मुलुकमा निर्वाचनको माहौल छ । मतदानका लागि दिन धेरै टाढा छैन । यसै अवसरमा विगतमा जस्तो यसपटक पनि दल र उम्मेद्वारहरुले ठूला–ठूला एजेण्डा र योजनासहित जनतालाई प्रभावित पार्दैछन्, आश्वाशन बाड्दै छन् । तर, अधिकांश जनताहरु भने सामान्य जीवनभन्दा माथि उठ्न सकेका छैनन् । उनीहरुले सामान्य तर आधारभूत आवश्यकताहरु पनि पूरा नभएको गुनासो गर्दैछन्। मतदाताको आफ्नो स्थान,वर्ग,अवस्थाअनुसारका आधारभूत मागहरुनै प्राथमिकता छन्।
दलहरुले घोषणा पत्रमा मेट्रो, रेल,सुरुङ मार्ग,प्रतिव्यक्ति आय २५ सय डलरसम्म, प्रविधिको उच्च विकास,वार्षिक ५ लाख रोजगार,रिङरोड, फराकिला सडक लगाएत सुत्केरीदेखि वृद्धाभत्ता वृद्धिका घोषणा तथा योजनाहरु ल्याएका छन् । तर, ती घोषणाप्रति जनताको रुचि र विश्वास दुबै छैन । किनकी सोही प्रकृतिका घोषणापत्रहरु निकै पहिलेदेखिनै दलहरुले सार्वजनिक गर्दै आएका छन् । तर, व्यवहारमा भने सन्तुष्टिजनक तवरले पूरा गरेका छैनन् । कैंयौं योजना त वर्षौंदेखि होइन, दशकौंदेखि पूरा भएका छैनन् र, निरन्तर समावेश पनि हुँदै आएका छन्।
मुलुक आसन्न निर्वाचनको करिब पूर्वसन्ध्यामा छ । मतदानको दिन अब एकसाता पनि छैन । जति–जति निर्वाचन निजिकियो त्यति–त्यति उम्मेद्वारहरु सक्रिय रुपमा मतदाता भेटघाट तथा आफ्ना एजेण्डा सुनाउन उनका गाउँ,टोलमा घरमा पुगेका छन् । प्रतिनिधिसभा र प्रदेशसभा २ तहका प्रतिनिधिका लागि हुन गइरहेको निर्वाचनमा ठूला, साना दलदेखि स्वतन्त्रका उम्मेद्वारहरु सक्रिय रुपमा प्रतिष्पर्धामा छन् ।
निर्वाचनको समयमा मतदाता प्रभावित पार्नका लागि दलहरु तथा उम्मेद्वारहरुले ठूला–ठूला योजना र एजेण्डाहरु बताएका छन् । ठूला दलहरुले लामो घोषणा पत्रनै सार्वजनिक गरेका छन् । उम्मेद्वारहरुले आफ्ना एजेण्डा र योजनाहरु बताउँदै हिँडेका छन् । तर, जनता,अधिकांश मतदातामा भने चुनावी उत्साह छैन । उनीहरुलाई दलका ठूला एजेण्डा,योजना र सपनासहितको घोषणाप्रति चासो छैन । अझै भनौं उनीहरुलाई फुर्सद पनि छैन।
आमुक दलका नेता, उम्मेद्वार,सक्रिय कार्यकर्ता र केहि सिमित नजिकका मान्छेहरु बाहेक अधिकांश आम नागरिकमा निर्वाचनको रौनक र उत्साह छैन। लोकतन्त्रको सुन्दर पक्ष तथा आधार नेतृत्व चयनको सूत्राधार निर्वाचन जस्तो महत्वपूर्ण र विशेष अवसरमा पनि नागरिकमा उत्साह किन छैन ? ५ वर्ष प्रदेश र मुलुकको नेतृत्व र जनप्रतिनिधि चयनमा अधिकांश जनताको उत्साह नदेखिनु पक्कैपनि सुखद तथा सकारात्मक पक्ष होइन ।
५ वर्षमा हुने निर्वाचनको समयमा पनि धेरैजसो जनतामा यसप्रति चासो,चिन्ता र सक्रियता नदेखिनुमा जनताका साझा तथा केही आ–आफ्ना कारणहरु रहेका छन् । वर्षौंदेखि निरन्तर निर्वाचनमा मतदान गरेर,नेतृत्व चयन गर्दा पनि स्थिर सरकार नबन्नु,जनताका आधारभूत आवश्यकताहरु पूरा नहुनु भएपनि विश्वसनिय नहुनु, भ्राष्टाचार बढ्नु, नेतृत्व र नेताको विलासिता जीवनशैली, नेतृत्वमा रहेर, राष्ट्रियता,शासन पद्धति र जनताप्रति उत्तरदायी नबन्नु, जनताका आवश्यकता, आधार र सरोकारका विषमा नेतृत्व र नेता गम्भीर नबन्नु जस्ता व्यवहार गतिविधिका कारण जनता दल, नेतृत्वप्रति रुष्ट बन्दै आएका छन् ।
अर्कोतर्फ मुलुकमा अस्थिरता छाउनु, महङ्गी,बेरोजगारी बढ्नु,आयस्रोत घट्नु,वैदेशिक रोजगारमा जानेको संख्या बढ्नु, न्यायमा समान पहुँच नहुनु, सुशासन कायम नहुनु, लगानीको ग्यारेन्टी नहुनु, सबै किसिम र वर्गका जनतालाई राज्यको राहत र संरक्षकत्व नमिल्नु लगाएतका कारणले निर्वाचन प्रणाली,नेता र नेतृत्वप्रति जनताको विश्वास घट्दै गएको छ, उल्टो उनीहरुमा वितृष्णा छाएको छ । लोकतन्त्रमा मतको मूल्य, मान्यता र महत्व उच्च रहेको छ । मतको आधारमा नै प्रतिनिधि र नेतृत्व चयन गर्ने विधि हो निर्वाचन । तर, निर्वाचनप्रति नै जनताको सक्रियता र विश्वास घट्नुमा दल र प्रतिनिधिको कमजोरी हो ।
अधिकांश मतदाताका चाहना,माग ठूला र धैरै छैनन् । सुशासन,आधारभूत आवश्यकताको पूर्ण प्रतयाभूति,रोजगारको ग्यारेन्टी, स्थिर राजनीति तथा सरकार । यतिनै मतदाताको मुख्य तर, महत्वपूर्ण माग रहेका छन् । सामान्य जीवनयापन गर्नेदेखि लगानीको वातावरण र सुरक्षानै जनताका माग हुन्। अधिकांश जनता गरिखाने वातावरणको खोजीमा छन् । गाउँबाट शहर, पहाडबाट शहर तथा तराइमा बसाइ सर्नेदेखि विदेशी सबैका आ–आफ्ना बाध्यता छन् । उनीहरु ती बाध्यात्मक परिस्थितिको समाधान गर्ने नेतृत्व चाहान्छन् । कुनैपनि देशको विकासका लागि पहिला सामान्य तथा आधारभूत आवश्यकताको परिपूर्तिको आवश्यकता हुन्छ ।
द्वन्द्व,भूकम्प,कोभिड,गरिबी,अस्थिर राजनीति लगाएत विविध कारणले अधिकांश जनता ग्रसित छन् । कैंयौं घरबार,सहाराविन नागरिक छन्,कैंयौ गरिबीको रेखामुनी छन्,कैंयौं बेरोजगार छन्, मजदूरी गर्नेको काम हराएको छ, कैंयौं मध्यमवर्गीय परिवार महङ्गीको थिचाइमा छन्, कैंयौं लगानीकर्ताको लगानी डुबेको अवस्था छ, कैंयौं लगानीकर्ता चर्को व्याजको मर्कामा छन्, ठूला उद्योगमा संकट छ, यस्ता धेरै समस्या छन् । समग्र मुलुक आर्थिक संकटमा छ ।
यस्तो अवस्थामा संकट समाधान र व्यवस्थापन मुख्य प्राथमिकता र एजेण्डा हुन् । सम्पूर्ण जनताको चाहना र माग हो । तर, दलहरु यी सबै कुराको समाधान र व्यवस्थापन भन्दापनि समृद्धि,विकास र विलासिताका एजेण्डा र घोषणमा केन्द्ति छन्, आश्वाशन बाडिरहेका छन्, सपना, लोभ देखाइरहेका छन् । जनताको जीवन महत्वपूर्ण हो, राष्ट्र र राष्ट्रको अस्तित्व महत्वपूर्ण र गमभीर विषय हो । ५ वर्ष मुलुकको नेतृत्वका लागि तछाड–मछाड गर्नेहरुले जनताका समस्या, चाहना र माग गम्भीर रुपमा बुझेर समाधान र व्यवस्थापनतर्फ लाग्ने कि उल्टो सपना र आश्वाशनको भारी थोपर्ने ? २१ औं शताब्दीमा अन्य मुलुकहरुले कल्पनै गर्न नसक्ने विकास गरिरहँदा प्राकृतिक रुपमा धनि,वीरहरुको देश भनेर परिचित हाम्रो मुलुकले आधारभूत आवश्यकताकै लागि संघर्ष गर्नुपरेको छ ।
प्रतिक्रिया