७ आश्विन २०८०, आईतवार

Sep 24, 2023

विषय प्रवेश
आम चाहना अनुकूल केन्द्रीय चिन्तनमुखी सेवा, विकास र अवसरलाई गाउँ, टोल तथा घरदैलोसम्म विस्तार गर्ने विशिष्ट औजार हो सार्वजनिक सेवाप्रवाह । राष्ट्रको चौतर्फी विकास र समृद्धिका लागि हाल संघीय शासनलाई अंगिकार गरिएको हो । संघीय व्यवस्थाको सुसञ्चालनका लागि सार्वजनिक सेवाको दायित्व र जिम्मेवारी वृद्धि हुँदै आएको छ । सरकार र कर्मचारी दुबैको साझा जिम्मेवारी छ रथका दुई पाङ्ग्रा झैं ।

Advertisement

सार्वजनिक सेवाप्रवाहको मूल मर्म भनेकै सेवा, विकास र समन्वय नै हो । सबै तहका सरकारप्रतिको जनअपेक्षालाई समिपबाट नियाल्दै कार्यान्वयनमा थप सुधार गर्ने बेला हो आजको । वर्तमान सार्वजनिक सेवाप्रवाहका संरचनाहरूलाई सवल र सक्षम बनाउँदै एक अर्कामा प्रतिरोध होइन सहअस्तित्व र समभाव राखेर काम गर्न गराउनमा सबै लाग्नु पर्ने हुन्छ । सरकारका काम र कर्तव्यलाई बढी मात्रामा जनकेन्द्रित गरिनु आवश्यक छ ।

सार्वजनिक सेवाप्रवाह
सार्वजनिक सेवा राज्यको दायित्व र जनताको अधिकार हो । सरकार र राज्यले आफ्ना नागरिकहरूलाई निशुल्क वा सशुल्क वा अन्य कुनै प्रकारले उपलब्ध गराउने सेवा सुविधालाई सार्वजनिक सेवा भनिन्छ । जनतालाई अधिकतम सेवा दिनु आधुनिक राज्य व्यवस्थाको प्रमुख उद्देश्य हो । सेवाप्रवाहको पद्धति देशको भौगोलिक स्थिति, आर्थिक, सामाजिक र राजनैतिक परिवेशबाट निर्देशित हुन्छ । यस्तो सेवाको दायरा व्यापक हुनुका साथै प्रत्यक्ष वा अप्रत्यक्ष प्रकारको हुन्छ ।

नागरिकले सुपथ, सुलभ र समय सापेक्ष यथेष्ट सेवा पाउनु नै सार्वजनिक सेवाप्रवाहको मूख्य उद्देश्य हुन्छ । राज्यले जनताको हितका लागि प्रदान गर्ने सार्वजनिक सेवालाई सेवाग्राहीसम्म पु¥याउने प्रक्रिया र पद्धति नै सार्वजनिक सेवाप्रवाह हो । सेवाप्रवाहले सेवा सिर्जना हुने कुरादेखि सेवाग्राहीले सेवा प्राप्त गर्ने र सो सेवा सहज रुपमा उपयोग गर्ने कुरासम्म समेट्छ । राज्यले नागरिकलाई उपलब्ध गराउने सार्वजनिक सेवा छिटो, मितव्ययी, उचित समय र स्थानमा उपलब्ध गराउने प्रक्रियालाई सार्वजनिक सेवाप्रवाह भनिन्छ । कुनै पनि मुलुकको सरकार राम्रो छ वा छैन भन्ने कुरा त्यस मुलुकको सार्वजनिक सेवाप्रवाहको अवस्थाले बताउँछ । सरकारको प्रभावकारिता मापन गर्ने बलियो आधार भनेको पनि सेवाप्रवाह नै हो ।

तसर्थ राज्य वा सरकारबाट नागरिकहरूको हीत संरक्षण एवम् सम्वद्र्धनका लागि राज्यका श्रोत साधनहरूको समुचित परिचालनको माध्यमबाट सार्वजनिक चाँसो र सरोकारका कार्य तथा भूमिकाहरू निर्वाह गर्ने माध्यम सार्वजनिक सेवाप्रवाह भन्न सकिन्छ । समग्र सेवाप्रवाहका लागि अहिले ३ वटा तह (संघीय, प्रदेश र स्थानीय) को व्यवस्था गरिएको छ ।

जनताको नजिकमा रहने गरी ६ वटा महानगरपालिका, ११ वटा उपमहानगरपालिका, २७६ वटा नगरपालिका र ४६० वटा गाउँपालिका गरी ७५३ स्थानीय तह ६७४३ वडाहरु एवम् ७७ जिसस क्रियाशील रहेका छन् । संघ र स्थानीय तहको विचमा समन्वयकारी भूमिकामा ७ वटा प्रदेशहरू रहेका छन् भने केन्द्रमा नेपाल सरकार रहेको छ । सरकारको काम गराइमा रहेका अधिकांश संरचनाहरू तथा कार्यगत संस्कृति समेत धरै हदसम्म फेरिएको पाइन्छ ।

सेवाप्रवाहको संवाहक निजामती सेवा
जनचाहना अनुकूल संघीय सेवाप्रवाह स्थापित गर्न सिकाउँछ निजामती सेवाले । संघीयतालाई सरल र सहज तुल्याउँदै सबैलाई समेट्न वर्तमान निजामती सेवा अपरिहार्य छ । निजामती सेवाको मूल मर्म भनेकै सेवा हो । “सेवा हीः परमो धर्म” सनातनी संस्कृति हो । मिजास र मिठासले मित्रताको पहिचान हुन्छ । मैत्रीपूर्ण सेवाप्रवाह गर्ने तह निजामती सेवाको शान हो । विशुद्ध सेवाभावबाट प्रेरित क्रियाकलापले जनअपेक्षालाई थप टेवा दिन्छ ।

समयको माग बमोजिम परिवर्तन हुन्छ निजामती सेवा । निजामती सेवालाई विगतको जस्तो नबनाई समयानुकूलको सहयात्री बनाउने कार्यजिम्मेवारी कर्मचारीकै काँधमा आइपुगेको छ । निजामती सेवालाई हेर्ने आँखामा अनेक आयामहरू देखिन्छन् । सबै क्षेत्र, वर्ग, समुदाय, लिंग आदिको अपेक्षा यसै सेवाप्रति रहेको छ । जनअपेक्षालाई समिपबाट नियाल्दै कार्यान्वयनमा थप सुधार गर्ने बेला हो आजको निजामती सेवाको ।

सरकारी संरचना, उसको कार्यक्षेत्र, कार्यसंस्कृति, सेवाप्रवाहको स्थिति, उत्तरदायित्वको अपनत्व, पारदर्शीता, उत्प्रेरणा, मनोबल, अनुशासन र नैतिकता, सदाचार, सन्तुलित विकास, स्रोत साधनको उचित व्यवस्थापन तथा उचित अनुगमन/मूल्याङ्कनजस्ता विषयमा निजामती सेवाको अहम् भूमिका रहन्छ । जनताका आशा र विश्वासको मापन पनि यिनै विधिबाट हेरिन्छ । द्विविधाको निराकरण र सरलताका लागि निजामती सेवाको उच्च एवम् निःस्वार्थपूर्ण भूमिकालाई आवश्यकता ठानिएको छ ।

जनताका नजरमा विद्यमान सरकारी संरचना र प्रक्रियाहरू केही बोझिला मानिएका छन् । एकै प्रकृतिका कार्यसम्पादनमा दोहोरो स्रोत, साधन र समयको खर्च हुने र न्यून उपलब्धी प्राप्त हुने गरेको देखिन्छ । एउटा कर्मचारीले गर्न सक्ने कार्यसम्पादनको खास विश्लेषण र पहिचान भएको देखिँदैन । सार्वजनिक सेवामा समन्वयात्मक भूमिका होस् भन्ने सबै जनताको चाहना तीब्र छ । कर्मचारीहरू जति क्रियाशील हुन्छन् त्यति मात्रामा सार्वजनिक सेवाको प्रत्याभूति रहन्छ ।

सेवाप्रवाहमा सुधार
सेवाप्रवाहका सिलसिलामा देखा परेका समस्यालाई निराकरण गर्नका लागि सिर्जनशील र उत्कृष्ट कर्मचारीलाई प्रोत्साहन तथा नविनतालाई प्रवर्धन गर्दै निर्णयका तह घटाउने, ढिलासुस्ती हटाउने र सदाचारिताको विकास गरिनु पर्दछ । त्यसैगरी नविन प्रविधि (मोवाइल सेवा, इ–सेवा) को उपयोग गर्ने र वाञ्छित समुहको पहिचान गरी वास्तविक योजना तथा कार्यक्रम तर्जुमा गर्ने र जवाफदेहिता, पारदर्शिता, अवलम्वन गर्नु पर्ने हुन्छ ।

कानुनी शासनको पूर्ण परिपालना गर्ने र प्रत्येक कार्यालयमा क्षतिपूर्तिसहितको नागरिक वडापत्र लागू गर्दै घुम्ति सेवा सञ्चालन गर्नु पर्ने र स्थानीय तहको सशक्तिकरणमा जोड दिनु पर्दछ भने अनुगमन र मूल्याङ्कनलाई प्रभावकारी बनाउनु पर्ने र दण्ड र पुरस्कारको व्यवस्था लागू गर्नु पर्ने अवस्था रहेको छ । यसरी हामीलाई नभई नहुने सार्वजनिक सेवामा आजका सेवाग्राहीहरूको जनअपेक्षालाई मध्यनजर गर्दै सुधार गर्नुको विकल्प देखिदैन ।

सरसर्ती रुपमा मूल्याङ्कन गर्दा पूर्ण रुपमा माग पक्ष सन्तुष्ट हुन सकेको समेत पाइँदैन । सेवाप्रदायकहरूले पनि सक्दो सुधार गर्ने प्रयास गरिरहेकै छन् । आजभोलि परिवर्तन मान्छेलाई छिटो छिटो चाहिएको अवस्था पनि पाइन्छ । सेवाप्रदायी र सेवाग्राही दुबैले सुधारका लागि प्रयत्न गरेको खण्डमा अपेक्षित लक्ष हासिल गर्न कुनै अप्ठेरो पर्दैन । सीप, स्रोत र साधनको समुचित प्रयोग गरेर सार्वजनिक सेवालाई सहज ढङ्गले प्रवाह गर्ने र सेवाग्राहीले पनि सकारात्मक सोंचका साथ ग्रहण गर्दै सुधारका लागि सहयोग गर्नु नै समृद्धिको एउटा मूख्य पाटो मान्न सकिन्छ ।

निष्कर्ष
सरकारको प्रभावकारिता मापन गर्ने बलियो आधार भनेकै सेवाप्रवाह हो । विनाझञ्जट सेवाप्रवाह गर्ने संस्थागत तथा नीतिगत व्यवस्थालाई सुधार गर्दै कार्य विवरण र जिम्मेवारी किटान गरी पुरस्कार र कार्य सम्पादनमा आधारित तलव प्रणालीको व्यवस्था गरिनु पर्दछ । जनसहभागिता, उत्तरदायित्व, पारदर्शिता सुनिश्चत गर्दै सुलभ र गुणस्तरीय सेवाप्रवाह गर्नका लागि अहिलेका तहहरूको व्यवस्था गरिएको छ । जनभावना अनुरुप जनताको नजिक पुगेर उचित समयमा सेवाप्रवाह गर्नका निमित्त प्रक्रियामा सुधार गरी चुस्त दुरुस्त ढङ्गबाट संरचनात्मक परिवर्तन, समान तथा सम्मानजनक व्यवहार गर्नु पर्दछ ।

सार्वजनिक प्रशासनलाई स्वच्छ, सक्षम, निष्पक्ष, पारदर्शी, भ्रष्टाचारमुक्त, जनउत्तरदायी र सहभागितामूलक बनाउँदै जनताको समान र सहज पहुँच सुनिश्चित गरी सुशासनको प्रत्याभूति गरिनु पर्दछ । वर्तमान समयमा पलपलका कामहरूलाई जनताले निगरानी राखिरहेको अवस्थामा सबै पक्ष आ–आफ्नो कर्तव्य पालनामा घोत्लिनु पर्ने स्थिति छ । सरकारको नीति विपरीत कर्मचारीले र कर्मचारीको क्षमताविपरित सरकारले काम गर्नु, गराउनु सार्वजनिक सेवाप्रवाहमा शोभनीय दखिँदैन । –लेखक पाल्पाको बगनासकाली गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत हुन्।

प्रतिकृया दिनुहोस्

Flash News

‘सिद्धार्थ चेम्बर अफ कमर्श पत्रकारिता पुरस्कार’बाट गुप्ता सम्मानित विषादीयुक्त केमिकलबाट स्थानीय बासीको स्वास्थ्यमा समस्या भएको भन्दै उद्योग बन्द गर्न माग लुम्बिनी प्रादेशिक अस्पतालमा बाल तथा महिला प्रसुतीका लागि छुट्टै काउन्टरको सुरुवात बुटवल आएर एआईजी भण्डारीको निर्देशन : भ्रष्टाचार शुन्य सहनशिलतामा काम गर्नुस् बुटवल गाेलपार्कको दुर्गा मन्दिरमा सन्ध्याकालिन महाआरती हुने बुटवलको देवीनगरमा गणपति मिष्ठान्नको ‘फ्रेन्चाइज’ बुटवलमा ईस्लाम धर्मालम्विहरुको धर्मगुरु पैगम्बरको १४९८ औं जन्मोत्सव विविध कार्यक्रम गरि मनाइँदै लागुऔषधसहित एकजना पक्राउ ‘अपराधको शैली परिवर्तन हुँदै जाँदा अनुसन्धान तथा नियन्त्रण थप चुनौतिपूर्ण बन्दै’ बलात्कार आराेपमा एकजना पक्राउ खुकुरी प्रहार गरी हत्या गरेको आराेपमा एकजना पक्राउ जुवातास खेलिरहेको अवस्थामा पाँचजना पक्राउ एयर गनसहित एकजना पक्राउ गाईको चित्रअंकित ‘मेडालियन सिक्का’ सार्वजनिक जसपाको कोशी प्रदेश समिति पुनर्गठन, पदाधिकारीमा को को परे ? चिलिमे-त्रिशुली २२० केभी प्रसारण लाइन पुषभित्र सक्ने समयसीमा नेपाल–चीन व्यवसाय परिषद् स्थापना गर्न नेपाल उद्योग परिसंघ र सीसीपीआईटीबीच समझदारी प्रधानसेनापति शर्मा भारत प्रस्थान टिकटक स्टार ‘मुन’को सम्झानामा युवा वर्गलाई सदेश मुलक गीत (भिडियोसहित) भष्ट्रचारको थप सुचना ओलीज्यूले नै दिनुहुन्छ: बराल