ताजा अपडेट »

सरकारबाट बाहिरिने राष्ट्रिय स्वतन्त्र पार्टीको निर्णय, केही बेरमा पत्रकार सम्मेलन गर्दै

आइतबार, २२ माघ २०७९, १६ : ११
31 Shares

काठमाण्डौं । रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सरकारबाट बाहिरिने भएको छ । आइतबार बसको केन्द्रीय समिति तथा संसदीय दलको बैठकले सरकारबाट बाहिरने निर्णय गरेको हो । रास्वपा सरकार गठन भएको ४२ दिनमै फिर्ता हुने भएको हो ।

प्रधानमन्त्री गठबन्धनको भावनाअनुसार अघि नबढेको भन्दै सरकारबाट बाहिरिने निर्णय गरेको रास्वपाले सरकारलाई दिएको समर्थन भने कायमै रहने निर्णय भएको एक नेताले जानकारी दिए । यसबारे जानकारी दिन रास्वपाले केहीबेरमा पत्रकार सम्मेलन गर्दैछ । सभापति रवि लामिछानेको नागरिकता अवैध ठहर भएपछि गुमेको मन्त्री पदमा लामिछानेलाई तत्काल पुनर्बहाली गर्न प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ तयार नभएपछि रास्वपा असन्तुष्ट थियो ।

प्रचण्डले रवि गृहमन्त्री नबनाउने र गृह रास्वपालाई नदिने अडान लिँदै आएका थिए ।​ शनिवार गृहबाहेकको मन्त्रालय लिएर सरकारमा नै बस्ने गरी रविले सकारात्मक सन्देश प्रधानमन्त्री प्रचण्ड र एमाले अध्यक्ष ओलीलाई दिएका थिए । यस्तोमा भौतिक पूर्वाधार मन्त्रालय रविको पार्टीलाई दिएर जान प्रचण्ड सकारात्मक थिए । नयाँ प्रस्ताव आएपछि रास्वपाले शनिवार र आइतवार दुई केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठक गरी सरकारबाट फिर्ता हुने निर्णय गरेको हो । बैठकमा सरकारबाट फिर्ता हुनुपर्ने र बाहिरिनुपर्ने दुवै मत थियो । रास्वपा बाहिरिए पनि सरकार अल्पमतमा भने पर्ने छैन ।

नयाँ पार्टी गठनको ६ महिनामा ९४ मंसिरमा० भएको प्रतिनिधिसभाको निर्वाचनमा रास्वपाले प्रत्यक्षमा ७ र समानुपातिकमा १३ गरी २० सीट जितेको थियो । समग्रमा चौथो दल बनेको रास्वपा सरकारमा एमाले र माओवादीपछि तेस्रो ठूलो शक्तिका रूपमा थियो । हाल रास्वपाका १९ सांसद छन् । ११ पुसमा लामिछाने उपप्रधानमन्त्री र गृहमन्त्री भएका थिए । पछि मन्त्रिपरिषद् विस्तारमा रास्वपाबाट शिक्षामा शिशिर खनाल र श्रममा डोलप्रसाद अर्याल मन्त्री भएका थिए । डा. तोसिमा कार्की स्वास्थ्य राज्यमन्त्री भएकी थिइन् । रास्वपाका इन्दिरा राना मगर उपसभामुख चयन भइसकेकी छिन् । रास्वापाका बाहिरिए पनि प्रधानमन्त्री प्रचण्डलाई बहुमत सांसदको समर्थन कायम छ ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।