको अग्रवालले बताए । कार्यक्रम स्थलमा दैनिक नि:शुल्क भोजनको व्यवस्था गरिएको छ ।

प्रवचनले लुम्बिनीको पर्यटन प्रवर्द्धन र प्रचार-प्रसारमा ठूलो टेवा पुर्याउने अपेक्षा गरिएको छ। प्रवचनका लागि लुम्बिनी आएका सन्त मोरारीले सोमबार मायादेवी मन्दिरको दर्शन गर्दै पवित्र भूमीमा आउन पाउँदा परमआनन्द महसुस गरेको बताए । कार्यक्रमको चर्चित भारतीय धार्मिक टेलिभिजन च्यानल आस्थाबाट १७० बढी देशमा प्रत्यक्ष प्रशारणको व्यवस्था मिलाईएको छ ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।