ताजा अपडेट »

सद्भाव र समृद्धिका लागि स्वरोजगार र उत्पादन बढोस्

विहीबार, १० कार्तिक २०७९, ०८ : ३७
100 Shares

यतिबेला घर–घरमा तिहारको रमझम छ । वर्षदिनमा आएको तिहार मनाउँदै गर्दा आज अन्तिम दिन अर्थात् तिहारको भाइटिका । मुलुकभर आज भाइटिकाको तयारी रहेको छ । तिहार लागे लगत्तै घर,समाज, मुलुकनै तिहारमय बनेको छ । विगतका २ वर्षका तिहार कोरोनाका कारण प्रभावित बनेका थिए । २ वर्ष खासै तिहारमा रौनक देखिएन । यस वर्ष भने रौनक देखिएको छ ।

२ वर्षका गतिविधि र शैलीको तुलनामा यस वर्षको तिहारमा रौनक देखिएको हो तर, तुलनात्मक रुपमा पहिलेका तिहारमा जस्तो उल्लासमय भने देखिएको छैन। कोरोना महामारीको करिब अन्त्य भएतापनि कोरोनापछिको मुलुक र जनताको अवस्थाका कारण सामान्य जनजीवन पनि पनि पहिलेजस्तो सामान्य बनेको छैन । देशको अर्थतन्त्रमा देखिएको जस्तै समस्या सर्वसाधारणदेखि उद्योगी व्यवसायीमा पनि कायमै रहेको छ । अर्कोतर्फ महङ्गी बढेको छ, पर्वहरु खर्चिला बन्दै गएका छन्।

नेपाल र नेपालीहरुको दोस्रोे ठूलो र लामो पर्व मानिन्छ तिहार । ५ दिनसम्म मनाइने हुँदा यस पर्वलाई यमपञ्चक पनि भन्ने गरिन्छ । कार्तिक कृष्ण त्रयोदशीदेखि कात्तिक शुक्ल द्वितीयासम्म यमराज पनि आफ्ना दैनिक क्रियाकलाप स्थगित गरी बहिनी यमुनाकहाँ पुगेर टीका ग्रहण गर्ने भएकाले यस पर्वलाई यमपञ्चक भनिएको हिन्दू शास्त्रमा उल्लेख गरिएको छ । यमपञ्चकमा क्रमशः काग, कुकुर, गाई, लक्ष्मी, गोवर्धन र भाई पूजा गरिन्छ ।

वर्ष २०७९ को तिहारको आज चौथो दिन अर्थात् गोवद्र्धन पर्वत पूजा । यस अगाडि काग,कुुकुर र गाई,लक्ष्मी पूजा भइसकेको छ । तिहारको सुरुवातसँगै घर सजाउने, झिलीमिली बत्ती जडान गर्ने, लक्ष्मी पूजा गर्ने , विभिन्न परिकारहरु बनाउने लगाएत गतिविधिहरु भइसकेका छन् भने केही अन्तिम दिन अर्थात् भाइटिकासम्म पनि हुने गर्दछन् । विशेषगरी दिदी–भाई,दाजु–बहिनीले एक अर्कालाई टिका लगाई आशिर्वाद र उपहार आदान–प्रदान गर्ने हुँदा यस पर्वलाई भाइटिका पनि भनिन्छ ।

त्यस्तै तिहारलाई दिपावली पनि भन्ने गरिन्छ । हिन्दी शब्दको त्योहार शब्दबाट विकृत हुँदै तिहार बनेको हो । जसअनुसार दिपावली अर्थात् उज्यालो बत्ती बाल्ने पनि गरिन्छ । तिहारलाई उज्यालो पर्वका रुपमा पनि मानिन्छ । र,पछिल्लो समयमा यो पर्वमा झिलीमिली निकै महत्वपूर्ण र आकर्षकका रुपमा पनि लिइन्छ । यस्ता विभिन्न र विशेष विशेषताका कारण तिहारमा उत्साह, हौसला र रौनकता बढी हुन्छ ।

परापूर्वकालमा बहिनी यमुनाले यसै दिन दाजु यमराजलाई विशेष मान–सम्मान गर्दै भाइपूजा गरेको धार्मिक महत्व छ । यमपञ्चकका पाँच दिन यमराजले यमुनाको घरमा बास गर्छन् भन्ने हाम्रो धार्मिक विश्वास छ । भाइटीकाको दिन दियो, कलश र गणेशको पूजा गर्ने, यमराजको आह्वान गर्ने, बिमिरो, ओखर, तेल, मखमलीको माला, दूबोको टीका, कटुस आदिको प्रयोगमा आफ्ना दिदीबहिनी र दाजुभाईको सुख–समृद्धि, अरोग्य एवम् दीर्घायूको कामना गरिन्छ ।

तिहारको फरक–फरक नाम र विशेषता भए जस्तै यसका सकारात्मक र प्रभाव पार्ने पक्षहरु पनि धेरै छन् । दिदी–भाई,दाजु–बहिनीबीचको आत्मिय भावनात्मक सम्बन्धलाई जोडी राख्न र निरन्तरताका लागिसँगै परमम्परा र संस्मृतिको संरक्षण तथा प्रवद्र्धन ,सामाजिक सद्भाव, आर्थिक क्रियाकलाप लगाएतसँगै मनोरञ्जनका लागि यो पर्व निकै महत्वपूर्ण रहेको छ । झिली–मिली घर सजाउनु, जनावर,चरा–चुरुङ्गीको पूजा–आज,पिङ, देउसी–भैलो खेल्नु,लगाएतका क्रियाकलापहरुले यो पर्व निकै रोचक र मनोरञ्जनात्मक पनि हुने गर्दछ ।

पछिल्ला वर्षहरुमा यो पर्वमा केहि विकृतहरु पनि देखिएका छन् । यस पर्वलाई हुने–खानेले भड्किलो र देखावटीको अवसर बनाएको र हुँदा खानेले पनि पछ्याएकोसँगै जथाभावी जुवा–तास खेल्ने, पटका पड्काउने, भैलोको नाममा पश्चिमा गीत तथा संस्कृतिलाई प्राथमिकता दिने लगाएतका गलत तथा खराव प्रवृत्ति पनि देखिएका छन् । जुन पर्वको महत्व र मर्मविपरित हुन् । तिहार धार्मिक,मौलिक,परम्परागत, सद्भाव , मेलमिलापको पर्व हो । सोहीअनुसार मनाउन आवश्यक छ । सभ्यताको , दिर्घायू,धैर्यता र समृद्धिसँगै उल्लासको पर्व हुनाले यस पर्वलाई विशेष चासो र महत्वका साथ मनाउने गरिन्छ ।

आज टिका ग्रहण गरेसँगै यस वर्षको तिहार करिब सकिन्छ । यद्यपी देउसी–भैलो भने एकादशीसम्म खेल्ने चलन छ । त्यस्तैगरी सजाइएका घरका बत्तीहरुपनि सोहीदिनसम्म राखिने गरिन्छ । पर्व वर्षमा एक पटक आउँछन्, जान्छन् । तर, पर्वको महत्व, महिमा,गरिमा र मौलिकतालाई भने निरन्तर कायम राख्नु पर्दछ । तिहार समृद्धिको पर्व हो । तर, तिहारमा प्रयोग हुने भाइ मसलादेखि घाँटीमा लगाइने माला पनि विदेशबाट निर्यात हुने गर्दछ , जसबाट नेपाली मुद्रभा भारत लगाएत विदेश जाने गर्दछ । वर्षेनी तिहार मनाउँदा करोडौं रकम बाहिरने गर्दछ । तसर्थ पर्वको महत्व र भावसँगै व्यवहारिक रुपमा उतार्न पनि आवश्यक छ ।

मौलिक पर्वमा कृतिम बत्ती,दियो, मालाको प्रयोग पनि बढ्दो छ । यता गाई पूजाका लागि गाईको पनि अभाव देखिने गरेको छ । तिहार लगाएतका पर्वहरुमा आवश्यक पर्ने बस्तुहरु स्वदेशमै उत्पादन र व्यवस्थापन गर्नतर्फ सबैको ध्यान जाओस् । मौलिक पर्व मनाइँरहँदा मौलिकताको पनि संरक्षण र प्रवद्र्धन होस् । अर्कोतर्फ दिदी–भाई, दाजु–बहिनीको पर्वमा कैंयौं दाजु विदेश छन् भने पछिल्लो समय कैंयौका दिदीबहिनीहरु पनि विदेश छन् । मुलुकमा रोजगारीको अभाव र केहीगर्ने सहज वातावरण नहुँदा यस्तो समस्या निम्तिएको हो । सम्बन्ध,सद्भाव,समृद्धि आयातित बस्तुबाट होइन स्वयम् उत्पादित वा स्वेदशी उत्पादन र संस्कारबाट अगाडि बढाउँदै प्रगाढ बनाऔं । तिहारको शुभकामना ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।