ताजा अपडेट »

निर्वाचनका कुरा

बुधबार, १६ कार्तिक २०७९, ०७ : २५
33 Shares

प्रदेशसभा तथा प्रतिनिधिसभा निर्वाचन–२०७९ को माहौलले मुलुक तातेको छ । महान चाडपर्वहरुको समाप्तिसँगै चुनावी माहौलले अग्रता लिएको छ । अर्कोतर्फ मौसम पनि परिवर्तन हुँदौ बिस्तारै तापक्रम घट्दै चिसो बढ्दो छ । चाडपर्व र मौसम परिवर्तनभन्दा पनि मुलुकको नेतृत्व परिवर्तन मुख्य विषय हो । मौसम र पर्व वर्षैपिच्छे परिवर्तन र आएपनि नेतृत्व रोज्ने चुनाव भने ५ वर्षपछि आएको छ । जुन अवसर प्राप्तिका लागि मुलुकलाई दशकौं लागेको थियो ।

मुलुक संघीय प्रणालीमा प्रवेश गरेपछिको चौथो तथा नेपालको संविधान २०७२ जारी भए पछिको दोस्रो निर्वाचन हुँदैछ । निर्वाचन केवल नेतृत्व परिवर्तनका लागि मात्रै होइन, समग्र मुलुकको अवस्था र जनताको स्तरोन्नती तथा परिवर्तनका लागि बलियो माध्यम र आधार हो । संघीय व्यवस्था पछिको निर्वाचन अगाडि पनि मुलुकमा धेरै निर्वाचनहरु भएका थिए । २००७ सालमा जहाँनिया राणाशासनको अन्त्यपछि बहुदलीय व्यस्थाको सुरुवात भएको थियो । सोही समयदेखि नेपालमा आम निर्वाचन हुँदै आएको छ । पञ्चायती व्यवस्थामा पनि निर्वाचन भएको थियो । लोकतन्त्रमा निर्वाचन सुन्दर र सवल पक्ष मानिन्छ । ‘जनताद्वारा जनताका लागि जनताको सहभागितामा’ भन्ने मूल मर्मका लागि पनि चुनाव अपरिहार्य र महत्वपूर्ण हुन्छ । निर्वाचन जनताको मत जाहेर गर्ने औपचारिक तथा कानूनी प्रक्रिया हो ।

नेपालमा वि.सं. २००७ सालको परिवर्तनपछि आधुनिक प्रविधि अनुसारको प्रजातान्त्रिक निर्वाचन प्रणालीको सुरुवात भएको हो । २०१५ को संसदीय निर्वाचन–२०१५ पछि मुलुक औपचारिक निर्वाचन प्रणालीमा अगाडि बढ्यो । पञ्चायती व्यवस्था अन्तर्गतका ग्राम तहदेखि राष्ट्रियस्तरका निर्वाचन, २०४६ पछि संसदीय तथा स्थानीय निकाय निर्वाचन र गणतन्त्र पश्चात संंविधान सभाको निर्वाचन प्रजातान्त्रिक निर्वाचनहरू हुन् । यो प्रक्रिया भनेको बहुमत प्राप्त गर्नेले नेतृत्वमा चयन हुन पाउने प्रक्रिया हो । नेतृत्वका लागि निर्वाचन राजनीतिक दलहरुबीच मात्रै नभई विभिन्न संघसंस्था वा दलहरुभित्रै पनि हुने गर्दछ जसको साझा उद्देश्य बहुमतले नेतृत्व चयन गर्नु हो ।

आगामी ५ वर्षका लागि मुलुकमा मंसिर ४ गते प्रदेशसभा र प्रतिनिधिसभा सदस्यको निर्वाचन हुन गइरहेको हो । देशभरबाट प्रतिनिधिसभातर्फ १६५ र समानुपातिकतर्फ ११० जना उम्मेद्वार विजयी भई प्रतिनिधि हुनेछन् भने प्रदेशसभातर्फ प्रतक्ष्य र समानुपातिक गरी ५५० जना निर्वाचित हुनेछन् । चुनाव आउन अब २० दिन मात्रै बाँकी रहेको छ । निर्वाचनका लागि निर्वाचन आयोगले १२० दिनको समयावधी तोकी तिव्र तयारी गर्दै आएको छ । हालसम्म मतदाता नामावली संकलनदेखि, उम्मेद्वार मनोनयन,कायम गर्दै ७७ वटै जिल्लामा पहिलो चरणको निर्वाचन सामग्री पठाइसकेको छ ।

५ वर्षका लागि ८२५ जनप्रतिनिधि छनौट गर्न १ करोड ८० लाख बढी मतदाता रहेका छन् । १८ वर्षमाथि पुगेका १ करोड ८० लाख बढी मतदाता रहेपनि ठूलो संख्यामा विदेश रहेका छन् । जसका कारण लाखौं युवा मतदाता मतदान र नेतृत्व चयनका लागि मत दिन असमर्थ रहनेछन् । प्रविधिको आजको युगमा देशभित्रै टाढा र भएका विदेश भएका नेपाली नागरिकले मतदानबाट बञ्चित हुनु दुःखद हो । आगामी निर्वाचनमा त्यसतर्फपनि राज्य र आयोगको ध्यान जान आवश्यक छ ।

निर्वाचनको सम्मुखमा उम्मेद्वारहरुको जनताको घरदैलोमा पुगेका छन् । अधिकांश पार्टीहरु, उम्मेद्वारहरुले आफ्ना घोषणा,एजेण्डा सार्वजनिक गर्दै हिँडेका छन् । कृषिप्रधान देशमा अधिकांश कृषक छन् । कतिपय उम्मेद्वारहरु किसानका घर, आँगनमै पुगेका छन् कतिले सँगै धान पनि काटेका छन् । अघिपछि गाउँघरमा देख्न नपाइने नेता यतिबेला भने बासै गाउँ–घरमा छ । जनताका दुःखमा पनि वेवास्ता गर्ने अधिकांश नेता यतिबेला सुख,चाडपर्वमा पनि जनतामाझ छन् ।

यसबाट पनि गणतान्त्रिक पद्धतिमा जनता सर्वेसर्वा हुन्छन्,जनमतको उच्च महत्व र आवश्यकता हुन्छ भन्ने पुष्टि हुन्छ । तर, निर्वाचित भइसकेपछि निर्वाचनका समयमा बोलेका कुरा भुल्ने,प्रतिवद्धता पूरा नगर्ने, घोषणा गरेका योजना कार्यान्वयन नगर्ने, निर्वाचन क्षेत्र र जनताको पहुँचमाभन्दा नेतृत्व र केन्द्रमा मात्रै केन्द्रित हुने जस्ता गतिविधिले राजनीतिक दल र नेतृत्वप्रति जनताको विश्वास र अपेक्षा गुम्दै आएको छ । जुन स्थानीय तहको निर्वाचनमा पनि देखिएको छ । गत वैशाखमा सम्पन्न स्थाननीय तहको निर्वाचनमा केहि गैरराजनीतिक पृष्ठभूमि,स्वतन्त्र उम्मेदवारहरुको जीत र उनीहरुको कार्यशैलीबाट जनता प्रभावित तथा आकर्षित भएका छन् ।

तसर्थ यसपटकको प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचनको परिणाम फरक देखिने आंकलन गरिएको छ । मुलुकको नेतृत्वको लागि हुने औपचारिक निर्वाचन ठूला दलहरुको महासंग्राम पनि बन्दै आएको छ । आगामी निर्वाचनका लागि ठूला दलदेखि साना दलसम्म गठबन्धन र चुनावी तालमेल गरी निर्वाचनमा होमिएका छन् । पटक–पटक निर्वाचनमार्फत नेतृत्व परिवर्तन भएपनि जनता र मुलुकको अवस्थामा भने परिवर्तन नभएको उल्टो देशमा विकासभन्दा क्षति भएको जनताको अवस्था दयनीय भएको यस समयमा निर्वाचनमा दलले ल्याएका घोषणा पत्र र आश्वासनहरुप्रति जनताको आक्रोश पनि रहेको छ ।

यद्यपी निर्वाचन सबैका लागि विशेष अवसर हो । नेतृत्व चयनमा सहभागी हुनु,मतदान गर्नु, नागरिकको कर्तव्य, अधिकार र दायित्व हो । राज्यमा हुन गइरहेको निर्वाचन र निर्वाचनपश्चातको परिणामलाई सफल बनाउनु सबैको दायित्व हो । चुनावी अभियान चलिरहँदा, पार्टी, उम्मेद्वार, कार्यकर्ता, प्रतिनिधि सरोकारवाला सबैले निर्वाचन, मत र नेतृत्वको आवश्यकता र महत्व बुझ्दै आ–आफ्नो स्थानबाट भूमिका खेल्न आवश्यक छ ।निर्वाचन लोकतन्त्रको सुन्दर पक्ष हो, नेतृत्व चयन गर्ने सुनौलो अवसर हो । गणतान्त्रिक पद्धतिमा जनता सर्वेसर्वा हुन्छन् भनेर प्रमाणि गर्ने बलियो आधार पनि हो । नागरिकले आफ्नो मताधिकारको प्रयोग र कर्तव्य पूरा गर्ने माध्यम पनि हो । तसर्थ निर्वाचनमा हरेक नागरिकले आफ्नो बुद्धि,विवेक र मनले मतदान गरी आफ्नो प्रतिनिधि र मुलुकको नेतृत्व चयन गर्नुपर्दछ ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।